
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रूपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ ।
मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रूपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले मंगलबार बसेको कोषको बैठकले एक अर्ब रूपैयाँ गृहसचिवको नेतृत्वमार्फत् परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्छन् ।
प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रूपैयाँ कोषमा पठाइएको हो ।
अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिनेछ ।
यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन् । त्यसैका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ ।