
भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरेमा कार्यरत कमान्डरसहितका सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बल, नेपाल विचलित नभई आफ्नो कर्तव्यमा डटिरहेको छ ।
भदौ १० गते बिहानको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना र त्रिशुली जलविद्युत आयोजना सुरक्षा बेस मैलुङ्गमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए ।
ड्युटीमा निस्किएका कमान्डर खत्री र दोश्रो कमान्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले तुरुन्त कमान्ड सम्हाली आफ्नो सुरक्षा फौज सुरक्षित गरेका थिए ।
बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो भने अन्य सशस्त्र प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।
बाढी गएको झन्डै २४ घण्टासम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बीओपी मात्र बाँकी रह्यो । जुन टोली करिब २४ घण्टासम्म प्रधान कार्यालयको समेत सम्पर्कमा आउन सकेन । बिजुली र टेलिफोन अवरुद्ध हुँदा समस्या भएको थियो ।
भोलिपल्ट भदौ ११ गते धुन्चेबाट सो क्षेत्रमा बाढी पीडितको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमान्डमा थप टोली पठाइएको थियो । उनीहरूले हालसम्म उक्त क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेका छन् ।
खोजी तथा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरीको टोलीले भदौ १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा एक ६ वर्षीया बालिकालाई जीवित उद्धार गर्न सफल भएको थियो । सो टोलीले बाढी आएको करिब ६० घण्टापछि ती बालिका माटोमुनि रोइरहेको आवाज सुनेपछि तत्काल उत्खनन् गरी उनको जीवितै उद्धार गरेको हो ।
बाढी पहिरोले स्याफ्रुबेशीदेखि रसुवागढी सडकखण्ड लगायतका मुख्य राजमार्गका करिब ४१ भन्दा बढी पुल बगाएको छ भने भौगोलिक विकटता, विद्यु्त आपूर्ती अवरुद्ध भएको छ ।
बाढीमा परी सम्पर्कविहीन भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीले ४२ सय भन्दा बढी कर्मचारी परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्र धादिङको मलेखु र गल्छी, नुवाकोटको देविघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ ए , त्रिशुली हाइड्रो ३ बी , स्याफ्रुबेशी र बोगटीटारमा गरि १२ वटा बेस स्थापना गरी खोज तथा उद्धार कार्यलाई तीब्रता दिएको छ ।
अहिले टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८ सय जना विशेष तालिमप्राप्त टोली उद्धारमा परिचालित छ । जसमा विपद् व्यवस्थापन तालिम प्राप्त करिब ५ सय जना , सीएसएसआर ७०, रोप रेस्क्यु ७०, गोताखोर ३०, उच्च पर्वतीय उद्धार (१०), शव व्यवस्थापन (१५), ड्रोन (५), के९ (५), मेडिकल टिममा ४८० सहित ४२ सय जना भन्दा बढी जनशक्ति परिचालन गरिएको शस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताए ।
यसैगरी उद्धार, राहत र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नुवाकोटमा ७, रसुवामा ४ र धादिङमा २ गरि जम्मा १३ स्थानमा विपद् बेस स्थापना गरिएको छ । विशेषज्ञ टोलीमा रहेको केनाइनले १२, ड्रोन टिमले १९, स्वीफ्ट वाटर रेस्क्यु टिमले १२३ शव फेला पारेको छ ।