२६ असोज २०८३, सोमबार

हत्याका आरोपीलाई गुजरात प्रहरीले डोरीले बाँधेर सार्वजनिक रूपमा कुटपिट गरेको आरोप

भदौ २१, २०८३
काठमाडौं
हत्याका आरोपीलाई गुजरात प्रहरीले डोरीले बाँधेर सार्वजनिक रूपमा कुटपिट गरेको आरोप

भारतको गुजरातस्थित भावनगरमा हत्या आरोपमा पक्राउ परेका २० वर्षीय युवकलाई प्रहरीले डोरीले बाँधेर सार्वजनिक रूपमा कुटपिट गरेको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा आरोपी फैजल उर्फ खत्की रफिक लखानीलाई भावनगरस्थित जीएसआरटीसी बस स्ट्यान्डमा डोरीले बाँधेर प्रहरीको गाडी, पिलर तथा भित्तामा अड्याउँदै लाठीले कुटपिट गरेको देखिन्छ ।

भावनगर प्रहरीले ४० वर्षीया काजलको हत्या आरोपमा लखानीलाई सेप्टेम्बर ४ (भदौ १९ गते) मा पक्राउ गरेको थियो। उनीहरू बस स्ट्यान्डबाहिर सडकमा सँगै बस्दै आएका थिए ।

सेप्टेम्बर ३ मा लखानीले काजल र उनीहरूका साझा साथी रवि उर्फ बोडा राजेन्द्र गोहेललाई बस स्ट्यान्डको मुख्य गेटमा कुटपिट गरेको आरोप छ । भारतको चर्चित मिडियादि इन्डियन एक्सप्रेसले पनि यस सम्बन्धी समाचारलेखेको छ ।

आफू अर्को मुद्दामा जेलमा रहेका बेला काजल र रविबीच प्रेम सम्बन्ध रहेको आरोप लगाउँदै उनले कुटपिट गरेको बताइएको छ। घटनाको दृश्य सीसीटीभीमा समेत कैद भएको थियो । काजललाई अस्पताल पुर्‍याइए पनि सोही रात चिकित्सकले मृत घोषणा गरेका थिए ।

लखानीलाई सार्वजनिक रूपमा कुटपिट गरिएको भिडियोबारे नीलामबाग प्रहरी थानाका प्रहरी निरीक्षक डीपी उनाडकटले पनि पुष्टि गरेका छन् ।

'हामीले यसो गरेका हौँ, किनभने यो दुर्लभ घटना हो,' उनले भने ।

उनाडकटले लखानी कुनै गिरोहका सदस्य नभए पनि उपद्रव गर्ने बानी रहेको बताए। सार्वजनिक रूपमा कुटपिट गर्दा अपराधीमा प्रहरीप्रति डर पैदा हुने उनको दाबी थियो ।

घटनापछि अदालतमा पेस गरिएका लखानीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेन। उनलाई न्यायिक हिरासतमा पठाइएको उनाडकटले बताए ।

उनाडकटका अनुसार लखानीविरुद्ध यसअघि अपहरण, प्रहरीमाथि आक्रमण र लुटपाटलगायत ६ वटा मुद्दा छन्। तीमध्ये तीनवटा नीलामबाग र तीनवटा वर्तेज प्रहरी थानामा दर्ता भएका छन् ।

यस घटनाको एक साताअघि, अगस्ट २९ मा पोरबन्दर प्रहरीले दुई जनालाई डोरीले बाँधेर विसावाडा गाउँमा घुमाउँदै स्थानीयसँग माफी माग्न लगाएको आरोप लागेको थियो ।

गुजरातका प्रहरी महानिर्देशक केएलएन रावले मे १२ मा प्रहरी अधिकारीलाई पत्र पठाउँदै आरोपीलाई हतकडी लगाउने, डोरीले बाँध्ने र सार्वजनिक रूपमा घुमाउने कार्य स्थापित प्रक्रियाविपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएका थिए । यस्तो व्यवहारले गुजरात प्रहरीको छवि धुमिल पार्ने उनको भनाइ थियो ।

लखानीलाई सार्वजनिक रूपमा कुटपिट गरेको घटनामा पिपुल्स युनियन फर सिभिल लिबर्टिज (पीयूसीएल), गुजरातले नीलामबाग प्रहरी निरीक्षक उनाडकटसहित संलग्न प्रहरीमाथि कारबाही माग गर्दै गुजरातका मुख्यसचिव, गृह मन्त्रालयका अतिरिक्त मुख्यसचिव, प्रहरी महानिर्देशक र भावनगर प्रहरी प्रमुखलाई कानुनी नोटिस पठाएको छ ।

हेर्नुहोस्, भिडियो :

कमेन्ट गर्नुहोस्