
अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले इरानको सिरीक क्षेत्रमा गरेको हवाई आक्रमणमा एक अवोध बालकसहित चार जनाको मृत्यु भएपछि इरानले जोर्डन, इराक, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दै भीषण जवाफी कारबाही सुरु गरेको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकॉम) का अनुसार, इरानी रिभोलुसनरी गार्ड्स (आईआर्जीसी) ले हर्मुज जलडमरुमध्यमा व्यापारिक जहाजहरूमाथि आक्रमणको प्रयास गरेपछि त्यसको प्रतिक्रियास्वरूप मंगलबार अमेरिकी सेनाले इरानभित्रका विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको हो। तर, इरानी रेड क्रिसेन्टले भने अमेरिकी मिसाइल सिरीकस्थित एक घरमा भइरहेको विवाह समारोह खसेपछि एक बालकसहित ४ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको जनाएको छ।
विवाह समारोहमा भएको सो मानवीय क्षतिको बदला लिन इरानले बुधबार बिहानैदेखि जोर्डनको अक्काबास्थित अमेरिकी मरीन बेसलाई लक्षित गरी दर्जनौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनी सशस्त्र बलले इरानले प्रहार गरेका १३ मध्ये १० वटा क्षेप्यास्त्र आकाशमै नष्ट गरेको र बाँकी ३ वटा दुर्गम क्षेत्रमा खसेको जानकारी दिएको छ। सो आक्रमणबाट हालसम्म कुनै मानवीय क्षतिको विवरण नआए पनि अक्काबा र माफ्राक क्षेत्रका बासिन्दालाई खस्न सक्ने भग्नावशेषबाट बच्न चेतावनी जारी गरिएको थियो।
यसैबीच, कुवेत र बहराइनमा पनि इरानी क्षेप्यास्त्र आक्रमणका कारण ठूला विष्फोटका आवाजहरू सुनिएको र त्यहाँका वायु रक्षा प्रणालीले जवाफी प्रतिरक्षा गरेको खबर प्राप्त भएका छन्।