
पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी आन्दोलन’को एक वर्ष पुगेको अवसरमा राजनीतिक स्थायित्व र सुशासनका विषयमा गम्भीर टिप्पणी गरेकी छन्। गत वर्षको आन्दोलनपछि चुनावी सरकारको नेतृत्व गरेकी कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत देशको समसामयिक राजनीतिक अवस्था र शासकहरूको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।
संसद्मा स्पष्ट वा दुईतिहाइ बहुमत हुँदैमा मात्र राजनीतिक स्थिरता नआउने औंल्याउँदै उनले जनतालाई फेरि सडकमा आउनुपर्ने बाध्यकारी अवस्था सिर्जना हुन नदिन चेतावनी दिएकी छिन्। 'अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन। सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ,' उनले भनेकी छन् ।
जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट पाठ पढाएको उल्लेख गर्दै कार्कीले राजनीतिक स्थिरता संसदीय गणितबाट मात्र सम्भव नहुने प्रस्ट पारेकी छन्। 'जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ।'
सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने अपेक्षा उनले व्यक्त गरेकी छन्।
जेनजी आन्दोलनको ठूलो जनधनको क्षतिको एक वर्ष पूरा नहुँदै मुलुकले अहिले भोटेकोसी बाढीको अर्को पीडादायी विपद् भोगिरहेको तर्फ पनि उनले ध्यानाकर्षण गराएकी छन्।