
मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासको बलियो मेरुदण्ड मानिने ऊर्जावान् युवा पुस्ता आज कुन रूपमा र कसरी एउटा गहिरो दुष्चक्रभित्र फसिरहेको छ भन्ने गतिलो र झक्झकाउने उदाहरण बनेको छ मोरङ ।
पछिल्लो समय मोरङ जिल्लामा दिनदिनै बढिरहेका चोरी, लुटपाट, झैझगडा र हत्याजस्ता गम्भीर प्रकृतिका जघन्य अपराधको अध्ययन गर्दा एउटा साझा र डरलाग्दो कारण सतहमा देखिन्छ, त्यो हो- लागूऔषधको अत्यधिक प्रयोग ।
यही भयावह अवस्थालाई गम्भीरतापूर्वक दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधविरुद्धको महाअभियान चलाएको छ ।
मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको नेतृत्वमा जेठ १० गतेबाट शुरू भएको ‘लागूऔषधविरुद्धको महाअभियान’ अहिले मोरङका १७ वटै पालिकामा पुगेको छ ।
नेपालसँग जोडिएको खुला सिमाना, त्यसको फाइदा उठाएर सजिलै भारतबाट हुने लागूऔषधको किनबेच, ओसारपसार र सहज उपलब्धता नै यसको प्रमुख जरो हो । विशेषगरी १५–१६ वर्षदेखि २५–३० वर्षसम्मका किशोर र युवाहरू यसको प्रमुख सिकार भइरहेका छन् ।
साथीसंगीको गलत लहलहैमा लाग्ने, क्षणिक जिज्ञासाका कारण के हुँदो रहेछ त यो खाँदा ? भन्ने कौतुहल राख्ने र जीवनमा आइपर्ने विभिन्न मानसिक तनाव तथा निराशाबाट भाग्नका लागि युवाहरू कुलतमा फस्ने गरेको एसपी कटवाल बताउँछन् ।
उनले मोरङको ग्रामथान गाउँपालिकामा घटेको एउटा मार्मिक र हृदयविदारक घटना स्मरण गरे । एक जना देवरले होस गुमाएर आफ्नै भाउजूमाथि शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेर हत्या गरे । घटनाको अघिल्लो दिन र त्यस्तो जघन्य अपराध गरिसकेपछि पनि उनले भनेका थिए, ‘सर, मलाई त केही पनि थाहा थिएन, मैले किन यसो गरेँ मलाई यादै भएन !’
यो एउटा पात्र र घटना मात्र होइन, लागूऔषधले युवाहरूको मति र चेतना कसरी हरण गर्छ भन्ने गतिलो प्रमाण हो । साइकल, मोटरसाइकल र मोबाइल चोरी गर्ने, ती सामानलाई सस्तोमा बेचेर लागूऔषध किन्ने र आफ्नो शरीर तथा समाजमा पर्न जाने असरको सामान्य हेक्का समेत नराख्ने प्रवृत्तिले आज समाजलाई कूलको रसातलतर्फ धकेलिरहेको छ ।
मोरङ प्रहरीले यो समस्यासँग जुध्न केवल पक्राउ गर्ने परम्परागत शैली मात्र अपनाएको छैन, यसले त्रि–आयामिक रणनीति अख्तियार गरेको छ; कडा कानूनी कारबाही, व्यापक जनचेतना र सकारात्मक सोचको विकास (मन परिवर्तन) ।
महाअभियान शुभारम्भ भएयता मोरङ प्रहरीले अचम्मको प्रगति हासिल गरेको छ । अहिलेसम्म ९४० जनाभन्दा बढी लागूऔषध कारोबारमा संलग्न तथा प्रयोगकर्तालाई कानूनी दायरामा ल्याइएको छ ।
प्रहरीले १,१८५ केजीभन्दा बढी गाँजा, करिब ६६ हजार पिस (६५,९७९ पिस) प्रतिबन्धित चक्की तथा २,४२७ ग्रामभन्दा बढी खैरो हेरोइनसहित मानिसलाई पक्राउ गरेको छ । जिल्लाका कारागार तथा हिरासत कक्षको अवस्था हेर्दा ४० देखि ४२ प्रतिशत कैदीबन्दी यही लागूऔषध मुद्दाका कारण थुनामा रहेको यथार्थले यसको विकराल रूपलाई छ्याङ्गै पार्छ ।
तर, एसपी कटवालको दृष्टिकोण स्पष्ट छ- ‘मानिसलाई जेल कोचेर मात्र यो समस्या समाधान हुँदैन, उनीहरूको मन परिवर्तन गर्नुपर्छ ।’
यसै उद्देश्यका साथ प्रहरीले युवाहरूलाई आकर्षित गर्न र सचेत गराउन विभिन्न सिर्जनात्मक उपाय अपनाएको छ । लागूऔषधविरुद्ध एक जुट बनौं भन्ने मुख्य थिमसहित टिकटक प्रतियोगिता आयोजना समेत मोरङ प्रहरीले गरेको थियो ।
जसमा २८६ वटा सिर्जनात्मक र सन्देशमूलक भिडियो प्राप्त भए । यसबाहेक, सुधार गृहमा उपचाररत र दुर्व्यसनबाट मुक्त हुँदै गरेका युवालाई समेटेर प्रहरीले विशेष फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
साथै, अँध्यारोबाट उज्यालोतिर भन्ने अत्यन्तै मार्मिक सन्देश बोकेको गीतिनाटकसहितको सांस्कृतिक टोली तयार पारेर विद्यालयमा प्रदर्शन गराइएको छ ।

‘यो केवल नेपाल प्रहरीको मात्र एक्लो लडाइँ होइन, यो हामी सबैको साझा र अस्तित्वको लडाइँ हो’, एसपी कटवाल भन्छन् । यस महाअभियानको सबैभन्दा ठूलो बल भनेको नागरिक समाज र समुदायको सहभागिता हो ।
अभियानमा विद्यार्थी, शिक्षक, अभिभावक, चिकित्सक, बुद्धिजीवी, राजनीतिककर्मी, स्थानीय जनप्रतिनिधि एकै ठाउँमा उभिएका छन् । सबै पक्षको सहमति र हस्ताक्षरसहितको ९ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको गरिएको छ ।
टोल–टोलमा विशेष समिति गठन गरिएका छन्, जसले लुकिछिपी लागूऔषधको स्टोर गर्ने, बेच्ने वा सेवन गर्नेको बारेमा प्रहरीलाई गोप्य सूचना प्रदान गर्छन् । सूचना आउनेबित्तिकै प्रहरी तत्काल एक्सनमा उत्रन्छ, जसले गर्दा कारोबारी र कुलतमा लागेकालाई त्रास र कानुनी डर पैदा गराउने मोरङ प्रहरीले जनाएको छ ।
एसपी कटवालको नेतृत्वमा भएको यो महाअभियानले एउटा स्पष्ट सन्देश दिएको छ- यदि हामीले आज आफ्ना सन्तान र युवालाई यो दुर्व्यसनको दलदलबाट जोगाउन सकेनौं भने भोलि आउने दिनहरू सम्पूर्ण समाज र राष्ट्रकै लागि निकै दु:खद् हुन सक्छन् ।
१७ वटापालिकाहरूको प्रारम्भिक चरणको सूत्रपात सकिएर अब वडा र बस्ती तहसम्म जरा गाडिसकेको यो महाअभियानले मोरङका नागरिकहरूमा नयाँ आशा र जाँगर जगाएको छ ।
प्रहरी एक्लैले चाहेर मात्र यो सम्भव छैन, त्यसैले एसपी कटवालले सबैलाई आग्रह गरेका छन्, ‘आउनुहोस्, हातमा हात र काँधमा काँध मिलाएर हाम्रा भविष्यका कर्णधारहरूलाई जोगाऔं । यो अभियानमा साथ दिऔं, किनकि देश बचाउनु र बनाउनु हामी सबैको साझा दायित्व हो ।’