
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई शोकमा डुबाइरहेका बेला राहत र उद्धारको प्रयासबीच एक सुखद खबर सार्वजनिक भएको छ ।
बाढीपछि बेपत्ता सूचीमा रहेका पाँचजना अष्ट्रेलियन नागरिक सकुशल फेला परेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बुधबार पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएका हुन् ।
विनाश र त्रासदीको यो घडीमा यो समाचारले केही हदसम्म आशाको किरण सञ्चार गरेको छ । प्रधानमन्त्री अल्बानीजका अनुसार, यसअघि बेपत्ता भनिएका ४३ अस्ट्रेलियनमध्ये पाँचजना सम्पर्कमा आएसँगै अब बेपत्ता अस्ट्रेलियन नागरिकको संख्या ३८ मा झरेको छ ।
‘यति ठूलो त्रासदीका बीचमा हामीले केही सकारात्मक समाचार सुन्न पाएका छौं,’ प्रधानमन्त्री अल्बानीजले भनेका छन् ।
यद्यपि, समग्र विपत्तिको अवस्था भने अझै पनि भयावह छ । नेपाल र चीनको सीमा क्षेत्रमा अझै पनि सयौं विदेशी नागरिकसहित हजारौं जनाको अवस्था अज्ञात रहेको सम्बद्ध नेपाली अधिकारीहरूले जनाएका छन् ।
भोटेकोशीको उर्लँदो भेलले जनजीवनमा पुर्याएको क्षति र अझै पनि धेरै मानिस बेपत्ता रहेको अवस्थाले उद्धार कार्यलाई चुनौतीपूर्ण बनाएको छ ।
भग्नावशेष र लेदो पन्छाउँदै बेपत्ताहरूको खोजी कार्य जारी छ । तर, परिवारजनमा आफ्ना प्रियजनको पर्खाइको पीडा भने अझै कम हुन सकेको छैन ।