२६ असोज २०८३, सोमबार
नीलकण्ठ स्कूलका प्रिन्सिपल भन्छन्–

‘बेत्रावती र आसपासमा साढे ३ सय विद्यार्थी सम्पर्कमा छैनन्, थुप्रै बालबालिका अभिभावकविहीन बन्ने चिन्ता छ’

‘तत्कालका लागि राहत आउला, तर घरबार र अभिभावक नै गुमाएका बालबालिको जिम्मा कसले लिने ?’
भदौ १६, २०८३
काठमाडौं
‘बेत्रावती र आसपासमा साढे ३ सय विद्यार्थी सम्पर्कमा छैनन्, थुप्रै बालबालिका अभिभावकविहीन बन्ने चिन्ता छ’

रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ बोटीटारस्थित नीलकण्ठ सेकेन्डरी स्कूलमा भदौ १० गते बिहान धमाधम विद्यार्थी ओसार्ने क्रम चलिरहेको थियो ।

एकपटकमा १ सय १२ देखि १ सय १३ जनासम्म ल्याउने बसले दुई लट विद्यार्थी ओसारेको थियो । तेस्रो लटका लागि बस स्कूलबाट छुटे पनि फर्किन पाएन ।

करीब साढे २ सय मिटरको उचाइमा रहेको स्कूलसम्म त बाढी आइपुगेन, तर स्कूल जान तम्तयार भएर बसेका ७४ जना बालबालिका घरबाटै सम्पर्कविहीन छन् ।

बेत्रावती क्षेत्रबाट मात्रै साढे ३ सय विद्यार्थी सम्पर्कविहीन भएको नीलकण्ठ सेकेन्डरीका प्रिन्सिपल मावपप्रसाद लामिछानेले बताए ।

‘१० बजेसम्म भएको भए सबै विद्यार्थी आइसक्थे । एटेन्डेन्स हुनै पाएन, साढे २ सय जना जति मात्र आइपुगेका थिए होलान्,’ निकै निराश हुँदै लामिछानेले लोकान्तरसँग भने, ‘हाम्रो स्कूलका मात्रै ७४ जना विद्यार्थी घरबाटै हराइरहेका छन् । यहाँका अन्य दुई स्कूलका समेत झण्डै साढे तीन सय जति विद्यार्थी बेपत्ता छन् ।’

आफ्नो स्कूलबाट तेस्रो लटका लागि गएको बस विद्यार्थी उठाउन नपाउँदै बगाएको उनले बताए ।

उनले अर्को दर्दनाक कहानी पनि सुनाए, ‘यहाँ कैयन बालबालिका अभिभावकविहीन भएका छन् । ३ कक्षामा बढ्ने बच्चाको अभिभावक भनेको ५/६ कक्षामा पढ्नेहरू छन् ।’

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले पनि पालिका क्षेत्रका थुप्रै विद्यार्थी र अभिभावक सम्पर्कविहीन रहेको पुष्टि गरे ।

८, ९ र १० कक्षामा पढ्ने अधिकांश विद्यार्थी विद्यालय पुगिसकेकाले जोगिए पनि तल्ला कक्षाका धेरै सम्पर्कविहीन रहेको उनको भनाइ छ । यकिन तथ्यांक भने आइनसकेको उनले बताए ।

त्यो दिनको त्रासदीपूर्ण घटना प्रिन्सिपल लामिछानेकै शब्दमा

अरू दिनजस्तै गएको बुधबार पनि म बिहान साढे आठ बजेतिरै विद्यालय पुगिसको थिएँ । स्थिति सामान्य नै थियो । नौ बजे अन्य शिक्षक साथीहरू पनि आइपुग्नुभयो ।

स्कुल बसका चालकले माथि स्याफ्रुबेसीतिर बाढी आयो जस्तो छ, सर म बुझ्छु भने ।

मैले होर ? भन्दै बुझ्न लगाएँ । नभन्दै स्याफ्रुबेसी बजार पूरै लगेको सूचना आयो । अनि म लगायत अन्य साथीहरूले विद्यार्थीका अभिभावकलाई फोन गर्न थाल्यौँ ।

बाढी आयो, तुरुन्दै भाग्नुस् वा सुरक्षित स्थानमा जानुस् भन्यौँ । दर्जनौं अभिभावकलाई फोन गर्‍यौँ ।

खाल्टे, नौबिसे, बेत्रावती, बेल्टारलगायत स्थानमा अभिभावक र आफन्तहरूलाई फोन गरेर सूचना दियाँै । त्यतिबेलासम्म विद्यालयको बसले पहिलो लट विद्यार्थी ओसारिसकेको थियो ।

दोस्रोपटक माझगाउँ, ईँटपारी, लहरेपौवा लगायतबाट विद्यार्थी ल्याएपछि मात्रै तेस्रोपटक खाल्टे, नौबिसे र बेत्रावतीका विद्यार्थी ओसार्ने दैनिकी थियो ।

तर, दोस्रो टिप लिन जाँदा मैले चालकलाई ठूलै बाढी आएको छ, होशियार हुनु है भनेँ । चालकले १५ मिनेटमै म ल्याइसक्छु भनेर हिँडे । त्यो दिन गोसाईँकुण्ड जाने र फर्कने तीर्थालुहरूको भीड थियो ।

बाटोमा सवारी चाप थियो । बिहान ९ बजेपछि नदी सुसाउन थालिहाल्यो । अब के गर्ने भन्ने पिरलो बढ्यो । कक्षा पाँच र तल कक्षामा पढ्ने विद्यार्थी स्कूल ल्याउन सकिएन । शायद उनीहरूलाई बाढीले बगाएको हुनुपर्छ ।

हामीले टिप गर्ने बसमा एक सय १२ देखि एक सय १३ जना विद्यार्थी ल्याउँथ्यौँ । तेस्रो टिप लिन जानै भ्याइएन ।

अभिभावक र विद्यार्थीलाई सम्पर्क गर्दा पनि नभेटिएका अहिलेसम्म ७४ जना हामीले नोट गरेका छौँ ।

null

छिमेकी रामचन्द्र आधारभूत विद्यालय र अर्को एउटा विद्यालयका विद्यार्थी समेत गरी झडै साढे तीन सय विद्यार्थीलाई बाढीले बगाएको हुनुपर्छ ।

बाढी आइरहेकै थियो । हामीले केही विद्यार्थीलाई जंगलतिर भाग्न भन्यौ । को–को कता भए, कता भए । बेलुका फर्केर विद्यालयमा आयौँ । विद्यालयमा भएको खानेकुरा पकाएर खायौं । दोस्रो दिन कम्तीमा पाँच सय जनालाई खाना पकाएर खुवायौँ । केही पालिकाहरूले पनि खाद्यान्न सहयोग गरेका थिए ।

चिन्ताको विषय भनेको के हो भने, खाद्यान्न र सामान्य लत्ताकपडा त सबैले सहयोग गर्ने भए । तर, जसले अभिभावक नै गुमाएका छन्, ती बालबालिकाको भरणपोषण र उनीहरूको जिम्मेवारी कसले लिने भन्ने मुख्य समस्या टड्कारो रूपमा छ ।

अहिले त हामीले कसैकसैलाई लगेर केही दिन हेरिदेऊ भनेर सम्झाउँला । तर, सधैँ त्यो सम्भव पनि छैन । त्यसैले सरकारले यी बालबालिकाको संरक्षणको जिम्मा लिनुपर्छ भन्ने लाग्छ मलाई ।

अहिले शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा दुई सयजना विद्यार्थी र अभिभावकलाई राखिएको छ । भीमसेनस्थान आधारभूत विद्यालयमा ६० जना राखिएको छ ।

पीडित विद्यार्थीहरूलाई राम्चे, कालिकास्थान, धारापानी लगायत स्थानमा राखिएको छ । केहीलाई बट्टार र सूर्यगढी गाउँपालिकामा राखिएको छ । अहिले घरबास गुमाएका र अभिभावक गुमएका परिवारलाई जहाँ सम्भव छ, त्यहाँ छरेर राखेका छौं ।

विद्यालय तत्काल सञ्चालनमा ल्याउन सजिलो छैन । कति विद्यार्थीका अभिभावक नै छैनन् । फेरि कलिला उमेरका बच्चाहरू छन् । तिनीहरूको रेखदेखको जिम्मा पनि लिनुपर्‍यो ।

सरकार र स्थानीय पालिकासँग मेरो अनुरोध भनेकै जसले घरबार र अभिभावक नै गुमाएका छन्, उनीहरूलाई स्थायीरूपमा पालनपोषण र भरणपोषणको जिम्मा लिनुपर्छ ।

विद्यालयबाट यी विषय सम्भव हुने कुरा पनि होइन ।

(नीलकण्ठ सेकेन्डरी स्कूलका प्रिन्सिपल लामिछानेसँग लोकान्तरकर्मी सुवास गोतामेले गरेको कुराकानीको सम्पादित अंश)

कमेन्ट गर्नुहोस्