
भोटेकोशी बाढीपछि रसुवामा रहेका चार वटा हाइड्रोपावरको टनेलमा फसेकाहरूको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनासहितको विशेषज्ञ टोलीले हाइड्रोपावरका सुरुङभित्र पसेर उद्धार गर्ने प्रयास गरे पनि उनीहरूको उद्धार गर्न असफल भएको हो ।
नेपाली सेनाका सहायकरथी तथा नम्बर ६ बाहिनीपति एवं फरवार्ड ज्वाइन्ट अपरेशन सेल कमाण्डका कमाण्डर उज्जल राणाका अनुसार धुन्चे र नर्थ क्षेत्रको जिम्मेवारी सेनाले सम्हालिरहेको छ । सडक तथा अन्य सञ्चार सम्पर्कमा समस्या भएकाले उद्धारका लागि मुख्यत: हवाई साधनको प्रयोग भइरहेको छ ।
बाढीले टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुर्याएको राणाले बताएका छन् । उनका अनुसार खोलादेखि करिब ४५ मिटरमाथिसम्म बाढीको प्रभाव देखिएको छ । टिमुरे क्षेत्रमा अत्यधिक क्षति भएको तथा स्याफ्रुबेसीको करिब आधा भाग बाढीले बगाएको उनले बताए ।
उद्धारसँगै सेनाले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा खोजी कार्यसमेत जारी राखेको छ । टिमुरेमा सशस्त्र प्रहरीका करिब २० जना सुरक्षाकर्मी रहेको र उद्धार गरिएका शवहरू त्यहाँ राखिएको राणाले बताए ।
जंगल तथा गाउँबस्तीमा समेत टोली परिचालन गरेर खोजी भइरहेको उनको भनाइ छ । जीवित व्यक्तिलाई उद्धार गर्न सकिने आशा रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको उनले बताए ।
बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा समेत ठूलो परिमाणमा लेदो र सामग्री भरिएको छ । राणाका अनुसार रसुवागढी क्षेत्रमा चारवटा हाइड्रो आयोजनाको काम रोकिएको छ । त्यहाँका इन्जिनियरलाई समेत परिचालन गरेर सुरुङभित्रको अवस्थाबारे जानकारी लिइएको उनले बताए ।
सुरुङभित्र तीन तलासम्म टर्बाइन भरिएको र त्यहाँबाट जीवित व्यक्ति भेटिने अवस्था नरहेकाले रसुवागढी क्षेत्रमा काम बन्द गरिएको उनले बताए । उनका अनुसार तर, चिलिमे क्षेत्रमा भने अझै खोजी तथा उद्धारको काम जारी रहेको छ । त्यहाँ जीवित व्यक्ति भेटिन सक्ने आशा अझै रहेको राणाको भनाइ छ ।
लाङटाङ हाइड्रोमा पनि नेपाली सेनाको टोली करिब ६४ मिटरसम्म भित्र पुगेको छ । तर, त्यसभन्दा भित्र जाने अवस्था नरहेको राणाले बताए । सुरुङभित्र करिब दुई फिटको समेत खाली ठाउँ नरहेको र लेदो भरिएकाले थप भित्र प्रवेश गर्न कठिन भएको उनले बताए ।
त्यस्तै, अर्को सुरुङमा पनि आजदेखि टोली प्रवेश गराइएको उनले जानकारी दिए । उक्त सुरुङमा छातीको लेभलसम्म लेदो भरिएको उनको भनाइ छ ।
राणाका अनुसार बाढीले सडक तथा आवागमनका अधिकांश बाटो बगाएकाले उद्धार कार्यका लागि आवश्यक उपकरण तथा मेसिन परिचालन गर्नसमेत कठिनाइ भइरहेको छ । मेसिन पुगे पनि काम गर्न सक्ने भौतिक अवस्था नरहेको उनले बताए ।
सरकारले उद्धारका लागि पर्याप्त स्रोतसाधन उपलब्ध गराएको भए पनि बाढीले बाटो नै बगाएकाले ती साधनलाई घटनास्थलसम्म पुर्याएर प्रभावकारी रूपमा प्रयोग गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।
सुरुङभित्र थुप्रिएको लेदो तथा त्यहाँ रहेका सामग्री तत्काल निकाल्न सकिने अवस्था नरहेको पनि राणाले बताए । उनको आकलनमा सुरुङभित्र भरिएको लेदो र सामग्री निकाल्न तीनदेखि चार महिनासम्म लाग्न सक्ने देखिएको छ । 'हामी गरिनै राखेका छौँ र मलाई लाग्छ म १० गतेदेखि अहिलेसम्म यहाँ काम गरिराख्या छु । यहाँ खोलाले सबै बाटो लगेको छ । त्यो बाटोको समस्याले गर्दा मेसिन लान नसकेको हो । तर मेसिन गएता पनि काम गर्न सक्ने अवस्था छैन,' उनले भनेका छन्, 'किनभने टनेलभित्र जम्मै जमेका कुराहरू, त्यसलाई चाहिँ निकाल्न यो दुई-तीन दिनमै हुन सक्ने सम्भावना म देख्दिनँ । त्यो हेर्दाखेरि यहाँलाई वास्तवमा भन्ने हो भने त्यसलाई तीन देखि चार महिनामा पनि त्यो ननिस्कने म आफैँले देखेको छु ।'
यसबीच नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ । विशेषगरी जंगल, गाउँबस्ती तथा बाढी प्रभावित क्षेत्रमा टोली परिचालन गरी जीवित व्यक्तिको खोजी भइरहेको छ । अहिलेसम्म उद्धार गरिएका करिब २१ सय व्यक्तिमध्ये ८३ जना विदेशी नागरिक रहेको सेनाले जनाएको छ ।
नेपाली सेनाले रसुवा क्षेत्रबाट उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ । अहिलेसम्म करिब २१ सय जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धार गरिएकामध्ये ८३ जना विदेशी नागरिक रहेका छन् ।