
जय नेपाल पार्टीले विभिन्न राजनीतिक दल, अभियान तथा स्वतन्त्र व्यक्तिसँग एकता वार्ता तीव्र बनाएको छ। पार्टीले विभिन्न तहमा एकता र सहकार्यका लागि छलफल अघि बढाइरहेको जनाएको छ।
जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिका संयोजक नारायण कोइरालाका अनुसार हाल दशवटा राजनीतिक दल तथा अभियानसँग एकताको प्रयास भइरहेको छ। ती दल तथा अभियानसँग विभिन्न चरणमा वार्ता जारी रहेको उनले बताए।
यसै क्रममा निर्वाचन आयोगमा दल दर्ता कायम रहेको राष्ट्रिय एकता मञ्च भदौ १७ गते जय नेपाल पार्टीमा समायोजन भएको छ। सोही दिन जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्र लाल जोशीसहित पदाधिकारीलाई पार्टीमा स्वागत गरेका थिए। राष्ट्रिय एकता मञ्चमा काठमाडौंका रैथानेहरूको बाहुल्य रहेको बताइन्छ।
वार्ता समितिमा नारायण कोइरालासहित अन्जना शाह रावल, सुरेश आचार्य, प्रज्जवल बोहरा र होमनाथ गौतम सदस्य छन्।
यसका अतिरिक्त कुनै राजनीतिक दल वा अभियानमा संस्थागत तथा समूहगत रूपमा संलग्न नभएका स्वतन्त्र व्यक्तिसँग पनि जय नेपाल पार्टीले वार्ता र एकताको प्रयास अघि बढाएको छ। विभिन्न चरण र तहमा त्यस्ता व्यक्तिसँग वार्ता जारी रहेको वार्ता टोलीका संयोजक धनसुर शाहीले बताए।
उक्त वार्ता समितिमा इश्वरी प्रसाद भट्टराई, केदार बहादुर धमला, मिना शाही, ठमान सिंह तामाङ र सिवाङुगीनी राणा सदस्य छन्।
जय नेपाल पार्टीले आन्तरिक पार्टी व्यवस्थापनलाई ध्यानमा राख्दै केन्द्रीय सदस्यहरूको वरियताक्रम निर्धारण गर्न मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको छ।
समितिको संयोजकमा सुरेश आचार्य छन् भने सदस्यमा मिना शाही, नानी मैयाँ आचार्य, धनसुर शाही र प्रज्जवल बोहरा छन्।