२६ असोज २०८३, सोमबार
रसुवा बाढी

विद्युत् आयोजनाका ९३३ जना अझै सम्पर्कविहीन, अन्य सुरुङमा कसरी हुँदैछ उद्धार प्रयास ?

भदौ २१, २०८३
काठमाडौं

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा अर्बौंको क्षति पुर्‍यायो ।

भौतिक क्षतिसँगै मानवीय क्षतिको अझ डरलाग्दो अवस्था छ । १२ वटा जलविद्युत् अयोजनामध्ये ११ वटा पूर्णरूपमा क्षति भएका छन् ।

जटिल भूगोल र जोखिमपूर्ण अवस्थाबीच जलविद्युत् अयोजनाको सुरुङभित्र फसेकाको उद्धार अहिले पनि जारी छ । त्रिशुली थ्री एबाट गत शुक्रबार दुईजनाको जीवितै उद्धार भएपछि सुरुङभित्र अरू पनि जीवित हुन सक्ने आशंका गरिएको छ ।

सुरुङभित्र अझै कतिजना फसेका छन् भन्ने यकिन हुन नसकेकाले खोजी तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बाढी आएको आइतबार १२ औँ दिन बितिसक्दा पनि जलविद्युत् क्षेत्रसँग सम्बद्धमात्रै ९३३ जना व्यक्तिहरू अझै सम्पर्कविहीन रहेका छन् ।

ऊर्जा मन्त्रालय र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले दिएको विवरण अनुसार बाढीबाट ८ वटा सञ्चालनमा रहेका (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन (३८८ मेगावाट) गरी कुल १२ वटा आयोजनामध्ये ११ वटामा प्रत्यक्ष क्षति पुगेको छ ।

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनामा कार्यरत १ हजार ४३३ जनशक्तिमध्ये ५४८ जना अझै सम्पर्कविहीन छन् । हराइरहेकाहरूमा ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक पनि छन् ।

null

हालसम्म ८७८ जनाको सकुशल उद्धार गरिएको छ । उक्त आयोजनाबाट शनिबार बाढी आएको ११ औं दिनको दिन एक चिनियाँ नागरिकको उद्धार गरिएको थियो ।

आयोजनाको डिसेन्डर बेसिनको डाउन साइटमा दुईवटा शव फेला परेको छ । अहिले उद्धारका लागि नेपाली सेनासँगै कोरियन टोली, शेर्पा, ड्रोन टोली र तालिमप्राप्त कुकुरहरू समेत परिचालित छन् ।

रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) आयोजनाको विद्युतगृह बाढीले ल्याएको लेदोले पूर्ण रूपमा भरिएको छ ।

विद्युत गृहभित्र ४ देखि १४ जनासम्म फसेको हुनसक्ने आशंका गरिए पनि हालसम्म एक जनाको पनि उद्धार हुनसकेको छैन । उक्त आयोजनामा कार्यरत ९३ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।

शनिबार नेपाली सेना र भूगर्भविद्सहितको टोली हेलिकप्टरमार्फत पुगेर निरीक्षण गर्दा विद्युत् गृहको कन्ट्रोल रूम लेदोले पुरिएको र पानीको सतह ईओटी क्रेनभन्दा माथि पुगेको पाइएको थियो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार चिलिमे जलविद्युत् केन्द्रको विद्युत गृहमा फसेकाहरूको उद्धारका लागि २१ जना नेपाली र भारतीय सेनाको टोलीले म्यानुअल रूपमा लेदो हटाउने काम गरिरहेका छन् ।

विद्युत् गृह पुग्ने २५० मिटर लामो पहुँच सुरुङमध्ये हालसम्म करिब १०० मिटर मात्र सफा गर्न सकिएको निर्देशनालयले जनाएको छ ।

मशिन पुर्‍याउन नसकिएका कारण उद्धारमा समस्या आएको छ । चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको आशंका छ । तर, साइट कार्यालयका कार्यरत ७१ जना सुरक्षित रहेको आयोजनाले जनाएको छ ।

३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनाका १९१ जना कामदार अझै सम्पर्कविहीन छन् । २३ जनाको सकुशल उद्धार गरिएको छ । ३ वटा साना एक्साभेटरले ४ मिटर गहिराइसम्म खन्दा पनि अझै कुनै ठोस संकेत फेला पर्न सकेको सेनाले जनाएको छ ।

null

२० मेगावाटको परीक्षण सञ्चालन गर्ने तयारीमा रहेको लाङटाङ खोला आयोजनाका अझै ३९ जना सम्पर्कविहीन छन् भने ११ जनाको उद्धार गरिएको छ ।

६० मेगावाटको सञ्चालनमा रहेको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनामा ३९ जना सम्पर्कविहीन छन् ।

२४ मेगावाटको सञ्चालनमा रहेको त्रिशूली जलविद्युत् केन्द्रमा २ जना सुरक्षागार्ड र १ जना कर्मचारी गरी ३ जना सम्पर्कविहीन छन् । उक्त आयोजनामा कार्यरत ७० जनाको सकुशल उद्धार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

रसुवा–भोटेकोशी जलविद्युत् आयोजना (१२० मेगावाट)मा अझै ४ जना बेपत्ता, ५ जनाको उद्धार भएको छ ।

मैलुङ खोला जलविद्युत् आयोजना (५ मेगावाट) मा ७ जनाको अवस्था अझै अज्ञात छ । मिडल त्रिशुली गंगा जलविद्युत् आयोजना (१५.६ मेगावाट) मा  २ जना सम्पर्कविहीन छन् भने १ जनाको उद्धार भएको छ ।

सुरुङ र हेडवर्क्स क्षेत्रमा कार्यरत कर्मचारीहरूको खोजी कार्यलाई सेनासहितको विज्ञ टोलीले तीव्रता दिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार रसुवागढी आयोजनाको पावर हाउसको छैटौँ तलामा पुगेर सर्च गर्दा कोही पनि फेला परेका छैनन् । सुरुङको पावर हाउसको पाँचौ तलासम्म लेदोले भरिएको अवस्था छ ।

त्रिशुली थ्री एमा सुरुङभित्र फेसेकाहरूको उद्धारका लागि सेनाका ७५ जना, सशस्त्र प्रहरी बलका १८ जना , प्रहरी र विज्ञ टोलीले संयुक्त उद्धार कार्य जारी राखेका छन् ।

त्रिशुली ३ बीमा सेनाका ८९ जना, तीन जना गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको उद्धार टोलीले खोजी कार्य गरिरहेको सैनिक निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता एवं सहायरथी राजाराम बस्नेतका अनुसार चिलिमे हाइड्रोमा विदेशसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र मडपम्पको सहायताले सुरुङभित्र भरिएको लेदो फाल्ने काम भइरहेको छ । उद्धारटोली एक सय पाँच भिटर अगाडि पुगिसकेका छन् । सो सुरुङमा ६ जना फसिरहेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने र सागर ढकाल पनि रसुवा पुगेका छन् ।

माथिल्लो त्रिशुली १ को हाकुस्थित टनेलको २५० मिटर भित्रबाट विदेशीसहितको संयुक्त उद्धार टोलीले शनिबारै एकजना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिसकेको छ । त्यहाँबाट दुईवटा शव समेत उद्धार टोलीले बाहिर निकालेको जानकारी सहायकरथी बस्नेतले दिए । उनका अनुसार टनेलमा रहेको लेदो हटाउँदै उद्धार टोली अगाडि बढिरहेको छ । उनले भने, ‘प्रविधिको सहायतामा प्राविधिक टोलीले आफ्नो स्किलले भ्याएसम्म खोज तथा उद्धार प्रयास गरिरहेको छ ।’

कुन आयोजनाका कति सम्पर्कविहीन ?

माथिल्लो त्रिशुली ३ ए – ४० जना

त्रिशुली जलविद्युत केन्द्र – ३ जना

माथिल्लो त्रिशुली ३ बी – २११ जना

रसुवागढी हाइड्रो पावर – ९३ जना

चिलिमे जलविद्युत् कम्पनी – ८ जना

त्रिशुली ३ बी हब सबस्टेसन – १६ जना

रसुवा वितरण केन्द्र – १ जना

चिलिमे त्रिशुली प्रसारण लाइन आयोजना – २ जना

देवीघाट जलविद्युत आयोजना – १ जना)

कमेन्ट गर्नुहोस्