
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ बाटै शुरूआत नहुने पक्का भएको छ ।
आइतबार ललितपुरको सानेपास्थित मुख्य कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडा अधिवेशन सार्ने निर्णय गरेको हो । वडा अधिवेशनको नयाँ मिति तय गर्ने अधिकार भने केन्द्रीय निर्वाचन समितिलाई दिइएको छ। 'अब नयाँ मिति आउने भयो । जसको सम्पूर्ण अधिकार हामीले निर्वाचन समितिलाई दिने निर्णय गरेका छौं,' सहमहामन्त्री योगेन्द्र चौधरीले लोकान्तरसँग भने ।
उनले केन्द्रीय महाधिवेशनको मिति भने तलमाथि नगरिने बताए ।
नयाँ मितिको विषय चौधरीले बताउन नचाहे पनि सम्भवतः असोज २ बाट वडा अधिवेशन गर्ने तयारीमा कांग्रेस पुगेको छ । विशेषगरी पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेल असोज २ बाट अधिवेशन गर्ने मनस्थितिमा रहेका स्रोतको दाबी छ ।
विशेषगरी पार्टी मिलाउन भन्दै १५औँ महाधिवेशनको मिति सारिएको हो । सभापति गगन थापाले असन्तुष्ट नेताहरू पूर्णबहादुर खड्कासँग शनिबार र शेखर कोइरालासँग आइतबार संवाद गरेपश्चात् महाधिवेशनको मिति सार्ने निर्णयमा नेताहरू लचिलो भएका हुन् ।
'महाधिवेशनको मिति सारेर भए पनि सहमति खोज्नुपर्छ भनेर शेखर दाइले भन्नुभयो,' शेखर निकट स्रोतले गगन–शेखर भेटबारे लोकान्तरसँग भन्यो, 'गगन दाइले पनि अधिवेशनको मिति केही सारेर भए पनि सहमति खोज्छु भन्नुभयो ।'
सोही संवादपश्चात् सानेपामा बसेको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको बुझिएको छ । महाधिवेशनको मिति सारेर संवाद गर्दा केही असन्तुष्ट नेताहरू बाहेक धेरै नेता कार्यकर्ता पार्टी मूलधारमा फर्कने विश्वास संस्थापन समूहलाई छ ।
आइतबार मात्र कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा संस्थापन इतर नेता रमेश लेखकले पनि पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका थिए । उनले पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अहिले पनि पार्टी मिलाउने सम्भावना रहेको बताए । 'अहिले पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,' लेखकको भनाइ थियो ।
यसैकारण पनि महाधिवेशनको मितिमा हेरफेर गरेर सहमति गर्न सकिने विश्वासमा आजको बैठक पुगेको सहमहामन्त्री चौधरीले बताए ।

पुससम्म क्रियाशील नवीकरण गरेकाहरूले महाधिवेशनमा भाग लिन पाउने
कार्यसम्पादन समितिको आजको बैठकले अर्को पनि महत्त्वपूर्ण निर्णय गरेको छ । पार्टी मिलानका लागि भन्दै कांग्रेसले गएको पुससम्म क्रियाशील नवीकरण गरेका तर, डिजिटल रूपमा अद्यावधिक नगरेकाहरूलाई महाधिवेशनमा भाग लिन पाउने बाटो खुला गरेको छ ।
यसरी पुससम्म क्रियाशील नवीकरण गरेकाहरूले पार्टी छाडेर गएका, मृत्युवरण गरेकालगायत अन्य समस्याहरू देखा परेका बाहेक सबैले महाधिवेशनमा भाग लिन पाउने निर्णयमा कांग्रेस पुगेको हो ।
त्यस समयमा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीमा गगन थापा थिए । थापाकै नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति रहेको थियो ।
सहमहामन्त्री चौधरीका अनुसार पार्टीले यस निर्णयले पार्टी एकतामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थापन पक्षले लिएको छ । किनभने पुरानो क्रियाशील नवीकरण गरेकाहरूले अद्यावधिक नगर्ने अडान कस्दै आएका थिए । उनीहरू डिजिटल हुन नचाहे पनि यसपटकका लागि महाधिवेशनमा भाग लिन भने पाउने भएका छन् ।
'यो उहाँहरूको इगोको विषय थियो । तल गएर अद्यावधिक गर्दिनँ भन्नुभएको थियो,' चौधरीले थपे, 'यसलाई सहज बनाइदिने अवस्थामा हामी पुगेका छौं । पुससम्म नवीकरण गर्नुभएकाहरूले डिजिटल अद्यावधिक नगरे पनि आसन्न महाधिवेशनमा भाग लिनबाट वञ्चित नहुने हामीले सुनिश्चित गरेका हौं ।'
पालिका र प्रदेशसभा क्षेत्रीय सभापतिहरूको महाधिवेशन प्रतिनिधिको विषयमा छलफल
आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विधानको व्यवस्थाबारे पनि गहन छलफल भएको अर्का एक पदाधिकारीले लोकान्तरलाई बताए । जसमा पालिका सभापतिहरूको व्यवस्थापनबारे प्रश्नहरू उठेका छन् ।
विशेष महाधिवेशनबाट संशोधित विधानले पालिका सभापतिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरेको छ । आजको बैठकमा यस विषयमा पनि छलफल भएको ती पदाधिकारीको भनाइ छ ।
'कतिपय साथीहरूले महाधिवेशन प्रतिनिधिहरूको आकारलाई लिएर प्रश्न उठाउनुभयो । व्यवस्थापनको पाटोबाट पनि छलफल भयो,' ती पदाधिकारीले भने, 'कतिपयले भने यसलाई सकारात्मक लिनुभएको छ । समग्रमा दुवै पक्षबाट केही कुरा आएका छन् ।'
बैठकमा सहभागीहरूले पालिका सभापतिहरू महाधिवेशन प्रतिनिधि हुँदा प्रदेशसभा क्षेत्रीय सभापतिहरूलाई किन महाधिवेशन प्रतिनिधि नबनाउने भन्दै प्रश्न गरेका थिए । जवाफमा सभापति थापाले 'विधानमा लेख्ने बेला छुटेको भन्दै' प्रदेशसभा क्षेत्रीय सभापतिहरू पनि पालिका सभापतिहरू जस्तै 'स्वतः महाधिवेशन प्रतिनिधि बनाइने' जानकारी गराएका थिए ।
यसबाहेक बैठकमा बोल्ने नेताहरूले पार्टी विवादलाई मिलाउनुपर्ने भन्दै धारणा राखेका अर्का पदाधिकारीले बताए । तर बैठकमा सभापति थापाले भने पार्टी विवाद मिलाउन आफू गम्भीर र जिम्मेवार भएको भन्दै सबैसँग संवादमा रहेको जानकारी दिएका थिए । उनले शनिबार पूर्णबहादुर खड्का र आइतबार डा. शेखर कोइरालासँग भएको संवादको ब्रिफिङ भने नगरेका लोकान्तरले सम्पर्क गरेका ५ जना पदाधिकारीले दाबी गरे ।
'यतिमात्र भन्नुभयो कि म जिम्मेवार र गम्भीर भएर उहाँहरूसँग संवाद गरिरहेकै छु । पार्टी मिलाउन लागेकै छु,' एक पदाधिकारीको दाबी छ ।
आइतबारको बैठकको शुरूआतमै रसुवा बाढीपहिरो र त्यसबाट भएको क्षतिबारे छलफल भएको थियो । त्यसपश्चात् पार्टीको आन्तरिक जीवनबारे छलफल भएको थियो ।
आजको बैठकमा सह–महामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामा, नेताहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, मोहन आचार्य, प्राडा गोविन्दराज पोखरेल, भरतकुमार शाह, सुधीरकुमार शिवाकोटीका साथै प्रदेश सभापतिहरू ईन्द्रबहादुर बानियाँ (बागमती प्रदेश) र ललितजंग शाही (कर्णाली प्रदेश)ले धारणा राखेका थिए ।
आइतबार बैठक नसकिएकाले सोमबार दिउँसो १ बजेबाट पुनः बैठक बस्ने गरी स्थगन गरिएको छ ।