
प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आट र भरोसा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले भोटेकोशी बाढीले सिंगो नेपालमाथि परेको साझा बज्रपात भएको बताए ।
भोटेकोशी बाढीले तीन जिल्ला मात्र प्रभावित नबनी सिंगो देश नै पीडित बनेको उनको भनाइ छ । 'संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आट, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,' उनले भने, 'यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र हैन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो । तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन ।'
सरकारले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रधानमन्त्रीको भनाइ थियो । 'दृढ संकल्प साहसका साथ हामीले लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौं,' उनले भने ।