
रसुवाको भोटेकोशी कोरिडोर (टिमुरे, स्याफ्रुबेँसी) तथा नुवाकोटको त्रिशूली कोरिडोर क्षेत्रमा गएको भीषण र विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।
बाढीमा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक विधिबाट पहिचान तथा सुरक्षित व्यवस्थापन गर्नका लागि सरकारले स्वदेशी तथा विदेशी फरेन्सिक विज्ञहरूको टोली परिचालन गरेको छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये बुधबार बिहान ९ बजे सम्म १ हजार ११४ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार नेपालमा हाल फरेन्सिक चिकित्सा विधाका करिब ४० जना विशेषज्ञ चिकित्सकहरू रोस्टरमा दर्ता छन् ।
तीमध्ये उमेर, अवकाश वा अन्य प्राविधिक कारणले गर्दा हाल २५ जनाको हाराहारीमा मात्र तत्काल फिल्डमा खटिन सक्ने जनशक्ति उपलब्ध छ ।
‘देशभरिका फरेन्सिक विज्ञहरूको 'रोस्टर' तयार गरी आवश्यकता र अनुकूलताका आधारमा उनीहरूलाई भरतपुर, नवलपरासी, पोखरा, धादिङ, रसुवा र काठमाडौं लगायतका क्षेत्रमा परिचालन गरिएको छ,’ अधिकारीले लोकान्तरसँग भने ।
विपद्को यस संवेदनशील घडीमा शवहरूको संख्या धेरै भएकाले नेपालको सीमित फरेन्सिक क्षमतालाई बढावा दिन सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग गरेको थियो । सोहीअनुरूप हाल नेपाल प्रहरीको समन्वयमा अन्तर्राष्ट्रिय विज्ञहरू नेपाल आएर काम गरिरहेका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार भारतबाट १३ जना, सिंगापुरबाट २४ जना र चीनबाट ८ जना विशेषज्ञहरू नेपाल आइसकेका छन् भने अन्य देशहरूबाट पनि टोली आउने क्रम जारी छ ।
‘विदेशी विज्ञहरूले जटिल खालको डीएनए परीक्षण, एक्सट्रयाक्सन र आधुनिक मेसिनहरू सञ्चालन गर्न प्राविधिक सहयोग गरिरहेका छन्,’ अधिकारीले लोकान्तरसँग भने, ‘उनीहरू आवश्यक परीक्षण सामग्री (किट्स) र उपकरणसहित नेपाल आएका हुन् ।’
यसका साथै नेपाल सरकारलाई आवश्यक पर्ने फरेन्सिक उपकरणहरूको विशिष्टीकरण (स्पेसिफिकेशन) तयार पार्न र अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट आवश्यक सहयोग जुटाउन समेत उनीहरूले परामर्श दिइरहेको अधिकारीले बताए ।
शवको संख्या धेरै ठूलो भएकाले ती विदेशी विज्ञहरू लामो समयसम्म नै रहनुपर्ने अवस्था रहेको उनले बताए ।
शव व्यवस्थापन र डीएनए नमूना संकलन प्रक्रिया
पहिचान हुन नसकेका शवहरूको पहिचान र व्यवस्थापनका लागि वैज्ञानिक र सुरक्षित प्रक्रिया अपनाइएको छ । अधिकारीका अनुसार आफन्तहरूले चिन्न सक्ने अवस्थाका सग्ला शवहरूलाई काठमाडौं तथा अन्य स्थानका शिक्षण अस्पतालका शवगृह (फ्रिजर) मा सुरक्षित राखिएको छ ।
चिन्न नसकिने र अत्यधिक कुहिएका शवहरूका कारण वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा महामारीको जोखिम बढ्ने भएकाले तिनलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको उनले बताए ।
‘यस्ता शवहरूबाट फरेन्सिक टोलीले औंलाको छाप (फिंगरप्रिन्ट), दाँतको नमूना र डीएनएको लागि आवश्यक अन्य जैविक नमूनाहरू संकलन गरेको छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘नमूना संकलन गरिसकेपछि ती शवहरूलाई सुरक्षित 'डेड बडी ब्याग' मा राखेर सिल गरी सम्बन्धित जिल्लाहरूमा प्रहरीको सुरक्षा र निगरानीमा जमिनमुनि सुरक्षित रूपमा गाडिएको छ ।’
उनका अनुसार शव सुरक्षित रूपमा गाड्नुको अर्थ प्रमाण नष्ट गर्नु नभई पछि डीएनए परीक्षणका माध्यमबाट पहिचान खुल्दा आफन्तलाई बुझाउन सजिलो होस् भन्नका लागि हो ।
आफन्तका लागि स्थानीयस्तरमै रगत संकलनको व्यवस्था
बाढीमा आफ्ना परिवारका सदस्य वा आफन्त गुमाएका मानिसहरू डीएनए परीक्षणका लागि काठमाडौं वा रसुवाको टिमुरेसम्म आइरहनु पर्दैन । आफन्तहरूका लागि गृह जिल्ला वा स्थानीयस्तरमै नमूना संकलन गर्ने व्यवस्था मिलाइएको अधिकारीले बताए ।
हराइरहेका व्यक्तिका नजिकका आफन्त (आमा, बुबा, छोरा वा छोरीमध्ये कोही एक) ले आफ्नो जिल्लाको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।
‘त्यहाँ उपलब्ध फारम भरेपछि जिल्ला प्रहरी कार्यालयले स्थानीय स्वास्थ्य कार्यालय वा अस्पतालसँग समन्वय गरी ती आफन्तको रगतको नमूना संकलन गर्ने व्यवस्था मिलाउनेछ,’ अधिकारीले लोकान्तरसँग भने, संकलन गरिएको रगतको नमूनालाई प्रयोगशालामा पठाई पछि शवबाट निकालिएको डीएनएसँग भिडाइनेछ ।’
यदि बेपत्ता भएका व्यक्तिका आफन्त विदेशमा छन् भने उनीहरूले विदेशमै डीएनए परीक्षण गराई सोको नमूना नेपाल प्रहरीलाई पठाउन सक्ने समन्वयकारी व्यवस्थासमेत गरिएको उनले खुलाए ।
डीएनए परीक्षणका लागि मुख्य रूपमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रयोगशाला खुमलटार र हेटौंडास्थित प्रहरीको विधि विज्ञान प्रयोगशालालाई तोकिएको छ । यो सबै कामको नेतृत्व नेपाल प्रहरीले यसको गरिरहेको छ । नमूना संकलन तीव्र बनाउन मोबाइल टोलीहरूलाई पनि विभिन्न अस्पतालहरूमा खटाइएको छ ।
‘नेपालमा उपलब्ध परम्परागत प्रविधिबाट डीएनए परीक्षण गर्दा एकपटकमा नतिजा आउन ३ महिनाभन्दा बढी समय लाग्ने गर्छ । तर, अन्तर्राष्ट्रिय टोलीले भित्र्याएका आधुनिक प्रविधि र मेसिनहरूका कारण यो प्रक्रिया छिटो हुने अपेक्षा गरेका छौं,’ सहप्रवक्ता डा. अधिकारीले लोकान्तरसँग भने, ‘यद्यपि, शवको संख्या अत्यधिक भएकाले सबै नतिजाहरू आउन अझै केही समय लाग्ने देखिन्छ ।’
फरेन्सिक विज्ञहरूले मुख्यरूपमा चिकित्सा विज्ञान र कानूनी प्रणालीलाई जोड्ने पुलको रूपमा काम गर्दछन् ।
उनीहरूको प्रमुख जिम्मेवारी कुनै पनि शंकास्पद मृत्यु, दुर्घटना, हत्या वा आपराधिक घटनामा मृतकको शवको पोस्टमार्टम (मरणोत्तर शव परीक्षण) गरेर मृत्युको वास्तविक कारण, समय र तरिका पत्ता लगाउनु हो ।
बाढी, पहिरो जस्ता प्राकृतिक विपद् वा सामूहिक दुर्घटनाहरूमा चिन्न नसकिने गरी क्षतविक्षत भएका शवहरूको वैज्ञानिक विधि जस्तै औँलाको छाप, दाँतको बनोट र डीएनए परीक्षणका माध्यमबाट पहिचान खुलाउनु पनि उनीहरूको मुख्य काम हो ।
यसका साथै जीवित मानिसहरूमाथि हुने शारीरिक कुटपिट, यौनजन्य हिंसा, बाल दुर्व्यवहार वा यातनाका घटनाहरूमा पीडित र आरोपीको शारीरिक परीक्षण गरी कानूनी प्रमाण जुटाउने र अदालतमा विशेषज्ञ साक्षीका रूपमा उपस्थित भई वैज्ञानिक प्रमाणका आधारमा न्याय सम्पादनमा सहयोग पुर्याउने काम उनीहरूले गर्दछन् ।
नेपालमा न्यून विज्ञ जनशक्ति हुनुका कारणहरू
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा फरेन्सिक विज्ञहरूको संख्या ४० जनाको हाराहारीमा मात्र सीमित छ । त्यसका विभिन्न कारणहरू छन् ।
पहिलो कारण, नेपालका मेडिकल कलेजहरूमा फरेन्सिक चिकित्सा विधामा स्नातकोत्तर (एमडी) अध्ययनका लागि शैक्षिक कोटा अत्यन्तै सीमित छ र वार्षिक रूपमा यो विधा पढ्ने चिकित्सकहरूको संख्या निकै कम छ ।
दोस्रो, अन्य क्लिनिकल विधाहरू (जस्तै सर्जरी, पेडियाट्रिक्स, वा गाइनोकोलोजी) को तुलनामा यो विधा नयाँ चिकित्सकहरूका लागि कम आकर्षक मानिन्छ ।
निरन्तर रूपमा शव परीक्षण, अपराधका पीडितहरूसँगको व्यवहार र अदालती प्रक्रियामा अल्झिरहनुपर्ने भएकाले धेरैजसो चिकित्सकहरू यसमा आकर्षित हुँदैनन् ।
यसका अतिरिक्त, यो विधामा निजी प्राक्टिस (प्राइभेट क्लिनिक) गर्ने अवसर नहुनाले आर्थिक रूपमा पनि यो क्षेत्र अन्य चिकित्सा विधा जत्तिको आकर्षक मानिँदैन ।
नेपालको स्वास्थ्य सेवा प्रणालीमा दुर्गम र जिल्लास्तरका अधिकांश सरकारी अस्पतालहरूमा फरेन्सिक विज्ञहरूको पर्याप्त दरबन्दीको व्यवस्था नहुँदा यस क्षेत्रमा खटिने डाक्टरहरूको करियर विकास र पदोन्नतिका अवसरहरू पनि निकै सुस्त र चुनौतीपूर्ण छन् ।
साथै, देशका अधिकांश पोस्टमार्टम कक्ष तथा शवगृहहरूमा आधुनिक उपकरण, कोल्ड स्टोरेज र न्यूनतम पूर्वाधारको अभाव हुनुले पनि नयाँ जनशक्तिलाई यस विधामा आकर्षित गर्न बाधा पुर्याइरहेको छ ।