२६ असोज २०८३, सोमबार
कांग्रेस विवाद मिलाउन जोडबल

पूर्णबहादुर र शेखरलाई तान्न गगनको अन्तिम प्रयास !

भदौ २२, २०८३
काठमाडौं
पूर्णबहादुर र शेखरलाई तान्न गगनको अन्तिम प्रयास !

दुई दिनपश्चात् शुरू गर्नुपर्ने वडा अधिवेशनको मिति अनिश्चित पारेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र आन्तरिक एकताको अन्तिम गृहकार्य शुरू भएको छ ।

पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वडा अधिवेशनको नयाँ मिति तोक्ने जिम्मेवारी केन्द्रीय निर्वाचन समितिलाई दिएको छ ।

शनिबार साँझ पार्टी नेता पूर्णबहादुर खड्का र आइतबार मध्याह्न नेता शेखर कोइरालासँग पार्टी सभापति गगनकुमार थापाले संवाद गरेपश्चात् वडा महाधिवेशनको मिति धकेलिएको हो ।

पार्टी सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार पार्टीको बृहत्तर र आन्तरिक एकताका लागि सभापति थापाले तीन दिनअगावै अर्थात् आइतबार नै १५औँ महाधिवेशनको मिति स्थगन गरेर पार्टी एकताका लागि अपनत्व लिएका हुन् ।

‘सभापतिज्यूले कार्यसम्पादन समिति बैठकमा म पार्टी मिलाउन जिम्मेवार र गम्भीर छु भनेर भन्नुभयो‚’ चौधरीले लोकान्तरसँग भने‚ ‘पार्टीमा एकता कायम गर्न र सबैलाई एक ठाउँमा ल्याउन सभापतिज्यू संवादमै हुनुहुन्छ ।’

एक वर्षअघि अर्थात् २३ र २४ भदौमा भएको जेनजी विद्रोहपश्चात् कांग्रेसभित्र किचलो छ । गएको पुस अन्तिममा विशेष महाधिवेशन गर्दै पार्टी नेतृत्वमा गगन थापा स्थापित भएपश्चात् कांग्रेसभित्र आधिकारिक द्वन्द्व सतहमा देखिएको हो । त्यसपश्चात् आधिकारिकता विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्यो । अर्धन्यायिक निकाय निर्वाचन आयोग र सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधता दिएका थिए।

त्यसपश्चात् पछिल्लो समय सर्वोच्चले नै ‘मुद्दा दोहोर्‍याएर हेर्ने’ भनेपश्चात् पार्टी आधिकारिकता विवादले निकास पाएको छैन । संस्थापन पक्षले असोज १९ भित्र पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याएको छ । इतर तथा असन्तुष्ट समूहले भने असोज १५ बाट वडा अधिवेशन गरेर मंसिर २३ गते केन्द्रीय महाधिवेशन सक्ने गरी कार्यतालिका ल्याएको छ । अर्थात्, पार्टीभित्र अहिले दुईवटा महाधिवेशन कार्यतालिका छन् । दुवै समूह महाधिवेशन गर्ने भन्दै तम्सिएका छन् । इतर समूहको नेतृत्व पूर्वमहामन्त्री शशांक कोइरालाले गरिरहेका छन् ।

दुई महाधिवेशनको कार्यतालिका‚ फरक-फरक पार्टी केन्द्रित गतिविधि लगायतका कारणले नेपाली कांग्रेस आधिकारिक विभाजनकै स्थितिमा पुगेको छ । आइतबार मात्र आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर पुगेर इतर समूहका नेता रमेश लेखकले दुवै महाधिवेशनको कार्यतालिका रोक्न नसके पार्टी विभाजन हुने बताएका थिए ।

उनले गगन थापालाई सभापति मान्न तयार भए पनि आफूहरूले उठाएका केही मागहरूको सम्बोधन हुनैपर्ने धारणा राखेका थिए । आइतबार मध्याह्न गगन-शेखरको भेटमा पनि सभापति थापालाई नेता शेखर कोइरालाले महाधिवेशनको मिति सारेर पार्टी एकताको सूत्र खोज्न भनेका थिए । उक्त छलफलमा गगनले पार्टीलाई एक बनाउन आफूले प्रयास गरिरहेको भन्ने जवाफ दिएका थिए ।

null

शेखर-पूर्णबहादुरलाई तान्ने प्रयास

विकसित पछिल्ला घटनाक्रमको विश्लेषण गर्दा पार्टी संस्थापन पक्ष ‘आन्तरिक एकताका लागि केही लचिलो’ जस्तो देखिएको छ । अधिवेशनको मिति पर सार्ने मात्र होइन, पार्टीमा अन्य निर्णय गर्दै शेखर-पूर्णबहादुर समूहलाई तान्ने प्रयासमा संस्थापन पक्ष लागेको छ ।

पार्टीको आइतबारको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा पनि केही लचिलो निर्णय गर्‍यो । डिजिटल रूपमा अद्यावधिक नगरे महाधिवेशनमा भाग लिन नदिने अडानबाट पार्टी नेतृत्व पछि हटेको छ । बैठकले गएको पुससम्म सदस्यता नवीकरण गरेकाहरूलाई महाधिवेशन प्रक्रियामा भाग लिन दिने निर्णय गरेको छ । उक्त समयमा वर्तमान सभापति थापा महामन्त्री थिए । उनकै संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति क्रियाशील भएर काम गरिरहेको थियो भने सभापतिमा शेरबहादुर देउवा रहेका थिए । अहिले थापा नेतृत्वकै समितिमा नवीकरण भएर आएका क्रियाशील सदस्यहरूलाई डिजिटल रूपमा अद्यावधिक नगरे पनि आसन्न महाधिवेशनमा भाग लिन दिने निर्णय भएको हो ।

‘आइतबारको बैठकले धेरै कुरा सहमतिका लागि बाटो खोलेको छ । ७ बुँदे हामी चुनदेवीमा भएका सबै मिलेर बनाएको साझा धारणा हो‚’ पूर्णबहादुर समूहका नेता श्याम घिमिरेले भने‚ ‘यदि गगनजीहरूले साँच्चै त्यो आधिकारिक निर्णय गर्नुहुन्छ भने चुनदेवीमा भएका हामी नैतिक रूपमा पनि सबै विषय मान्न बाध्य हुन्छौं ।’

‘हामीले असन्तुष्ट साथीहरूलाई मिलाउन तथा सिनियर नेताहरूलाई पनि साथै लिएर हिँड्न क्रियाशील सदस्यताको विषयमा यस्तो निर्णय गरेका हौं‚’ पार्टी महामन्त्री गुरुराज घिमिरेले लोकान्तरसँग भने ।

आइतबार नेता शेखरसँगको भेटमा सभापति थापाले पार्टी समस्यामा पर्न नदिन आफू जिम्मेवार रहेको बताएका थिए । उनले सबैलाई पार्टी मूलधारमा आउन र १५औँ महाधिवेशनलाई सफल बनाउन आह्वान गरेका थिए । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार भेटघाटका क्रममा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । उक्त अवसरमा डा. शेखरले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको बताएका थिए । उनले पार्टी मिलाउन आफ्नो तर्फबाट जे-जति त्याग गर्न पनि आफू तयार रहेको प्रस्ट पारेका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए ।

त्यसअघि सोही दिन बिहान निवास पुगेका नेताहरू बद्री पाण्डे‚ जीवन परियार‚ डा. गोविन्द पोखरेल र सरिता प्रसाईंसँग पनि शेखरले संवाद गरेका थिए । शेखरले आफू पार्टी मिलाउन र मिल्न सकारात्मक एवं आशावादी भएको भन्दै धेरै समस्या नमान्न नेताहरूलाई निर्देशन दिएको सहभागी एक नेताले बताए । सो क्रममा पार्टी मिलाउने सम्पूर्ण जिम्मेवारी सभापतिको हैसियतमा गगनको भएको भन्दै शेखरले भनेका थिए– ‘समस्या पूर्णजी र मसँग होइन । शेरबहादुरजीलाई उचित स्थान दिनुपर्छ । उहाँ अब सभापति बन्ने होइन । बिदा राम्ररी गर्नुपर्छ ।’

एकताका लागि ‘बाध्य बन्दैछन् पूर्णबहादुर !’

असन्तुष्ट समूहले साउन अन्तिममा काठमाडौंको सुकेधारामा आयोजना गरेको भेलामा नगएका र इतर समूहबाट अलग देखिएका नेता पूर्णबहादुर खड्का समूह पनि शनिबार सभापति थापासँगको संवाद र आइतबार केन्द्रीय कार्यसम्पादन समितिमा भएको छलफलबाट उत्साहित भएको छ ।

विशेषगरी पुससम्म नवीकरण भएका क्रियाशील सदस्यलाई महाधिवेशनमा भाग लिन दिने तथा संयन्त्र निर्माण गर्ने विषयले खड्का समूह उत्साहित भएको हो । खड्का निकट मानिएका नेता श्याम घिमिरेले लोकान्तरसँग कुरा गर्दै कार्यसम्पादन समितिले आफूहरूको मुद्दा स्थापित गर्न थालेकाले पनि आफूहरू सहमतिमा आउनुपर्ने बाध्यात्मक अवस्था आइपुगेको धारणा राखे ।

‘यदि सञ्चारमाध्यममा आएजस्ता विषय सत्य हुन् भने हामी चुनदेवीमा रहेका सबै असन्तुष्ट साथीहरू सानेपा पुग्न बाध्य हुनेछौं‚’ उनले भने ।

शनिबार सभापति थापासँग भएको भेटमा नेता पूर्णबहादुरले आफू मात्र फर्किएर पार्टी एक नहुने भन्दै सबैलाई साथमा लिएर हिँड्ने वातावरण बनाउन थापालाई भनेका थिए ।

घिमिरेका अनुसार सो क्रममा केही समयअघि आफूहरूले बुझाएको ७ बुँदे धारणा नै पार्टी एकताको आधार भएको र त्यसलाई कार्यान्वयन गर्न खड्काले सभापति थापालाई भनेका थिए ।

null

उक्त ७ बुँदे धारणा चुनदेवीमा बसिरहेका असन्तुष्ट सबैको साझा धारणा भएकाले त्यसलाई पूरा गर्न सके १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सकिने कुरा स्पष्ट शब्दमा खड्काले राखेको नेता घिमिरेले लोकान्तरलाई बताए ।

उक्त ७ बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित भएकाहरूको समायोजन गर्दै पार्टी केन्द्रीय समिति विस्तार तथा मर्यादाक्रम निर्माण गर्ने विषय उल्लेख गरिएको थियो ।

१५औँ महाधिवेशनको तयारीका लागि आवश्यक पर्ने विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति, लेखा समिति, व्यवस्थापन समिति, प्रचारप्रसार समिति लगायतका समितिहरू गठन गर्दा दुवै पक्षको सहमतिमा सन्तुलन कायम गर्ने सर्त पनि अघि सारिएको थियो ।

पुस १० सम्म टुंगिएको नवीकरण क्रियाशील सदस्यलाई मान्यता दिने र डिजिटल इन्ट्रीलाई अनिवार्य नगर्ने‚ भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूको गठन–पुनर्गठन गर्दा विगतका परम्परा र अनुभवसमेतलाई आधार मानी सहमतिमा गर्ने‚ पार्टीको सम्पूर्ण एकतामा तत्काल बाधा पुर्‍याउने वैधानिक अस्पष्टतालाई स्पष्ट व्याख्या गर्दै त्यस्ता व्यवस्थाहरूलाई आवश्यकताअनुसार सहमतिमै निलम्बन वा खारेजसमेत गर्ने र पार्टीको सम्पूर्ण एकता कायम गरी उत्साह र उमङ्गका साथ संगठन विस्तार, १५औँ महाधिवेशनको तयारी र लोकतान्त्रिक पद्धति, विधिको शासन र नागरिकका सवालमा राष्ट्रिय अभियान सञ्चालन गर्ने सर्त अघि सारिएको थियो । यसमध्ये अधिकांश सर्तहरू मान्न संस्थापन समूह तयार भएपश्चात् नेता खड्का समूह नैतिक संकटमा परेको छ ।

‘आइतबारको बैठकले धेरै कुरा सहमतिका लागि बाटो खोलेको छ । ७ बुँदे हामी चुनदेवीमा भएका सबै मिलेर बनाएको साझा धारणा हो‚’ घिमिरेले भने‚ ‘यदि गगनजीहरूले साँच्चै त्यो आधिकारिक निर्णय गर्नुहुन्छ भने चुनदेवीमा भएका हामी नैतिक रूपमा पनि सबै विषय मान्न बाध्य हुन्छौं ।’

देउवा समूहको अडान कायमै

शेखर र पूर्णबहादुर समूह ‘केही आफ्ना बाँकी रहेका स-साना स्वार्थ’ पूरा भए मूल नेतृत्वमा फर्कन तयार देखिन्छन् । तर‚ पूर्वसभापति शेरबहादुर देउवाको साथ–समर्थनमा रहेका अन्य नेताहरू भने सहमतिमा आउन टसको मस भएका छैनन् ।

देउवानिकट नेताहरूले वडा अधिवेशन रोक्ने र क्रियाशील सदस्यताको विषयमा लिएको निर्णयलाई प्राविधिक विषय मात्र हो भनेका छन् । मुख्य विषय राजनीतिक सहमति भएको भन्दै देउवा समूहले आफूहरूको अस्तित्वको प्रश्न उठाइरहेको छ ।

लोकान्तरसँग कुरा गर्दै समूहका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाको ‘ग्रेसफुल एक्जिट’ अन्तिम बटमलाइन भएको बताए । विशेषगरी १४औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुनुपर्ने तथा अन्य दैनिक महाधिवेशन कार्यका लागि नेताहरूलाई उचित व्यवस्थापन गर्न सकिने धारणा उनले राखे ।

null

‘शेरबहादुरजीको नेतृत्वमा महाधिवेशन गर्दै ग्रेसफुल एक्जिट हुनुपर्छ । बाँकी अहिले भइरहेका काम प्राविधिक विषय मात्र हुन्‚’ उनले भने‚ ‘वडा अधिवेशन सार्ने विषय तथा क्रियाशीलका विषय प्राविधिक विषय मात्र हुन् । राजनीतिक सहमतिविना अघि बढ्न सकिन्न ।’

देउवा समूहकै अर्का नेता पनि पूर्णबहादुर खड्काले भन्दैमा सबै सहमतिमा जानैपर्छ भन्ने बाध्यता नभएको बताउँछन् । देउवासँग लागेर सत्ता र शक्तिको अधिकतम उपयोग खड्काले गरेको र अहिले अप्ठ्यारोमा छाडेर खड्का ‘पुच्छर लुकाएर’ भागेको ती नेताको आरोप छ । ‘पूर्णले भन्दैमा हामीले मान्नुपर्छ भन्ने छैन । विषय केही पनि मिलेको छैन‚’ ती नेता भन्छन् ।

संयन्त्रको विषयमा सकस कायमै

पार्टीलाई एक बनाउन सभापति गगन थापा आसन्न १५औं महाधिवेशनलाई सबैले स्वीकार्ने गरी दुवै पक्ष समेटी राजनीतिक संयन्त्र गठन गर्न पनि तयार भएका छन् । उक्त संयन्त्रको नेतृत्व लिन उनले नेता शेखर कोइरालालाई समेत आग्रह गरेका छन् ।

तर, यसरी गठन हुने संयन्त्रको क्षेत्राधिकारको विषयमा भने सबैलाई चासो र चिन्ता छ । संयन्त्रलाई केन्द्रीय समितिभन्दा माथि राख्ने कि केन्द्रीय समितिको मुनि भन्ने समस्या आइपरेको छ । केन्द्रीय समितिको समानान्तर हुने गरी संयन्त्र राख्न नसकिने अडानमा संस्थापन पक्ष छ ।

पार्टी महामन्त्री गुरुराज घिमिरे संयन्त्र बनाए पनि केन्द्रीय कार्यसमितिको समानान्तर वा माथि हुने गरी राख्न नसकिने धारणा राख्छन् । विधानले केन्द्रीय कार्यसमितिलाई सर्वोच्च मानेको भन्दै उनी त्यसको मुनि राखेर मात्र संयन्त्र बनाउन सकिने धारणा राख्छन् । यद्यपि त्यसको ‘टीओआर’ भने केन्द्रीय कार्यसम्पादन समिति वा केन्द्रीय समिति बैठकले तोक्ने भनाइ उनको छ । अर्थात्, संयन्त्रको राजनीतिक हैसियत तोक्ने अधिकार पनि केन्द्रीय नेतृत्वमा हुने भनाइ उनको छ ।

null

‘संयन्त्र बनाउन तयार छौं । तर केन्द्रीय समितिको समानान्तर हुने गरी बनाउन सकिँदैन । यसलाई केन्द्रीय समितिको मातहत राख्न सकिन्छ‚’ महामन्त्री घिमिरेले भने‚ ‘संयन्त्रलाई सहजीकरण संयन्त्र बनाउन सकिन्छ । पार्टीको लिड गर्ने संरचना होइन ।’

तर‚ पावरलेस संयन्त्र आफूहरूलाई मान्य नहुने धारणा राख्छन् असन्तुष्ट समूहका नेता प्रकाशशरण महत । ‘पहिले हामीले पावरफुल संयन्त्र बनाऔं, सहमति गरौं भन्दा मान्नुभएन । अहिले आएर पावरलेस संयन्त्र हामीलाई चाहिँदैन‚’ नेता महत थप्छन्‚ ‘एकताको महाधिवेशन गर्ने हो भने शेरबहादुरजीलाई मानेर जानुपर्छ । संयन्त्र पावरफुल बनाउने र केन्द्रीय समिति मातहत राखेर सहमति हुँदैन ।’

कमेन्ट गर्नुहोस्