
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई युक्रेनविरुद्धको युद्ध समाप्त गर्दा आफ्नो सत्ता धरापमा पर्ने ठूलो चिन्ता रहेको एक रिपोर्टले खुलासा गरेको छ। यदि उनले पूरा डोनबास क्षेत्र आफ्नो नियन्त्रणमा नलिई युद्ध रोकेमा रुसका शक्तिशाली व्यक्तिहरूमाझ उनकै विरुद्ध असन्तुष्टि बढ्न सक्ने र त्यसले उनको सत्ता खोसिन सक्ने त्रास पुतिनलाई छ।
प्रसिद्ध बेलायती म्यागजिन 'द इकोनोमिस्ट' को एक रिपोर्टका अनुसार, आफ्ना ठूला मागहरू पूरा नगरी युक्रेन युद्ध अन्त्य गर्नुलाई रुसमा पुटिनको कमजोरीका रूपमा लिइनेछ भन्ने उनलाई लाग्छ।
रुसी नेता कमजोर देखिएमा सत्तामा टिकिरहन कठिन हुने पुटिनको विश्वास छ। यही कारणले गर्दा उनी युद्ध समाप्त गर्न ठूला सम्झौताहरू गर्नबाट पछि हटिरहेका छन्।
युक्रेनका डोनेत्स्क र लुहांस्क क्षेत्रहरूलाई मिलाएर डोनबास भनिन्छ। हाल रुसले डोनबासको करिब ९० प्रतिशत भूभागमा आफ्नो नियन्त्रण जमाइसकेको छ।
तर, रुस सम्पूर्ण डोनबासलाई आफ्नो कब्जामा लिन चाहन्छ भने युक्रेन आफ्नो भूमि छोड्न तयार छैन। दुई देशबीचको शान्ति सम्झौतामा यही विषय अहिले सबैभन्दा ठूलो अवरोध बनेको छ। रुस डोनबासलाई अत्यधिक महत्त्वपूर्ण ठान्छ र यसलाई छोड्न चाहँदैन।
पुटिनले शान्ति सम्झौताका लागि युक्रेनले रुसले कब्जा गरेका क्षेत्रहरूमाथि आफ्नो दाबी छोड्नुपर्ने र ती क्षेत्रहरूलाई रुसको हिस्सा मान्नुपर्ने सर्त यसअघि नै राखिसकेका छन्।
पाँच वर्षभन्दा बढी समयदेखि जारी यो युद्धले पुतिनका लागि कठिन परिस्थिति सिर्जना गरेको छ। युद्ध लम्बिएसँगै युक्रेनले रुसका तेल र ऊर्जा केन्द्रहरूमा लगातार आक्रमण गरिरहेको छ, जसका कारण रुसको आर्थिक खर्च निरन्तर बढिरहेको छ।
तर, युद्ध रोक्नु पनि पुटिनका लागि सहज छैन। रिपोर्टका अनुसार उनलाई साधारण जनताको असन्तुष्टिभन्दा पनि रुसका ती शक्तिशाली व्यक्तिहरूको चिन्ता बढी छ, जोसँग पैसा, हतियार र सत्तासम्मको पहुँच छ।
एस्टोनियाका गुप्तचर प्रमुख रोसिनका अनुसार, ती शक्तिशाली वर्गमा अब पहिले जस्तो रुसको पूर्ण विजय हुने कुरामा विश्वास हराउँदै गएको छ। यसको सट्टा, यो युद्धलाई सही तरिकाले कसरी समाप्त गर्ने भन्ने बारेमा उनीहरू सोच्न थालेका छन्।
'द इकोनोमिस्ट' का अनुसार, रुसका प्रभावशाली वर्गमा अब यो प्रश्न उठ्न थालेको छ कि करिब पाँच वर्षसम्म युद्ध लडेर देशले आखिर हासिल के गर्यो? यहाँ चिन्ता केवल अर्थव्यवस्था वा युद्धको परिणामको मात्र होइन, लामो समयदेखि चलिरहेको यस युद्धको भारी मूल्यलाई लिएर पनि छ।
रिपोर्टमा रुसका एक शक्तिशाली व्यक्तिको भनाइ उद्धृत गर्दै भनिएको छ कि त्यहाँ अब यो भावना फैलिरहेको छ कि 'राजाले लुगा लगाएका छैनन्' अर्थात्, सत्ताका कमजोरीहरू अब लुकेका छैनन् र मानिसहरूले प्रष्ट रूपमा देख्न थालेका छन्।
यसका बाबजुद पनि पुटिनको सत्तामा पकड अहिलेसम्म बलियो नै छ। रुससँग युद्ध जारी राख्न पर्याप्त धन र असन्तुष्टि तथा विरोधलाई दबाउने बलियो तन्त्र विद्यमान छ। तर, राजनीतिमा हिंसालाई मानिसहरूले सहन गर्न सक्लान्, तर असफलतालाई क्षमा गर्दैनन् भन्ने यो रिपोर्टको निचोड छ।
रुस र युक्रेनबीचको यो भीषण युद्ध सन् २०२२ को फेब्रुअरीमा शुरू भएको थियो। त्यसयता रुसले युक्रेनको ठूलो भूभागमा कब्जा जमाएको छ र निरन्तर लडाइँ जारी छ। हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ।
युद्धमा हजारौँ नागरिक र सैनिकहरूको ज्यान गइसकेको छ भने लाखौँ युक्रेनीहरू घरबारविहीन बन्न पुगेका छन्। सन् २०२३ को जुन महिनासम्म करिब ८० लाख मानिसहरू युक्रेन छोडेर अन्य देशहरूमा शरण लिन बाध्य भएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गराउन रुस र युक्रेनका नेताहरूसँग लगातार वार्ता गरिरहेका छन्। हालै उनले रुसी राष्ट्रपति पुटिनलाई अलास्कामै पुगेर भेटेका थिए। करिब ८० वर्षको अवधिमा कुनै पनि रुसी नेताको यो पहिलो अलास्का भ्रमण हो ।