
गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई दुई महिना पनि नपुग्दै मन्त्रालयमा फिर्ता बोलाएको छ ।
उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । परियारको सरुवा भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले पुष्टि गरे । उनको सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको उनको भनाइ छ ।
बाढीपछि सिर्जना भएको विपद् व्यवस्थापन, खोज, उद्धार तथा राहत वितरणमा जिल्ला प्रशासन कार्यालय प्रभावकारी हुन नसकेको आरोपमा गृह मन्त्रालयले सीडीओ परियारलाई फिर्ता बोलाएको भन्ने लोकान्तरको जिज्ञासामा सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले त्यसको खण्डन गरे ।
उनले यो कर्मचारी प्रशासनको नियमित सरुवा प्रक्रिया मात्र भएको जिकिर गरे । कर्मचारीको सरुवा कहिलेकाहीँ १०/१५ दिनमै पनि हुन सक्ने उल्लेख गर्दै उनले यो नेपाल सरकार र गृह मन्त्रालयको नितान्त आफ्नै निर्णय भएको बताए ।
कार्यसम्पादन सबल वा दुर्बल भएको भन्ने विषयमा गृह मन्त्रालयसँगै सोध्नुपर्ने र मन्त्रालयले नै कुनै आधिकारिक कारण नखुलाएको अवस्थामा यसलाई कार्यसम्पादनसँग जोडेर हल्ला फैलाउनु उचित नहुने उनको भनाइ छ ।
परियार आइतबार जिल्लामै रहे पनि भोलि सोमबार रमाना लिएर मन्त्रालय जाने उनले बताए ।
यसैगरी, नवनियुक्त प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे पनि भोलिसम्ममा रसुवा आइपुगेर आफ्नो कार्यभार सम्हाल्ने सहायक प्रजिअ अधिकारीले बताए ।