२३ भदौ २०८३, मंगलबार

थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ घटाउँदै

भदौ १६, २०८३
काठमाडौं
थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ घटाउँदै

थाइल्याण्डले ६० भन्दाबढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने भएको छ । उक्त व्यवस्था आगामी १५ सेप्टेम्बरदेखि लागू हुनेछ ।

पर्यटन दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि विदेशी नागरिकबाट हुने अपराध नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम चालिएको अधिकारीले बताएका छन् ।

पछिल्ला दिनमा भएको पक्राउमा लागुऔषधसम्बन्धी कसुर, यौन बेचबिखन तथा आवश्यक अनुमतिबिना होटल र विद्यालयजस्ता व्यवसाय सञ्चालन गरेको आरोप लागेका विदेशी नागरिकसमेत छन् ।

हालको पर्यटन योजनाअनुसार युरोपको २९ सदस्यीय सेन्जेन क्षेत्र, चीन, भारत, संयुक्त राज्य अमेरिका तथा दक्षिण अमेरिकाका केही मुलुकसहित ९० भन्दाबढी देशका नागरिकले थाइल्याण्डमा भिसाबिना ६० दिनसम्म बस्न पाउने व्यवस्था छ ।

थाइ विदेश मन्त्रालयको कन्सुलर मामिला विभागले मङ्गलबार जनाएअनुसार चीन, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका २७ सदस्य राष्ट्रसहित ६० भन्दाबढी देश तथा क्षेत्रका नागरिकका लागि भिसाबिनाको बसाइ अवधि ३० दिनमा सीमित गरिनेछ ।

करिब २० अन्य देशका लागि भिसाबिनाको सुविधाको अवस्था भने अझै स्पष्ट छैन । यसबारे विदेश मन्त्रालयका एक अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पेरु, ब्राजिल र दक्षिण कोरियाका नागरिकले भने अब ९० दिनसम्म बिना भिसा थाइल्याण्डमा बस्न पाउनेछन् । यसअघि उनीहरूलाई ६० दिनसम्म बस्न पाउने व्यवस्था थियो ।

पर्यटकले अध्यागमन अधिकारीको स्वीकृतिमा आफ्नो बसाइको अवधि एकपटक थप गर्न सक्नेछन् । मन्त्रिपरिषद्ले उक्त व्यवस्था स्वीकृत गरेपछि मे महिनामा सरकारी प्रवक्ताले एएफपीलाई यसबारे जानकारी दिएका थिए ।

विदेशमन्त्री सिहासाक फुवाङकेटकेओले मे महिनामै भिसाबिना बसाइको अवधि घटाउने योजना भिसा प्रणालीको दुरुपयोग गरी थाइल्याण्डमा अपराध गर्ने व्यक्तिविरुद्धको कारबाहीको एक हिस्सा भएको बताएका थिए ।

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि हालसम्म थाइल्याण्डमा दुई करोड नौ लाख विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत कम हो ।

कमेन्ट गर्नुहोस्