
ठ्याक्कै एक वर्षअघि, २०८२ भदौ २३ गतेको त्यो दिन । सुनसरीको इटहरीसहित देशैभरिका सडक युवाहरूको गर्जनले तातेको थियो । भ्रष्टाचार, बेथिति र ‘नेपो बेबी’ ट्रेन्डविरुद्ध स्वस्फूर्त रूपमा सडकमा ओर्लिएका हजारौँ तन्नेरीहरूमध्ये १८ वर्षीय शान्तनु ढकाल पनि एक थिए ।
जेनजी आन्दोलन भएको आज एक वर्ष पुगेको छ । एक वर्षमा देशको राजनीतिमा धेरै फेरबदल आए, सत्ता समीकरण बदलियो, सिंहदरबारमा पात्रहरू पनि फेरिए । तर, शान्तनुको अनुहारमा रहेको त्यो गहिरो खत अझै उस्तै छ र राज्यको कार्यशैलीप्रतिको उनको गुनासो बदलिएको छैन ।
उनको देब्रे गालादेखि घाँटीसम्म प्रस्टै देखिने लामो खतले उनको विगतको एउटा त्रासदीपूर्ण कथा भनिरहेको छ । यो कुनै दुर्घटनाको खत होइन, यो त जेनजी विद्रोहका क्रममा प्रहरीको गोलीले उनको अनुहारमा कोरेको एउटा ऐतिहासिक र पीडादायी डोब हो ।
रसुवासहित केही जिल्लामा यतिबेला बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । विपद्को यो घडीमा जहाँ धेरै मानिसहरू आफ्नै सुरक्षाको चिन्तामा छन्, त्यहाँ १९ वर्षीय शान्तनु भने एउटा छुट्टै ऊर्जाका साथ बाढीपीडितको सेवामा खटेका छन् ।
१८ वर्षको उमेरमा इन्जिनियर बन्ने सुन्दर सपना बुनेका शान्तनुलाई इटहरीको सडकमा भ्रष्टाचारविरुद्ध नारा लगाउँदै गर्दा प्रहरीको गोली लागेको थियो । त्यो गोलीले उनको गालाको हड्डी मात्रै उडाएन, उनको जीवनको लय नै सधैँका लागि बदलिदियो ।
झन्डै एक महिनासम्म घाँटीमा प्वाल पारेर पाइपको सहाराले सास फेर्न बाध्य शान्तनुको अहिलेको स्वरूप चिकित्सा विज्ञान र उनको अदम्य साहसको परिणाम हो । उनको गालामा अहिले जुन मासु छ, त्यो उनको छातीबाट काटेर जोडिएको हो । आफ्नै शरीरको एउटा अङ्ग काटेर अर्को अङ्ग जोगाएका यी तन्नेरीले यतिबेला सत्ताको कुर्सीमा बसेकाहरूलाई आफ्ना घाउ देखाउँदै न्यायको याचना गरिरहेका छन् ।

शान्तनु त्यस दिनको घटना सम्झिँदै भन्छन्, ‘सोसल मिडियामा आन्दोलनको चर्चा देखेपछि मलाई जानैपर्छ भन्ने लाग्यो । साथीहरूसँग मिलेर इटहरी पुग्यौँ । शुरूमा नारा–जुलुस सामान्य नै थियो, तर बिस्तारै प्रहरी र आन्दोलनकारीबीच झडप हुनथाल्यो । टायर बाल्ने, ढुङ्गा प्रहार हुने र अश्रुग्यास चल्ने क्रम बढ्दै गयो । अचानक प्रहरीले गोली चलायो । पहिलो गोली चल्दा भीड तितरबितर भयो, म पनि भाग्न खोज्दै थिएँ, तर दोस्रो गोली सिधै मेरो गालामा लाग्यो ।’
घाइते शान्तनुलाई तत्कालै विराट मेडिकल कलेज पुर्याइयो । अस्पतालले उनको अवस्था हेरेर मानवीयताको आधारमा नि:शुल्क उपचार गरिदियो । ‘अस्पतालले हामीसँग एक रुपैयाँ पनि मागेन, तर बाहिरबाट किन्नुपर्ने औषधिको केही बिलहरू भने मैले सुरक्षित राखेको छु,’ उनले भने ।
आन्दोलनपछि देशमा नयाँ शक्ति र नयाँ अनुहारहरू सत्तामा पुगे । शान्तनुले पनि देशमा आफ्नै दाजुभाइ जस्तै लाग्ने युवा नेताहरू कुर्सीमा पुगेको देख्दा अब परिवर्तन होला भन्ने आशा राखेका थिए । तर, आज एक वर्ष पुग्दा उनी पूर्ण सन्तुष्ट छैनन् । ‘म यो सरकारप्रति सकारात्मक त छु, तर शतप्रतिशत सन्तुष्ट छैन,’ उनले आफ्नो मनको बह पोखे, ‘हामीले रगत बगाएर कुर्सीमा पुर्याएकाहरूले हाम्रा घाउहरू बिर्सिँदै गएका हुन् कि जस्तो लाग्छ । जेनिजीहरूसँग भएको सम्झौता अनुसारको काम सरकारले गर्नुपर्छ ।’
उनका अनुसार सरकारले जेनजीका लागि विभिन्न कार्यक्रम घोषणा त गरेको छ, तर त्यसको कार्यान्वयनको गति निकै सुस्त छ । टाइटेनियमको प्लेटले हड्डी जोडिएको उनको अनुहारमा अझै धेरै शल्यक्रियाहरू बाँकी नै छन् । अब उनको खुट्टाको हड्डी काटेर नयाँ बङ्गारा बनाउने मुख्य शल्यक्रिया गर्नुपर्नेछ ।
यति धेरै व्यक्तिगत पीडा र राज्यको उपेक्षाका बाबजुद शान्तनुको समाजप्रतिको उत्तरदायित्व भने अलिकति पनि घटेको छैन । उनी यतिबेला दुई जना डाक्टर र दुई जना फर्मासिस्टको टोली बनाएर रसुवा र नुवाकोटका बाढीपीडितका लागि औषधि र प्राथमिक उपचार लिएर गाउँ–गाउँ पुगिरहेका छन् । आफैँ गम्भीर घाइते हुँदा अरूले मद्दत गरेको गुन सम्झिएर उनी आफ्नो बाँकी उपचारलाई थाती राख्दै विपद्मा परेकाहरूको सारथि बनेका हुन् ।
उनको यो सक्रियताले एउटा स्पष्ट सन्देश दिएको छ– ’जेनजी’ पुस्ता केवल सडकमा आगो बाल्न वा नारा लगाउन मात्र जान्दैन, उनीहरू जिम्मेवार नागरिक बनेर देश र जनताको सेवा गर्न पनि उत्तिकै सक्षम छन् ।
१२ कक्षा सकेर अहिले इन्जिनियरिङ पढ्दै गरेका शान्तनु आफ्नो भविष्य पढाइमा देख्छन्, तर उनको मन भने अझै पनि इटहरीका ती सडकहरूमा अल्झिएको छ, जहाँ उनले भ्रष्टाचारमुक्त देशको सपना देखेका थिए ।
उनी भन्छन्, ‘हामीलाई ठूला र असम्भव कुरा चाहिएको होइन । सरकारले जे घोषणा गरेको छ, त्यसलाई क्विक एक्सनमा ल्याओस् । नि:शुल्क उपचार र नि:शुल्क शिक्षा जस्ता कुराहरू कागजमा मात्र होइन, व्यवहारमा देखिनुपर्छ ।’
शान्तनु ढकाल त केवल एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै धेरै युवाहरू जो परिवर्तनका लागि सडकमा उत्रिए र घाइते भए, उनीहरू यतिबेला सरकारको कामको सूक्ष्म अडिट गरिरहेका छन् ।