
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी सुरूङभित्र फसेका नागरिकको उद्धारमा सरकारले हदैसम्मको लापरबाही गरेको आरोप लगाएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको लापरबाहीका कारण सुरूङभित्र फसकेकाको समयमा उद्धार गर्न नसकिएको बताएका हुन् ।
‘सम्बन्धित आयोजना र निजी क्षेत्रलाई जान नदिने, विषय विज्ञको कुरा नसुन्ने, आफू एक्सन नगर्ने, अरूलाई गर्न नदिने ! अनि ७ दिन बितिसकेपछि सरकारले हात उठाएर सुरूङमा आफैं खोज भन्ने ?’ आङदेम्बेले भने, ‘यो सरकारको असंवेदनशीलता र ढिलाइका कारण ती सुरूङभित्र भएको मृत्यु, मृत्यु हो कि हत्या ?’
विपत्को बेला आफूहरू सरकारको साथमा रहेको उल्लेख गर्दै आङदेम्बेले सरकारको साथमा छौं भन्नुको अर्थ सरकारले गरेको सबै खतको माफ दिनु नरहेको बताए ।
प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनमा सबै कुरा ठीकठाक भएजस्तो गरिए पनि अवस्था त्यस्तो नरहेको उनले बताए ।