
रूपन्देहीको सियारी गाउँपालिकाका युवक करण मल्लाहले ‘नमूना हवाइजहाज’ बनाएर उडाउन सफल भएका छन्। सानैदेखि विभिन्न खोजी गर्न रुचि राख्ने करणले आफ्नै क्षमताले प्राविधिक ‘नमूना हवाइजहाज’ बनाएका हुन्। केही समयअघि १९ वर्षीय करणले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई साथमा राखेर जहाज उडाएपछि उनको चर्चा चुलिएको हो।
जिल्लाको सियारी–७ गोठाहाका मल्लाहले उडाएको हवाइजहाज नेपाल एयरलाइन्सको प्रतिलिपि जस्तै देखिन्छ। तर, जहाजको नाम भने उनले ‘करण एयरलाइन्स’ राखेका छन्।
‘यो नमूना जहाज बनाउन झन्डै ८ महिना लाग्यो। कैयौँपटक बनाउँदै बिग्रँदै गर्दा मात्र यो सम्भव भएको हो,’ करण भन्छन्, ‘सामान किन्न धेरै पैसा चाहिन्थ्यो। तर, साथमा थिएन। यताउता जोडजाड गरेँ।’
जहाजमा ‘मेकानिकल’ र ‘इलेक्ट्रिकल’ प्रविधिको संयोजन गरिएको युवा करण बताउँछन्। आर्थिक अभावका कारण उनले स्थानीय त्रिवेणी आधारभूत स्कुलमा कक्षा ६ सम्म पढेर बीचैमा छाडेका छन्। विपन्न परिवारमा जन्मिएका करण घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरणजस्तै जहाज बनाएपछि उनको खोजी र रुचिको उपयोग हुनुपर्ने चर्चा भइरहेको छ।
उनले जहाजलाई धावनमार्गमा जस्तै स्पिडले दौडाएर उडाएपछि २ किलोमिटर परसम्म आकाशमा फर्को मारेर ‘रिमोट कन्ट्रोल’ बाट पुन: जहाजलाई कालोपत्रे सडकमा ल्यान्ड गराउँछन्। जहाज बनाउन उनले थर्मकोल, ब्याट्री, मोटर, रिमोट, डिजिटल रिमोट, फल्याक्स आई सिक्सलगायत उपकरण प्रयोग गरेका छन्। उनले जहाजमा प्रयोग गरिएको इन्जिन भारतको जयपुर पुगेर आफैँ किनेर ल्याएका थिए। ११.९ भोल्टका दुइटा ब्याट्री र ब्रसलेसका दुइटा मोटर पनि प्रयोग गरेको करणले सुनाए।

करणले विगतमा पनि कार, पानीजहाजलगायत अन्य नमूना उपकरण बनाइसकेका छन्। विभिन्न खोज गरिरहने करणको घरको कोठा सामानले भरिएको छ। ‘छोराको सानैदेखि वैज्ञानिक सामग्री बनाउनेमा चाख थियो,’ बुबा रामअजोर मल्लाह भन्छन्, ‘शुरुमा रातिसम्म बसेर जोडजाड गर्ने, बनाउने गथ्यो। त्यो बेला गाली गरिन्थ्यो। अहिले जहाज बनाएर सबैलाई चकित पार्ने गरी देखाएपछि खुसी लाग्यो।’
शुरु-शुरुमा आमाबुबाले गाली गरे पनि अहिले करणले परिवारको पूर्ण साथ र सहयोग पाएका छन्। ‘आर्थिक सहयोग हुने हो भने अझ धेरै ठूला-ठूला उपकरण बनाउन सक्ने थिए जस्तो लाग्छ,’ करण भन्छन्, ‘यो हवाइजहाज बनाउन ८० हजार खर्च भएको छ। त्यसमा आफ्नो मेहनतको कुनै गणना छैन।’
उनको क्षमता देखेर गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए पनि अहिलेसम्म रकम पाएका छैनन्। ‘एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य होइन,’ छिमेकी विनोदकुमार साहनी भन्छन्, ‘हौसला र आर्थिक स्रोत हुने हो भने दुनियाँलाई छक्क पारेर देखाउने क्षमता रहेछ। उनले हामी सबैका अगाडि हवाइजहाजलगायत विभिन्न उपकरण निर्माण गरी परीक्षण गरेर पनि देखाएका छन्।’

करणका परिवारले केही सामान बिक्री गरेर भए पनि उपकरण बनाउन सहयोग गरेको बुबा रामअजोरको भनाइ छ। विभिन्न क्षेत्रमा हुने खर्च बचाएर केही रुपैयाँ पैसा बचत गरी छोराको चाहना परिवारले पूरा गरिदिँदै आएका छन्। सानैदेखि घरमा विभिन्न विद्युतीय उपकरण खोजखाज गर्ने, हेर्ने, बिगार्ने र बनाउने उनको स्वभाव थियो। नयाँ किनेर ल्याएका रेडियो, टर्चलाइट र मोबाइल उपकरण सबै बिगार्ने र बनाउनमा उनले रुचि राख्थे। ‘असाध्यै चुलबुले र तेज दिमागवाला थियो,’ छोराको बाल्यकाल सम्झँदै आमा भन्छिन्, ‘दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पार्थ्यो।’ तर, अहिले हवाइजहाजसमेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुसी छन्।
उनका बुबाआमा छोराले राम्रोसँग पढ्दै आफ्नो खोजी अघि बढाओस् भन्ने चाहन्छन्। तर, आर्थिक अभावले स्कुल छाड्नुपरेको करण बताउँछन्। गाउँमा परिवारको थोरै मात्र जग्गा छ। उक्त जग्गामा सामान्य घर बनाएर परिवार बसेको छ। बुबाआमाले कृषिसँगै दैनिक ज्यालादारी मजदुरी गर्दै आएर परिवार चलाउँछन्। त्यसमा करण आफूले पनि बुबाआमालाई सघाउँछन्। आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पुर्याउन सकेका छैनन्। पछिल्लो समय हरेक क्षेत्रमा विज्ञानको सिकाइ आवश्यक रहेकाले सबै विद्यार्थीलाई त्यसतर्फ लाग्न विद्यालय तहबाट नै प्रेरित गर्नुपर्ने देखिन्छ। करण राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर आफ्नो क्षमता देखाउने चाहना राखेका छन्। आफूजस्ता प्रतिभा भएकालाई वर्तमान सरकार र मन्त्री पुनको साथ पाइने करणले आशा राखेका छन्।