रसुवामा उर्लिएको विनाशकारी बाढीले बगाएको केवल घर, बाटो र बजार मात्र थिएन । त्यसले हजारौं परिवारको ओठको मुस्कान र जीवनको अन्तिम सहारा पनि एकैछिनमा बगाएर लग्यो ।
रसुवाको त्यो बाढी त अहिले साम्य भइसक्यो, तर त्यसले उब्जाएको पीडा र शून्यता भने काठमाडौंका अस्पतालका भित्तामा आएर ठोक्किएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ), वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका भित्ताहरू अहिले इँटा र सिमेन्टका निर्जीव संरचना मात्र रहेनन्, ती भित्ताहरू हराइरहेका आफन्तका तस्वीर, आँसु र ‘एक मुठी सास’को आशले भरिएका छन् ।
बाढीमा अझै ४ हजार ६०६ जना मानिस बेपत्ता छन् । यही भयावह तथ्यांकको छायाँमुनि, आज हामी ती परिवारको व्यथा देखाउँदैछौं, जो जीवितै भेटिने आश वा अन्तिम संस्कार गर्न ‘लास’ मात्रै भए पनि पाइन्छ कि भन्दै अस्पतालका ढोकाहरूमा भौतारिरहेका छन् ।
छोराछोरीको सुन्दर भविष्यका लागि रसुवाको माथिल्लो भेग पुगेकाहरू आज एकादेशको कथा बनेका छन् । डेढ महिनाअघि मात्रै त्रिशूलीको हाइड्रोपावरमा जेसीबी चलाउन गएका श्रीमान् समन्त पोखरेलको तस्वीर छातीमा टाँसेर उर्मिला देवी पोखरेल अस्पतालका गल्लीहरूमा टोलाइरहेकी छन् ।
टिचिङ अस्पतालको प्रांगणमा भेटिएकी उनी छातीमा आफ्नो श्रीमानको तस्वीर टाँसेर खोजीका लागि अनुनय–विनय गरिरहेकी थिइन् । जो भेटिए पनि मेरो श्रीमानलाई खोजिदिनुस् न भन्दै गुहार गर्न पुग्थिन् ।
भदौ १० को अघिल्लो रात मात्र श्रीमानसँग सामान्य गफगाफ गरेकी उर्मिला, घरमा पर्खिरहेका साना छोरीहरूलाई सम्झिँदै अस्पतालमा भेटिनेहरूसँग हात जोडेर उद्धारको भिख मागिरहेकी छन् ।
यस्तै, कारुणिक दृश्य दाङको बबई पञ्चकुलेबाट आएकी धनसरी नेपालीको पनि छ । उनका छोरा निरोध नेपाली पनि रसुवामै जेसीबी चालक थिए । बाढी आएको दिन बिहान ७ बजेतिर ‘काममा जाने बेला भयो’ भनेर फोन राखेका निरोध त्यसपछि कहिल्यै सम्पर्कमा आएनन् ।
टिचिङको शवगृहदेखि वीर अस्पतालसम्म छोराको तस्वीर खोज्दा नभेटिएपछि, धनसरीको मनमा एउटा झिनो आश पलाएको छ- कतै नभेटिएपछि मेरो छोरो जिउँदै पो छ कि !
रसुवाकै बेत्रावतीबाट काठमाडौं आइपुगेकी करुणा खड्काको कथा उत्तिकै हृदयविदारक छ ।
कहालीलाग्दो त्यो रात ९ बजेर २१ मिनेटमा आमासँग अन्तिम कुरा हुँदा, बुबा सानो भाइलाई खोज्न बाहिर निस्केका थिए । परिवार सुरक्षित रहे पनि बुबा कहिल्यै फर्किएनन् ।
दुई–तीन घण्टासम्म फोनमा घण्टी गए पनि पछि मोबाइल अफ भयो । बट्टारको आर्मी ब्यारेकदेखि काठमाडौंका सम्पूर्ण अस्पतालमा नाम टिपाउँदै करुणाको परिवार पनि बुवाको पर्खाइमा छ ।
अस्पतालका भित्तामा टाँसिएका ती तस्वीर कागजका पाना मात्र होइनन्, तिनमा कसैको सिन्दुर, कसैको बुबाको काँध र कसैको काख लुकेको छ ।
भिडियो :