२३ भदौ २०८३, मंगलबार

बाढी प्रभावितको उद्धार र राहतका लागि अब वडासम्मै सर्वदलीय संयन्त्र

भदौ १६, २०८३
काठमाडौं
बाढी प्रभावितको उद्धार र राहतका लागि अब वडासम्मै सर्वदलीय संयन्त्र

बाढी प्रभावित जिल्लामा उद्धार र राहतका लागि वडा तहसम्मै सर्वदलीय संयन्त्र बन्ने भएको छ ।

रास्वपा महामन्त्री विपिन आचार्यको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले केन्द्रमा जस्तै वडा तहसम्मै संयन्त्र बनाउने निर्णय गरेको हो ।

प्रदेश, जिल्ला र वडासम्म सर्वदलीय संयन्त्र बनाएर राहत, उद्धार, पुनर्स्थापनाका काममा खटिने निर्णय भएको बैठकमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले बताए ।

प्रदेशमा मुख्यमन्त्री, पालिकाका पालिका प्रमुख र वडामा वडाध्यको संयोजकत्वमा समिति बनाएर काम गर्ने विषयमा बैठकले निर्णय गरेको उनले बताए । 

एमाले नेता ज्ञवालीका अनुसार बैठकमा रास्वपा महामन्त्री आचार्यले सरकारका तर्फबाट हालसम्म भएका कामका विषयमा जानकारी गराएका थिए । जहाँ कमजोरी भयो भन्ने लाग्यो त्यस्ता विषयमा आफूहरूले सुझाव दिएको ज्ञवालीले बताए । 

बैठकमा सहभागी नेकपा नेता वर्षमान पुनले रास्वपाले छलफलको अग्रसरता लिएको धन्यवाद दिए । तर यस्तो संवादका लागि प्रधानमन्त्री र सरकार नै अघि सर्नुपर्ने सुझाव दिएको पुनले बताए । 

उनले पनि समन्वयको अभावमा राहत एकातिर थुप्रिने र पीडित अर्कोतिर छटपनि समस्या हुन नहुने विषयमा आफूहरूले सुझाव दिएको उल्लेख गरे । 

‘समग्र देश विपद्‌मा परेका बेला सबै दल एक ठाउँ उभिनुपर्छ । यसमा हामी सबैको प्रतिबद्धता रह्यो । बल्ल सबै तहका सरकार मिलेर काम गर्न शुरू गरेका छन्, नत्र हिजोसम्म समन्वयको अभाव थियो’, पुनले भने, ‘राहत एकातिर थन्किने, पीडित अर्कोतिर छट्पटिने अवस्था थियो । आज हामीले विशेष जोड के गर्‍यौं भने सबै तहमा राजनीतिक संयन्त्रले काम गर्नुपर्‍यो । सोही अनुसार संयन्त्र बनाउने निर्णय भयो ।’
 
कांग्रेस प्रवक्ता देवराज चालिसेले पनि राष्ट्रिय संकटमा यो पक्ष र त्यो पक्ष, यो पार्टी र त्यो पार्टी भन्न नहुने बताए । उनले यस्तो बेला सबै एक पक्ष हुनुपर्ने बताए । 

‘राष्ट्रिय संकटमा यो पक्ष त्यो पक्ष हुँदैन, सबै एक पक्ष हुन्छ । त्यो पीडित जनताको पक्षमा । राहत र उद्धारको पक्षमा । सबै हामी एकजुट छौं । हाम्रो धारणा क्लियर छ । यसमा हामी सरकारको साथमा छौं’, चालिसेले भने ।

अब तल्लो तहसम्म राहत, उद्धारको काममा सर्वदलीय संयन्त्रले काम गर्ने उल्लेख गर्दै अझै पनि कसैलाई जीवितै उद्धार गर्न सकिन्छ कि भन्नेमा सरकारले ध्यान दिनुपर्ने बताए ।

कतिपय अवस्थामा सरकारको नीतिगत अन्योलका कारण नागरिकको हताहत हुने अवस्था आउने भन्दै यसमा स्पष्ट नीति लिनुपर्ने बताए ।

आफूसँग नभएको विज्ञताको सहयोग लिन लाज मान्न नहुने भन्दै उनले नीतिगत त्रुटिका कारण कहिलेकाहीँ अप्ठ्यारा दिने बताए । भोटेकोशी बेसिनमा रहेका विभिन्न जलविद्युत आयोजनाक सुरुङमा फसेकाहरूको उद्धारमा सरकारको नीतिगत कमजोरीका कारण नै समस्या भएको टिप्पणी गरे ।
 

कमेन्ट गर्नुहोस्