
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् ।
भदौ १० गते रसुवामा आएको बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा सरल भुक्तानी प्रक्रियाका विषयमा सोमबार नेपाल बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन् ।
००००
सरकारले बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको मध्येबाट उक्त रकम निकासा गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भने, 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा रहेको एभरेष्ट बैंक सिंहदरबार शाखामा मौज्दात रहेको रकममध्ये रु एक अर्ब विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ।'
००००
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रारम्भिक अनुमानअनुसार गत हप्ता नेपाल–चीन सीमा नजिक गएको बाढीका कारण २४ लाख टनभन्दा बढी भग्नावशेष तथा फोहोर उत्पादन भएको छ।
युएनडीपीको एक विज्ञप्ति अनुसार यसमा घरका भग्नावशेषहरू, घरायसी सामानहरू, बोटबिरुवा, चट्टान र गेग्रानहरू समावेश छन्।
विज्ञप्तिमा भनिएको छ कि फोहोरको यो मात्राले 'विनाशको गम्भीरता र घरहरू, सडकहरू तथा सार्वजनिक स्थानहरू सफा गरेर पुनर्निर्माण सुरु गर्दा समुदायहरूले सामना गर्नुपर्ने चुनौती' दर्शाउँछ।
००००
कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ । यस्तै, दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको विकल्पमा अध्ययन हुनेछ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायबारे छलफल भएको जानकारी दिए । मन्त्रालयमा मंगलबार बसेको बैठकले राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापनाका लागि हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
००००
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भए तापनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आए पनि देशमा विद्यमान प्राकृतिक विपद्को परिस्थिति र भोटकोशीमा आएको बाढीका कारण सिर्जित समस्यालाई मध्यनजर गर्दै निगमले पुराना मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
००००
विपद् व्यवस्थापन तथा पुनरुत्थानका कार्यलाई प्रभावकारी बनाउन प्रदेशदेखि स्थानीय पालिका तहसम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने भएको छ ।
भदौ ११ गते सम्पन्न सर्वदलीय बैठकको दिशानिर्देशनअनुसार मंगलबार प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरू सम्मिलित सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
००००
प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शङ्का छैन । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो ।”
००००
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ ।
००००
टीकापुर घटनामा दोषी ठहर भई सजाय माफी पाएका रेशमलाल चौधरीको आम माफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी सक्कल फाइल पेस गर्न पुनः आदेश दिएको छ ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार यसअघि मागिएको सक्कल फाइल प्राप्त नभएको उल्लेख गर्दै आगामी पेसी अगावै उक्त फाइल अनिवार्य रूपमा पेस गर्न आदेश दिएको हो ।
००००
रसुवाको भोटेकोशीमा आएको बाढीपछि अझै पनि विभिन्न जलविद्युत् आयोजनाका ६ सय ३९ जना कर्मचारी सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको विवरणमा उक्त तथ्य सार्वजनिक गरेको हो ।