२३ भदौ २०८३, मंगलबार

शव व्यवस्थापन अन्तिम संस्कार होइन

भदौ १७, २०८३
चितवन
शव व्यवस्थापन अन्तिम संस्कार होइन
फाइल तस्वीर

रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिङ्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डीएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो ।
 
प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो । आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ शव व्यवस्थापन गरेको हो । जमिनमुनि व्यवस्थापन गरिएकामध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका १२९ वटा शव छन् । त्यस्तै पुरुष १०७,  महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

शवहरूको डीएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख प्रहरी उपरीक्षक पौडेलले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ । 

बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा डीएनए परीक्षणका लागि आफन्तको नमूना सङ्कलन शुरू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि डिएनए नमूना सङ्कलन शुरू गरेको हो ।
 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बिहान ९ देखि साँझ ५ बजेसम्म नमूना सङ्कलन भइरहेको जानकारी दिए । उनका अनुसार शवसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमूना डीएनए परीक्षणका लागि सङ्कलन गरिनेछ । उनले डीएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो साथमा ल्याउन अनुरोध गरे ।
 
डीएनए नमूना सङ्कलन र परीक्षणको प्राविधिक प्रक्रियाबारे जानकारी दिँदै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना सङ्कलन गरिएको बताए । ती नमूनाबाट डीएनए प्रोफाइल तयार गरिन्छ र त्यसलाई आफन्तबाट सङ्कलन गरिएको डिएनएसँग म्याचिङ गरी पहिचान गरिन्छ ।

नेपालको प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोगसमेत परिचालन गरेर कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमूनाको परीक्षण र डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
 
प्रहरीका अनुसार चितवन बाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ । विदेशमा रहेका आफन्तका लागि पनि डीएनए नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । हराइरहेका व्यक्तिका विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत अथवा नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डिएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाई परीक्षण प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

अस्थायी शव भण्डारणस्थलमा दीप प्रज्ज्वलन

शवहरूको व्यवस्थापन गरिएको भरतपुर–१ देवघाटस्थित जङ्गलमा मङ्गलबार साँझ दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख तथा सर्वसाधारणको सहभागिता रहेको थियो । विभिन्न समुदायका नागरिकले पनि दीप प्रज्ज्वलन गरी हालसम्म यहाँ व्यवस्थापन गरिएका ३३८ मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 
रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गरी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसैगरी विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि कार्यक्रममा सहभागी भई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
 
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । यस स्थान ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको स्पष्ट पारिएको थियो । यो क्षेत्र १२ वर्षसम्म अस्थायी शवस्थलका रूपमा रहने जनाइएको छ । 

कमेन्ट गर्नुहोस्