२३ भदौ २०८३, मंगलबार

बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना

भदौ १७, २०८३
काठमाडौं
बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
फाइल तस्वीर

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।

 विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलीमिटर मापन भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
 
विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ । हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ ।

हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा थप समस्या आउन सक्ने जनाएको छ । 

वर्षाका कारण खोज, उद्धार तथा अन्य व्यवस्थापन कार्यमा चुनौती बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको उनले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्