२३ भदौ २०८३, मंगलबार
बाढीको महाविपत्ति

उद्धारका लागि अमेरिकी विज्ञ टोली नेपालमा, सुरुङभित्र जीवनको खोजी शुरू

भदौ १७, २०८३
काठमाडौं
उद्धारका लागि अमेरिकी विज्ञ टोली नेपालमा, सुरुङभित्र जीवनको खोजी शुरू
तस्वीर : एएनआईको भिडियोबाट लिइएको ।

गत बुधबारको विनाशकारी बाढीले रसुवा र आसपासका क्षेत्रमा पुर्‍याएको क्षतिले सिंगो देश शोकमा डुबेको छ ।

भोटेकोशीको उर्लँदो भेलले कयौं परिवारको खुसी खोसिदिएको छ भने हजारौंलाई बिचल्ली बनाएको छ । यही असहज परिस्थितिबीच पीडितलाई राहत दिन र बेपत्ताको खोजी गर्न अन्तर्राष्ट्रिय सहयोग जुट्ने क्रम जारी छ ।

यसैबीच, संयुक्त राज्य अमेरिकाको ‘क्राइसिस रेस्पोन्स इन्टरनेसनल’को १३ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको छ ।

यो टोलीले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङ मार्गमा केन्द्रित रहेर खोजी तथा उद्धार कार्य शुरू गर्ने बताइएको छ ।

उद्धार टोलीका एक सदस्य फेरिन कोलले नेपाली जनताको धैर्यता र साहसको उच्च प्रशंसा पनि गरेका छन् ।

‘नेपाली जनता अत्यन्तै सहनशील छन् र उनीहरूले उद्धार कार्यमा अद्भुत काम गरिरहेका छन् । उनीहरूको सेवामा सहभागी हुन पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो,’ कोलले भनेका छन्, ‘यहाँ कयौं परिवारले आफ्ना प्रियजन गुमाएका छन्, यो निकै हृदयविदारक क्षण हो ।’

अहिले पनि चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र केही मानिस जीवितै रहेको हुन सक्ने विश्वास गरिएको छ । सोही सम्भावनालाई ध्यानमा राखी अमेरिकी टोलीले आफ्नो कार्ययोजना तयार पारेको बताइएको छ ।

‘आजको हाम्रो मुख्य योजना हेलिकोप्टरमार्फत् जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा पुग्ने हो,’ फेरिनले भनेका छन् । उनका अनुसार, टोलीले अत्याधुनिक ‘लिसनिङ इक्विपमेन्ट’ अर्थात, ध्वनि सुन्ने उच्च प्रविधिको प्रयोग गर्नेछ ।

सुरुङभित्र मानिसको आवाज वा स्पन्दन पत्ता लगाउन यो प्रविधि निकै प्रभावकारी हुने बताइएको छ । त्यसपछि सुरक्षा टोलीले सुरुङभित्र प्रवेश गरी अवस्थाको यकिन गर्नेछ ।

अहिले सबैको ध्यान रसुवाको सुरुङ क्षेत्रमा केन्द्रित छ । बाढीको चपेटामा परेकाहरूलाई सकुशल उद्धार गर्न सकिएला कि भन्ने झिनो आशाले स्थानीय र उद्धारकर्मी दुवैलाई सक्रिय बनाएको छ ।

उद्धार कार्यमा खटिएका अर्का सदस्य डेरिक स्पेन्सरले हालको अवस्थाबारे जानकारी दिँदै सुरुङभित्र प्रवेश गर्ने काम निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

‘हाम्रो टोली सुरुङको प्रवेशद्वारसम्म पुगेको थियो । तर, परिस्थिति निकै चुनौतीपूर्ण देखिएपछि हामीले विशेष सावधानी अपनाउँदै डोरीको सहायता लिने निर्णय गरेका छौं । सुरुङको भित्री भागसम्म पुग्न थप जनशक्ति र समन्वयको खाँचो छ,’ उनले भने ।

उनका अनुसार, यो कठिन घडीमा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय बासिन्दा, सुरक्षाकर्मी र स्वदेशी तथा विदेशी उद्धारकर्ता एकताबद्ध भएर काम गरिरहेका छन् ।

‘हामी स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलका साथ मिलेर काम गरिरहेका छौं । सबैको सहकार्यले नै यो जोखिमपूर्ण कामलाई सम्भव बनाउने छ,’ उनी भन्छन् ।

कमेन्ट गर्नुहोस्