
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।
ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज (बुधबार) दोस्रो दिन बैठक बसेको हो । बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण तथा विभिन्न राजनीतिक शक्तिसँगको सहकार्यका विषयमा छलफल भइरहेको छ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाका अनुसार बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। साथै, प्रदेशदेखि स्थानीय तहसम्मका पार्टी संगठनलाई समायोजन गरी व्यवस्थित बनाउने प्रस्ताव पनि निर्णयका लागि प्रस्तुत भएको छ। बैठकमा प्रदेश, जिल्ला तथा स्थानीय तहका पार्टी संरचनाको समायोजनसँगै भ्रातृ संगठनहरूको समायोजनसम्बन्धी प्रस्तावमाथि पनि छलफल भइरहेको छ।
त्यसैगरी, विभिन्न राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा निर्माणको विषय पनि कार्यकारिणी बैठकको महत्वपूर्ण एजेन्डाका रूपमा रहेको छ। मोर्चाको स्वरूप, सहकार्यको आधार तथा आगामी राजनीतिक भूमिकाबारे कार्यकारिणी सदस्यहरूले धारणा राखिरहेका छन्।
बैठकमा पार्टीको संसदीय बोर्ड गठन तथा कार्यकारिणी सदस्यहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावसमेत पेश गरिएको महासचिव डा. झाले जानकारी दिए । यसैबीच, हालैका बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकका लागि राहत संकलन तथा सहयोग परिचालन गर्ने विषयमा पनि बैठकमा छलफल भइरहेको छ।
कार्यकारिणी बैठकले राजनीतिक प्रतिवेदन, संगठन समायोजन, भ्रातृ संगठनको व्यवस्थापन, अग्रगामी मोर्चा, संसदीय बोर्ड गठन र नेताहरूको कार्यविभाजनलगायत विषयमा आवश्यक निर्णय लिने तयारी गरेको छ।
पार्टीले बैठकबाट संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी राजनीतिक गतिविधिका लागि स्पष्ट कार्यदिशा तय गर्ने जनाएको छ।