
कुनै समय रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ कलुवाको जमिन काँस र बयरको झाडीले ढाकिएको थियो। उजाड र बन्जर जमिनमा पसिना बगाएर राम्रो कृषि उत्पादन निकाल्ने जोखिम लिन धेरैलाई सहज थिएन। तर, बुटवलका युवा नुरुद्दिन शाहले त्यही जमिनमा ‘एग्रीकल्चर’को बलियो सम्भावना देखे।
डेढ दशक अघिको त्यो बाँझो जमिनबाट शाहले शुरू गरेको कृषि यात्रा अहिले २० बिघा क्षेत्रफलमा फैलिएको छ। उनले शाह कृषि फर्म बनाएर फलफूल, तरकारी, दूध उत्पादन र माछापालनलाई समेटेर एउटै थलोमा ठूलो नमुना एवं आकर्षक कृषि फर्म तयार गरेका छन्। कृषि र पशुपालनलाई एउटै प्रणालीमा जोडेर कम खर्चमा दिगो उत्पादन गर्ने शाहको अवधारणाले फार्मलाई एउटा बहुउद्देश्यीय कृषि केन्द्रको स्वरूप दिएको छ।
फार्ममा प्रवेश गर्ने जो कोहीलाई सामान्य कृषि फार्ममा पुगेको अनुभूति हुँदैन। कतै हजारौँ कालिज चर्न व्यस्त देखिन्छन्, कतै लौकाट उडिरहेका हुन्छन्। पोखरीमा हाँस पौडिरहेका हुन्छन् भने गोठमा भैँसी बसेका देखिन्छन्।
अर्कोतर्फ आँप, सुन्तला, स्याउ, अंगूर, अम्बा र कटहरका बोटले फार्मलाई हरियाली बनाएका छन्। स्ट्रबेरी र विभिन्न जातका हरियो तरकारीले कृषि उत्पादनको दायरा अझ फराकिलो बनाएको देख्न सकिन्छ।
फार्ममा लिची, एभोकाडो, अम्बा, नरिवल र मेवाका बोटले पनि हरियाली थपेका छन्। कृषि प्रकृतिको संगमजस्तै देखिने यो फर्म सहजै यो स्वरूपमा एकै दिनमा बनेको होइन। ‘बाँझो जमिनमा पनि केही गर्न सकिन्छ भन्ने योजना अघि सारेँ,’ शाह भन्छन्, ‘विस्तारै जमिनको स्वरूप परिवर्तन गर्दै लागेँ। वर्षौँको मेहनत, धैर्य र लगनशीलताले अहिले त्यही ठाउँलाई उत्पादनको केन्द्रमा पुर्याएको छ।’
फार्ममा अहिले करिब ३ हजार कालिज, १ हजार ५ सय लौकाट, २ सय खरायो, ३ सय वटा हाँस र २५ वटा उन्नत जातका भैँसी छन्। फार्म परिसरमा रहेका दुई ठूला पोखरीमा माछापालन पनि भइरहेको छ। यसरी एउटै थलोमा फलफूल, पशुपन्छी र माछापालनलाई जोडेर बहुआयामिक कृषि प्रणाली विकास गरिएको देख्न पाइन्छ।
कृषिको दायरा अझ फराकिलो बनाउँदै शाहले डेढ बिघा जमिनमा स्ट्रबेरी खेती गरेका छन्। तराईको हावापानीमा सुन्तला उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने परीक्षणका लागि १५० वटा सुन्तलाका बिरुवा पनि हुर्काइरहेका छन्।

फर्मको मुख्य आकर्षण अहिले आँपको बगैँचा हो। फार्ममा करिब ३ हजार ५ सय आँपका रुख छन्। त्यसमध्ये ७०० भन्दा बढी ‘अल्फान्सो’ जातका आँप हुन्। अल्फान्सो जातको आँपप्रति शाहको आकर्षण उत्पादन र बजार दुवैसँग जोडिएको छ। अन्य जातका आँपको मुख्य सिजन सकिएपछि भदौमा पाक्ने भएकाले अल्फान्सोको बजारमा माग र मूल्य तुलनात्मक रूपमा राम्रो हुने गरेको छ।
बोटमै पाकेको आँपको स्वाद लिन र किन्न ग्राहकहरू फार्ममै पुग्ने गरेका छन्। यसले शाहलाई उत्पादनसँगै प्रत्यक्ष बजारको अवसर पनि दिएको छ। फार्ममा उत्पादन हुने आँपबाट मात्रै वार्षिक करिब ३५ लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको शाह बताउँछन्।
तर, उनका लागि आम्दानीभन्दा महत्त्वपूर्ण विषय उत्पादनको गुणस्तर रहेको उनको भनाइ छ।
फलफूललाई किरा तथा चराबाट जोगाउन उनले विषादीको प्रयोग घटाउने वैकल्पिक उपायसमेत अपनाएका छन्। बोटमा फलेका फललाई सानैदेखि प्लास्टिकका थैलाले छोपेर हुर्काउने गरिएको छ। यसले फललाई सुरक्षित राख्नुका साथै विषादीको प्रयोग न्यून गर्न सहयोग पुगेको शाहको भनाइ छ।

कृषिलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा होइन, व्यवस्थित व्यवसायका रूपमा अघि बढाउन सके युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न सकिने शाहको अनुभव छ। उनी भन्छन्, ‘मैले कृषि र पशुपालनलाई अलग–अलग व्यवसायका रूपमा हेरेको छैन। बरु एउटा क्षेत्रमा उत्पादन हुने वस्तुलाई अर्को क्षेत्रमा उपयोग गर्ने गरी फार्मभित्रै प्राकृतिक चक्र निर्माण गरेको छु।’
फार्मको अर्को महत्त्वपूर्ण विशेषता जैविक चक्र हो। पशुपन्छीबाट निस्कने मललाई खेर जान नदिई फलफूल तथा अन्य बालीमा प्रयोग गरिन्छ। यसले बाहिरबाट रासायनिक मल खरिद गर्नुपर्ने आवश्यकता घटाएको छ।
फार्ममा उत्पादित अधिकांश कृषि उपजको मुख्य बजार बुटवल हो। तर, शाहको उद्देश्य उत्पादन गरेर बजारमा बेच्नुमा मात्रै सीमित छैन। १५ वर्षको मेहनत र प्रयोगबाट तयार भएको यो फार्मलाई उनी आगामी दिनमा कृषि अनुसन्धान तथा अध्ययन केन्द्रका रूपमा विकास गर्न चाहेको बताउँछन्।

कृषि तथा भेटेरिनरी विज्ञान अध्ययन गर्ने विद्यार्थी, नयाँ पुस्ताका कृषक र फलफूल खेतीमा रुचि राख्नेहरूका लागि फार्मलाई खुला प्रयोगशाला बनाउने उनको योजना छ। कुन जातको फलफूल कुन हावापानीमा राम्रो हुन्छ, उत्पादन कसरी बढाउन सकिन्छ र पशुपालन तथा खेतीलाई एउटै चक्रमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा फार्ममै परीक्षण र अनुसन्धान गर्ने शाहको सोच छ।
बन्जर जमिनलाई हराभरा बनाउँदै कृषिमा नयाँ प्रयोग गरेको शाहको प्रयासले सरकारी तहबाट समेत सम्मान पाएको छ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रले २०८१ साल साउनमा शाह कृषि फार्मलाई नगदसहित ‘नेपालकै उत्कृष्ट फार्म’ का रूपमा राष्ट्रिय सम्मान प्रदान गरेको थियो। राज्यबाट प्राप्त उक्त सम्मानले आफ्नो जिम्मेवारी झनै बढेको शाह बताउँछन्।

लामो समयदेखि कृषि क्षेत्रमा गरेको मेहनत र नयाँ प्रयोगको मूल्याङ्कनका रूपमा प्राप्त सम्मानले थप काम गर्ने ऊर्जा दिएको उनको भनाइ छ। अब शाहको सपना फार्मको सीमाभन्दा बाहिर पुग्दैछ।
कृषि उत्पादनसँगै पर्यटनलाई जोडेर उनले निकट भविष्यमै फार्मभित्र प्रकृतिमैत्री ‘इको रिसोर्ट’ सञ्चालन गर्ने तयारी थालेका छन्। खेती, पशुपालन, अनुसन्धान र पर्यटनलाई एउटै ठाउँमा जोड्ने उनको प्रयासले एउटा बन्जर जमिनलाई केवल उत्पादनको थलोमा मात्र होइन, सिकाइ र अनुभवको केन्द्रमा समेत रूपान्तरण गर्ने लक्ष्य बोकेको छ। नेपालमा कृषि गर्ने युवालाई सरकारको तर्फबाट साथ र प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ।
