२३ भदौ २०८३, मंगलबार

भोटेकोशी बाढी : के भन्छिन् भीषण बाढीमा पनि चट्टानझैँ उभिएको ‘हरियो घर’की घरधनी ?

भदौ १६, २०८३
काठमाडौं
भोटेकोशी बाढी : के भन्छिन् भीषण बाढीमा पनि चट्टानझैँ उभिएको ‘हरियो घर’की घरधनी ?

२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार बजार क्षणभरमै सखाप भयो । तर त्यही क्षेत्रमा रहेको एउटा घर अहिले चर्चामा छ।

बाढीले पूरै बस्तीलाई क्षणभरमै निल्यो । हजारौं अहिले पनि हराइरहेका छन् । तर, बस्तीको बीचमा रहेको त्यो घर अहिले पनि एक्लै ठिङ्ग उभिएकै छ ।

अप्रत्यासित रूपमा आएको भीषण बाढीले वरपरका घर, सवारी साधन र संरचनाहरू बगाएर तहसनहस बनाइरहँदा त्यो पक्की घर भने चट्टानझैँ उभिइरह्यो ।

त्यतिबेला त्यो घरमा रहेका केही व्यक्ति बाढीको विभीषिका हेर्दै आफ्नो जीवन रक्षाको गुहार लगाइरहेका थिए । बाढी गएको एक साता बितिसक्दा पनि देश–विदेशमा त्यो घरले उत्तिकै चर्चा पाइरहेको छ ।

कतिपयले यसलाई ‘चमत्कार’ भनेका छन् भने कतिपयले बलियो जग र निर्माणका कारण घर टिकेको धारणा अघि सारेका छन् ।

यसै विषयलाई लिएर भारतीय सञ्चारमाध्यम एएनआईले घरधनी लक्ष्मी पाण्डेसँग कुराकानी गरेको छ । पाण्डेले त्यति बेलाको अवस्थाको बारेमा विस्तृतमा बनाएकी छन् ।

यस्तो छ, त्यति बेलाको पाण्डेको अनुभव :

मेरो नाम लक्ष्मी पाण्डे हो । हामीले बाढी आउनुभन्दा पाँच मिनेटअघि सूचना पाएका थियौँ । त्यतिबेला म र मेरो श्रीमान् पसलमा थियौँ । पसल घरभन्दा पाँच मिनेटको दूरीमा थियो ।

थाहा पाउने बित्तिकै म र श्रीमान् घरतिर दौडियौँ । त्यतिबेला मेरी छोरी र सासु घरमा हुनुहुथ्यो । घर पुगेर हामीले तलबाट बोलाउँदा सासूआमाले सुन्नु भएन ।

त्यसैले म आफैं माथि गएँ । मैले सासूआमालाई बाढी आउँदैछ हामी तत्कालै भाग्नुपर्छ भनेर भनेँ । तर, सासूआमाले मान्नु भएन ।

उहाँले आजसम्म यो ठाउँमा त्यति ठूलो बाढी नआएको बताउनुभयो । ठीक त्यसैबेला पुरानो पुललाई भत्काउँदै भीषण बाढी आयो ।

त्यसपछि हामीसँग भाग्ने कुनै विकल्प बाँकी रहेन । त्यसै बेला सुसुराबुवा पनि तल आइपुग्नुभयो । मेरो श्रीमान्, सुसुराबुवा र एकजना छिमेकी पनि तत्कालै घरभित्र आउनुभयो ।

हामी ६ जना सिधै माथिल्लो तल्लामा उक्लियौँ । त्यस्तो विनाशकारी बाढीलाई देखेर हामी निकै डराएका थियौँ । छेउछाउका घरहरू भत्किरहेका थिए ।

हाम्रो घर पनि २०७२ सालको भूकम्पजस्तै नराम्ररी हल्लिरहेको थियो । त्यसैले अब हामी बाँच्दैनौँ भन्ने लागेको थियो ।

तर, हाम्रा छिमेकीहरूले जोखिम मोलेर हामीलाई बचाउनुभयो । हामीलाई बचाउन छिमेकीहरू भगवानकै रुप लिएर आउनुभएको थियो ।

अहिले हामी आफूलाई निकै भाग्यमानी सम्झिरहेका छौँ । यो हाम्रो दोस्रो जन्म हो । यसका लागि भगवानलाई धन्यवाद भन्न चाहन्छौँ ।

कमेन्ट गर्नुहोस्