
पृथ्वी राजमार्गअन्तर्गत नागढुंगानजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ ।
सडक भासिएसँगै उक्त खण्डमा नियमित यातायात सञ्चालनमा अवरोध पुगेको हो ।
सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालका अनुसार, सडक भासिएको स्थानबाट हाल पेट्रोलियम पदार्थ बोक्ने सवारी साधन र दुई पाङ्ग्रे सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गराउने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, अन्य सबै प्रकारका सवारी साधनहरूलाई भने वैकल्पिक रूपमा नागढुङ्गा सुरुङमार्ग हुँदै आवतजावत गराउने व्यवस्था गरिएको उनले बताए ।
सडक भासिएको क्षेत्रको स्थलगत निरीक्षण र क्षतिको मूल्यांकनका लागि सडक विभागको प्राविधिक टोली कार्यस्थलमा खटिइसकेको छ ।
टोलीले आवश्यक प्राविधिक अध्ययन पूरा गरेलगत्तै सडक मर्मतको काम अघि बढाइने र चाँडै यातायात सेवा पूर्ण रूपमा सुचारु गरिने विभागले जनाएको छ ।