२३ भदौ २०८३, मंगलबार

चीन–नेपाल जोड्ने केरुङतर्फको सडक मार्ग पुन: सञ्चालनमा, उद्धार कार्य सहज बन्ने

भदौ १७, २०८३
काठमाडौं
चीन–नेपाल जोड्ने केरुङतर्फको सडक मार्ग पुन: सञ्चालनमा, उद्धार कार्य सहज बन्ने

केही दिनअघि भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले बगाएको र तहसनहस बनाएको चीन–नेपाल जोड्ने मुख्य नाका केरुङतर्फको सडक मार्ग पुन: सञ्चालनमा आएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार, बाढीले नामोनिसान मेटाएको उक्त महत्वपूर्ण सडक मार्गको अधिकांश हिस्सा मर्मत गरी यातायातका लागि खुला गरिएको हो ।

यो खबरले बाढीका कारण थुनिएका र कष्टकर जीवन बिताइरहेका स्थानीय र प्रभावित क्षेत्रमा रहेकाहरूलाई ठूलो राहत दिएको छ ।

सडक सञ्जाल पुन: जोडिएसँगै अब प्रभावित क्षेत्रमा उद्धारकर्मी, अत्यावश्यक राहत सामग्री र ठूला मेसिनरी उपकरणहरू सहजै पुर्‍याउन सकिने भएको छ ।

बाढीका कारण सडक सम्पर्क विच्छेद हुँदा केही दिनयता उद्धार तथा राहत कार्य निकै चुनौतीपूर्ण बनेको थियो ।

बाढीले नाकाको मुख्य चेकपोस्ट भवनलाई नै पूर्ण रूपमा बगाएर नदीमा मिलाइदिएको छ । उद्धारकर्मीहरूका अनुसार, यो मर्मत कार्य अत्यन्तै कठिन थियो ।

निरन्तरको भारी वर्षा, लेदोसहितको पहिरो र नदीको तीव्र बहावले उद्धारकर्ताहरूलाई पाइला–पाइलामा चुनौती दिइरहेको थियो ।

सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा, बाढीले बगाएको भागमा नयाँ मार्ग कोर्न एक्साभेटरहरूले दिनरात नभनी अहोरात्र काम गरिरहेको दृश्य देख्न सकिन्छ ।

सडकको एक किनारामा भित्तो काटेर हतार–हतार बाटो बनाइरहँदाको त्यो दृश्यले प्राकृतिक विपत्तिको भयावह तस्वीर छर्लङ पार्छ ।

बाटो खुलेपछि अब उद्धार तथा पुन:स्थापनाको कामले थप गति लिने विश्वास गरिएको छ । तर, बाढीले पारेको गहिरो घाउ र तहसनहस संरचनाहरूले सामान्य अवस्थामा फर्कन अझै लामो समय लाग्ने पक्का छ ।

कमेन्ट गर्नुहोस्