२३ भदौ २०८३, मंगलबार

‘विपद्‌मा नेपाललाई अझै सहयोगको खाँचो छ, कर्पोरेट क्षेत्रले पनि हातेमालो गरोस्’

नुवाकोट पुगेका बलिउड अभिनेता सोनु सुद भन्छन्-
भदौ १७, २०८३
काठमाडौं
‘विपद्‌मा नेपाललाई अझै सहयोगको खाँचो छ, कर्पोरेट क्षेत्रले पनि हातेमालो गरोस्’

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति र त्यसपछिको पीडादायी अवस्थालाई नजिकबाट नियालिरहेका बलिउड अभिनेता तथा समाजसेवी सोनु सूदले नेपालको पुन:निर्माण र राहतका लागि निरन्तर सहयोगको खाँचो रहेको बताएका छन् ।

नुवाकोटमा पीडित परिवारहरूलाई भेटेपछि भावुक बनेका अभिनेता सूदले बाढीले निम्त्याएको विनाशलाई शब्दमा वर्णन गर्न कठिन रहेको बताए ।

उनले भनेका छन्, ‘यहाँको विनाश देख्दा जसको पनि मन भक्कानिन्छ । यदि हामीले यस्तो अवस्थामा पनि सहयोग गरेनौँ भने कहिले गर्ने ?’

भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई उपलब्ध गराएको सहयोगको प्रशंसा गर्दै अभिनेता सूदले भने, ‘भारत सरकारले गरेको सहयोग साँच्चै नै सराहनीय छ । तर, यो समस्या केही साता वा महिनामा समाधान हुने खालको छैन । प्रभावितहरूलाई सामान्य जीवनमा फर्काउन हामीले लामो समयसम्म निरन्तर सहयोग गरिरहनुपर्छ ।’

उनले बाढीपीडितहरूको घाउमा मल्हम लगाउन ठुला कर्पोरेट संस्थाहरूलाई पनि अगाडि आउन आग्रह गरेका छन् ।

आफ्नो संस्था ‘सूद च्यारिटी फाउन्डेसन’को तर्फबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनेका छन्, ‘ठूला कर्पोरेट संस्थाहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यहाँ केही राम्रो काम आवश्यक छ । सहयोगका लागि म वा मेरो फाउन्डेसन जहिले पनि एक फोन कलको दूरीमा हुनेछौँ ।’

उनले विनाशकारी बाढीले सर्वस्व गुमाएका परिवारहरूको अवस्था देखेर आफू विचलित बनेको बताए । सबैलाई एकजुट भएर नेपालको साथमा उभिन पनि उनले आग्रह गरे । प्रभावितहरूको जीवन सामान्य नभएसम्म आफ्नो अभियान नरोकिने उनको भनाइ छ ।

अभिनेता सूद भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई राहत सामग्री लिएर मंगलबार नेपाल आइपुगेका हुन् ।
 

कमेन्ट गर्नुहोस्