
एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत २ करोड ५१ लाख रूपैयाँ र आफ्ना कर्मचारीको तर्फबाट ६० लाख ५४ हजार ६०५ रूपैयाँ ३८ पैसा समेत गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा ३ करोड ११ लाख ५४ हजार ६०५ रूपैयाँ ३८ पैसा नगद सहयोग उपलब्ध गराएको छ ।
नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्री समेत विपद् प्रभावित क्षेत्रमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विपद्को सामना गर्न अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ ।