२३ भदौ २०८३, मंगलबार

लोकतन्त्रवादी नेता जोशुवा वाङद्वारा नयाँ अभियोग स्वीकार, जेलको बास लम्बिने

भदौ १७, २०८३
काठमाडौं
लोकतन्त्रवादी नेता जोशुवा वाङद्वारा नयाँ अभियोग स्वीकार, जेलको बास लम्बिने

हङकङका लोकतन्त्रवादी आन्दोलनका प्रख्यात युवा नेता जोशुवा वाङले राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ मुद्दामा अभियोग स्वीकार गरेका छन् । बुधबार हङकङको उच्च अदालतमा भएको सुनुवाइका क्रममा वाङले अभियोग स्वीकार गरेसँगै उनले थप वर्षौं कारागारमा बिताउनुपर्ने सम्भावना बढेको छ ।

२९ वर्षीय वाङमाथि सन् २०२० मा अन्य अधिकारवादीसँग मिलेर चीन र हङकङविरुद्ध विदेशी प्रतिबन्ध लगाउन आह्वान गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ । चीनले सोही वर्ष हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो । आलोचकहरूले उक्त कानुनलाई हङकङको राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारमाथि अंकुश लगाउने माध्यमका रूपमा टिप्पणी गर्दै आएका छन् ।

वाङ यसअघि नै कारागारमा छन् । सन् २०२४ मा भएको चर्चित ‘राज्य विप्लव’सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि उनले अहिले चार वर्ष आठ महिनाको जेल सजाय काटिरहेका छन् । बुधबार सुनुवाइ भएको नयाँ मुद्दामा दोषी ठहर भएमा उनलाई जन्मकैदसम्मको सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

बेइजिङका अधिकारीहरूले वाङलगायत अन्य लोकतन्त्रवादी कार्यकर्तालाई ‘विखण्डनकारी’ को संज्ञा दिँदै आएका छन् । सन् २०१९ मा हङकङमा भएका विशाल तथा कतिपय हिंसात्मक प्रदर्शनपछि चीनले कडा राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । सरकारले उक्त कानुनले हङकङमा ‘स्थिरता पुनःस्थापना’ गरेको दाबी गर्दै आएको छ । तर मानवअधिकारवादी संगठनहरूले भने कानुनले असहमतिलाई दबाएको र सरकारको आलोचना गर्ने वातावरण जोखिमपूर्ण बनाएको बताएका छन् ।

बुधबारको सुनुवाइका क्रममा सरकारी पक्षले वाङमाथि लगाइएका आरोपको विस्तृत विवरण प्रस्तुत गरेको थियो । हङकङ सरकारका प्रवक्ताले वाङको मुद्दालाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनाको खण्डन गरेका छन् । उनले वाक् स्वतन्त्रताको अभ्यासलाई विदेशी शक्तिसँग मिलेर आफ्नै देशलाई हानि पुर्‍याउने कार्यसँग जोडेर हेर्न नहुने तर्क गरेका छन् ।

अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । वाङलाई समर्थन गर्न तथा उनलाई एक नजर देख्न दर्जनौँ मानिस बिहानैदेखि अदालत परिसरमा लामबद्ध भएका थिए ।

वाङका साथी लुइस लीका अनुसार जेल जीवनका बाबजुद वाङले आफूलाई सकारात्मक राख्न अध्ययन, व्यायाम र गिटार सिक्नेजस्ता गतिविधिमा आफूलाई व्यस्त राखेका छन् । तर, दोस्रो पटक राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत मुद्दा दायर भएपछि वाङ निकै मर्माहत भएको लीले बताए ।

कमेन्ट गर्नुहोस्