२६ असोज २०८३, सोमबार
अर्को टालटुले काम

कृष्णभीरमा भित्तो काट्ने सरकारी तयारी, बल्ल–तल्ल थामिएको माथिल्लो पहिरो ब्यूँतिने खतरा !

ग्यास बुलेटसहित भारी सवारी चल्न नमिल्ने, अध्ययन समितिले सुझायो ३ विकल्प
भदौ १७, २०८३
काठमाडौं
कृष्णभीरमा भित्तो काट्ने सरकारी तयारी, बल्ल–तल्ल थामिएको माथिल्लो पहिरो ब्यूँतिने खतरा !

त्रिशुली नदीको किनारैकिनार अत्याधुनिक प्रविधि प्रयोग गरेर स्थिर बनाएको दाबी गरिएको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड यतिबेला इतिहासकै गम्भीर संकटमा छ ।

सडकको झन्डै ६५ मिटर खण्ड पूरै भासिएर त्रिशुली नदीमा पुगेपछि संघीय राजधानी काठमाडौंसँगको सहज यातायात र आपूर्ति शृंखला पूर्ण रूपमा विच्छेद भएको छ ।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकलाई बुधबार सम्बोधन गर्दै यो खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

यद्यपि, प्रधानमन्त्रीले कुन मोडालिटीमा सडक सञ्चालन गर्ने भन्ने प्राविधिक कुरा खुलाएका छैनन् ।

अर्कोतर्फ, सरकारले तत्काल यातायात सहज बनाउन पहाडतर्फको भित्तो काटेर एक लेन (सिंगल लेन) को अस्थायी वैकल्पिक मार्ग निर्माण गर्ने निर्णय हतार-हतार अघि बढाएको छ ।

तर, भू-प्राविधिक विज्ञहरूले भने यसरी हतारमा भित्तो काट्दा हाल स्थिर अवस्थामा रहेको पहिरोको माथिल्लो भूभाग समेत अस्थिर भई झन् ठूलो र विनाशकारी पहिरो झर्ने आशंका समेत व्यक्त गरेका छन् ।

वर्षातको सिजन जारी रहेकै बेला जोखिमको पर्याप्त मूल्यांकन नगरी प्राविधिक रूपमा संवेदनशील मानिएको पहाड चलाउँदा राष्ट्रिय सुरक्षा र करोडौंको पूर्वाधारमाथि नै गम्भीर खेलबाड हुने खतरा बढेको छ ।

सरकारी निर्णय र असुरक्षित ट्र्याकको यथार्थ

सडक अवरुद्ध भएपछि मंगलबार पूर्वाधार विकास मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले तत्कालीन र दीर्घकालीन समाधानका लागि विशेष योजना स्वीकृत गरेको छ ।

मन्त्रालयले जारी गरेको प्रेस नोट अनुसार तत्कालको विपद् सामना गर्न कृष्णभीरको हिलसाइडमा रहेको 'ग्याबियन ब्रेस्ट वाल' माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण कार्य अघि बढाइनेछ ।

नयाँ ट्र्याक खोल्नेसँगै सुरक्षाका लागि 'सेक्रिफिसियल ग्याबियन बक्स' राख्ने तथा 'बोल्डर हिलसाइड'बाट ढुंगाहरू तल खसाल्ने कार्यसमेत सँगसँगै गर्ने मन्त्रालयको तयारी छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा त्रिशुली नदीतर्फबाट सडकको जग नै भत्किएकाले तत्काल तलबाट पुनर्निर्माण गर्न प्राविधिकरूपमा असम्भव भएको स्वीकार गरे ।

‘त्रिशुली नदीको कटानले तलबाट जग नै उठाएर बाटो बनाउन सम्भव नभएकाले पहाडतर्फको भित्तो काटेर सिंगल लेनको अस्थायी ट्र्याक खोल्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छौं,' जैसीले पत्रकार सम्मेलनमा भने ।

तर, यो सरकारी योजना सुन्दा जति सहज देखिन्छ, यसको भित्री प्राविधिक पाटो र जोखिम त्योभन्दा कयौं गुणा बढी चुनौतीपूर्ण र भयानक छ ।

विज्ञको गम्भीर चेतावनी– माथिल्लो स्थिर भूभाग नै अस्थिर बन्ने खतरा

कृष्णभीर पहिरोका लामो समयदेखि अध्ययनकर्ता एवं सडक विभागका सेवानिवृत्त इन्जिनियर नरेशमान शाक्यले हाललाई अन्य विकल्प नभएका कारण सुरक्षात्मक उपाय अपनाएर अस्थायी ट्र्याक खोल्न लागिएको त बताए , तर यसले निम्त्याउन सक्ने जोखिम निकै उच्च रहेको उनको भनाइ छ ।

अहिले अस्थायी वैकल्पिक मार्ग सञ्चालन गर्नका लागि भित्तो काट्दा विगत लामो समयदेखि स्थिर रहेको पहिरोको माथिल्लो भूभाग झनै अस्थिर हुन जाने खतरा छ ।

इन्जिनियर शाक्यका अनुसार विभागले हाल पहिरोको पूरै भित्तो काट्ने नभई पछाडि रहेको 'रिटेनिङ वाल' को माथिल्लो भागबाट करिब २ मिटर काटेर अस्थायी बाटो निकाल्ने तयारी गरेको छ ।

‘यसो गर्दा जोखिम त अवश्य रहन्छ, तर त्यो जोखिम न्यूनीकरणका लागि भित्तो काटेको स्थानमा पुनः अर्को ग्याबियन वाल थपेर थप पहिरो खस्न नदिने योजना बनाइएको छ,’ शाक्यले लोकान्तरसँग भने,‘अस्थायी रूपमा खोलिने यो मार्ग बढीमा दुई वर्षसम्म चलाउने लक्ष्य राखिएको छ, यद्यपि यो मार्ग पूर्ण रूपमा सुरक्षित र सहज भने हुने छैन । बाटो ५-६ मिटरभन्दा बढी चौडा बनाउन खोजिएमा माथिल्लो भागको स्थिर रहेको पहिरो फेरि सक्रिय हुने र झन् ठूलो पहिरो झर्ने खतरा रहन्छ ।’

विज्ञहरूका अनुसार यो अस्थायी सडक सञ्चालनमा ल्याए पनि सुरक्षाकै कारण ठूला र भारी सवारी साधनहरू, विशेष गरी एलपी ग्याँस बोक्ने बुलेट सहितका ठूला सवारी साधनहरू यस मार्गबाट चल्न पाउने छैनन् ।

अझ गम्भीर कुरा त, अहिले वर्षातको सिजन जारी रहेकाले अस्थायी मार्ग निर्माण गर्दै गर्दा पुनः बाढी तथा पहिरोका कारण माथिल्लो थप भूभाग समेत पहिरोमा पर्न सक्ने जोखिम कायमै छ ।

बाढीले खोला पुरानै धारमा फर्काउँदा कृष्णभीर फेरि ब्यूँतियो

नेपाल जियोटेक्निकल सोसाइटीका भू-प्राविधिक विज्ञहरूको टोलीले सडक विभागलाई मंगलबार नै बुझाएको प्रारम्भिक प्रतिवेदन अनुसार कृष्णभीरको कुल २०० मिटर प्रभावित क्षेत्रमध्ये हाल करिब ६० देखि ६५ मिटर खण्डमा ठूलो क्षति पुगेको छ ।

‘२०५७ सालदेखि शुरू भएको कृष्णभीर पहिरोलाई २०६०/६१ सालमा जैविक इन्जिनियरिङ र भिरालो व्यवस्थापन मार्फत स्थिर बनाइएको थियो । तर, यस वर्ष आएको भीषण बाढीले खोलाको बहाव परिवर्तन गराई भीरको फेदमा ल्याइदियो । पहिले भीरभन्दा केही पर बग्ने नदी पुरानै ठाउँमा फर्केर फेद कटान (टो कटिङ) गरेपछि सडक अडिएको खुकुलो माटो बगेर राजमार्ग भासिन पुगेको हो,’ अध्ययन टोलीका संयोजक डा. मन्दीप सुवेदीले लोकान्तरसँग भने ।

विगतमा माथिल्लो पहिरो नियन्त्रण गरेर स्थिर बनाइए पनि तल्लो भाग (फेद) मा काम नगरिएकाले बाढीले सिधै तल्लो भागमा असर पुर्‍याएको विज्ञ नरेशमान शाक्यको पनि मत छ ।

‘सामान्य अवस्थामा भन्दा यसपटक खोलाको पानीको सतह १० देखि १५ मिटर माथिसम्म पुगेर पहिरोको फेद खियाइदिएकाले जमिन भासिएको हो,’ शाक्यले लोकान्तरसँग भने, ‘यस्ता प्राकृतिक बाढी र विपद्को सामना गर्ने कुनै ठोस सूत्र संसारभर नै नभएकाले हाललाई जोखिम मोलेरै भए पनि अस्थायी उपाय अपनाउनुपरेको हो ।’

पूर्वाधार विकास मन्त्रालयले अहिले गरेको निर्णय पनि जियोटेक्निकल सोसाइटीकै टोलीले गरेको स्थलगत प्रारम्भिक अध्ययनकै आधारमा लिइएको हो ।

टोलीमा डा. मन्दीप सुवेदीको संयोजनमा पूर्व सचिव केशवकुमार शर्मा, सडक विभागका पुकार अधिकारी, कृष्णभीरकै पुराना विज्ञ नरेशमान शाक्य, कालीगण्डकी करिडोरको पहिरो व्यवस्थापनमा अनुभवी कल्पना अधिकारी, सोसाइटीका सदस्य सचिव राजन केसी र बिराज ओझालगायतका प्राविधिकहरू सहभागी थिए ।

नक्सांकनमा'लिडार' प्रविधिको सहारा

अस्थायी मार्ग खन्ने क्रममा पहिरो झर्ने जोखिम कम गर्न अध्ययन टोलीले ड्रोन र अत्याधुनिक 'लिडार' प्रविधिको नक्सांकन प्रयोग गरी कार्यविधि तय गरेको छ ।

पहिरो नियन्त्रण तथा पूर्वाधार अध्ययनका कार्यहरूमा यो 'लिडार' प्रविधि अत्यन्तै उपयोगी मानिन्छ । सामान्य क्यामेरा वा ड्रोनले खिचेको फोटोमा रुख र झाडीका कारण जमिनको वास्तविक सतह स्पष्ट नदेखिने भए तापनि 'लिडार'को लेजर किरण रुखका पात र हाँगाका स-साना छिद्रहरूबाट छिचोलेर जमिनको सतहसम्मै पुग्न सक्छ । यसले गर्दा बाक्लो जंगल वा रुखपातले ढाकिएको ठाउँको पनि जमिनको वास्तविक स्वरूप स्पष्ट रूपमा औंल्याउन सकिन्छ ।

यो प्रविधिले पहिरो गएको पहाडको भिरालोपन, पहिरोको लम्बाइ-चौडाइ र त्यहाँबाट बगेको माटो वा ढुंगाको आयतनको सही जानकारी दिन्छ । साथै, यसको सहयोगले जमिनको कुन भाग कतातिर सर्दैछ वा कति भासिँदैछ भन्ने कुरा पहिल्यै पत्ता लगाउन सकिने हुनाले सम्भावित ठूला दुर्घटनाहरू रोक्न र सुरक्षित पूर्वाधारहरू निर्माण गर्न ठूलो मद्दत पुग्छ ।

यस प्रविधि अन्तर्गत हेलिकप्टर, ड्रोन वा जमिनमै राखिएको उपकरणबाट जमिनतर्फ प्रतिसेकेन्ड लाखौंपटक लेजर किरणहरू पठाइन्छ । ती लेजर किरणहरू जमिन, रुखपात वा अन्य कुनै वस्तुमा ठोक्किएर उपकरणमा रहेका सेन्सरसम्म फिर्ता आउन लाग्ने समयको गणना गरिन्छ । यसरी प्रकाशको गति र किरण फिर्ता आउन लागेको समयको हिसाब गरेर वस्तु वा जमिनको दूरी र उचाइ यकिन गरिन्छ । यस प्रक्रियाबाट प्राप्त भएका लाखौं बिन्दुहरूको तथ्यांकलाई कम्प्युटर सफ्टवेयरको सहायताले डिजिटल ३डी मोडेल वा नक्सामा रूपान्तरण गर्ने गरिन्छ ।

दीर्घकालीन समाधान:'लघु सुरुङ' र नीतिगत सुधार

कृष्णभीरको स्थायी र सुरक्षित समाधानका लागि सुवेदी नेतृत्वको अध्ययन टोलीले ५०० मिटरभन्दा छोटो 'लघु सुरुङ' निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

यस्ता सुरुङमा उज्यालो र हावा आवतजावतको व्यवस्थापन गर्न धेरै खर्च नहुने र निर्माण गर्न पनि सजिलो हुने अध्ययन टोलीका संयोजक सुवेदीले बताए । यसका साथै, जोखिम कम गर्न 'अर्ली वार्निङ सिस्टम' (पूर्व सूचना प्रणाली) जडान गर्नुपर्ने सुझाव समेत टोलीले दिएको छ ।

कृष्णभीर पहिरोको लामो समयसम्म अध्ययन गरेका विज्ञ नरेशमान शाक्यमाथि नै जहिल्यै भर पर्नुपर्ने देशको प्राविधिक परनिर्भरता र नीतिगत कमजोरीलाई अन्त्य गर्न पनि लघु सुरुङको आवश्यकता रहेको सुवेदीको तर्क छ ।

‘एउटा इन्जिनियर नरेशमान शाक्यले आफ्नो जागिरे जीवनको सुरुवातदेखि अवकाशसम्म एउटै पहिरो (कृष्णभीर) को अध्ययन र मर्मतमा समय बिताउनुपर्ने अवस्था देशका लागि राम्रो होइन,’ सुवेदीले लोकान्तरसँग भने,‘त्यसैले कृष्णभीरलाई अब हामीले देशको सडक विकास र सुरुङ मार्गसम्बन्धी नीति नै परिवर्तन गर्ने एउटा प्रस्थानविन्दु बनाउनुपर्छ ।’

मन्त्रालयले कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल (सुरुङ मार्ग), सोइल नेलिङ र सिट पाइललगायतका प्राविधिक विकल्पहरूको आवश्यक अध्ययन गर्ने र चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।

यी विकल्पहरूको विस्तृत अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीका ५० देखि ६० जना विज्ञ तथा प्राविधिकहरूको ठूलो समूह सामूहिक रूपमा यस कार्यमा जुटेको छ ।

सोसाइटीजस्ता व्यावसायिक संस्थाहरूको सहभागिताले व्यक्तिगत रूपमा हुन सक्ने प्राविधिक त्रुटिहरू न्यूनीकरण हुने र सामूहिक निर्णय लिन मद्दत पुग्ने डा. सुवेदीले बताए ।

भदौभित्रै सडक सञ्चालन गर्ने प्रधानमन्त्रीको दाबी र 'भित्तो काट्ने' विभागको हतारोका बीच कृष्णभीरमा सुरक्षाको जोखिम निकै संवेदनशील मोडमा आइपुगेको छ ।

ग्यास बुलेटजस्ता ठूला र विस्फोटक इन्धन बोकेका सवारी साधन चल्न नपाउने र सामान्य वर्षाले पनि माथिल्लो स्थिर पहाड खस्न सक्ने प्राविधिक विश्लेषणले स्पष्ट पार्छ कि– यो अस्थायी मार्ग केवल एउटा जोखिमपूर्ण सम्झौता मात्र हो ।

दीर्घकालीन रूपमा सुरुङ मार्ग वा वैकल्पिक पुल निर्माण नभएसम्म काठमाडौंको आपूर्ति शृंखला सदैव यस्तै अदृश्य र भयावह जोखिमको छायाँमा रहने निश्चित छ ।

पढ्नुहोस्, यो पनि :

कृष्णभीर पहिरो चरम लापरवाहीको परिणाम: भौगर्भिक चेतावनीलाई बेवास्ता, सधैँ टालटुले काम !

कमेन्ट गर्नुहोस्