२२ असोज २०८३, बिहीबार

दशकौँ लामो मित्रता पछि भारतीय मूलका दुई महिलाले पत्ता लगाए आफूहरू दिदी-बहिनी भएको रहस्य

भदौ २८, २०८३
काठमाडौं
दशकौँ लामो मित्रता पछि भारतीय मूलका दुई महिलाले पत्ता लगाए आफूहरू दिदी-बहिनी भएको रहस्य

भनिन्छ, रगतको नाता कहिल्यै लुक्दैन। यस्तै चलचित्रको कथाजस्तै लाग्ने एउटा हृदयस्पर्शी घटना नेदरल्यान्ड्समा सार्वजनिक भएको छ।

भारतको मुम्बईमा जन्मिएर दशकौँअघि नेदरल्यान्ड्समा धर्मपुत्रीका रूपमा हुर्किएका दुई महिलाले डीएनए परीक्षणमार्फत आफूहरू दिदी-बहिनी भएको पत्ता लगाएका छन्।

४३ वर्षीया मिना गेल्टिङ्क र ४४ वर्षीया मिनल तिजेनको कथा अहिले धेरैको ध्यान खिचिरहेको छ। सन् १९८० को दशकको सुरुतिर मुम्बईका दुई फरक अनाथालयबाट धर्मपुत्रीका रूपमा नेदरल्यान्ड्स पुगेका उनीहरू किशोरी अवस्थामा एउटा भेलामा पहिलो पटक भेटेका थिए।

त्यतिबेलै उनीहरूबीच अनौठो समानता देखिएको थियो। मिनाले बीबीसीसँग त्यो दिन सम्झिँदै भनेकी छन्, “सबै धर्मपुत्र–पुत्रीलाई एकअर्कासँग घुलमिल गराउन भेला गरिएको थियो। हामीलाई देख्नेहरूले ऐनामा हेर्न सल्लाह दिए। जब मैले उनलाई हेरेँ, उनको नाक र हाँसो दुरुस्तै मेरो जस्तै थियो।”

त्यसपछि उनीहरूबीच गहिरो मित्रता भयो। पत्रमार्फत कुराकानी गर्ने उनीहरूले एकअर्कालाई ‘बहिनी’ भनेर सम्बोधन गर्थे। उनीहरूबीचको सम्बन्ध निकै आत्मीय भए पनि आफूहरूबीच रगतको नाता हुनसक्ने कुरा भने थाहा थिएन।

समयक्रममा उनीहरूको सम्पर्क टुट्यो। मिना परिवार र काममा व्यस्त भइन् भने मिनल फ्रान्स बसाइँ सरिन्।

सन् २०१७ मा आफ्नो वास्तविक पहिचान खोज्ने क्रममा मिनाले डीएनए परीक्षण गरिन्। तर, त्यतिबेला उनको डीएनए कसैसँग पनि मिलेन।

यसै वर्षको मे २० मा भने मिनाले मिनलबाट फेसबुकमा सन्देश पाइन्। केही समयअघि मात्रै डीएनए परीक्षण गराएकी मिनलले आफ्नो परीक्षणको नतिजा पठाएकी थिइन्। नतिजा हेरेपछि मिना अचम्ममा परिन्।

“नतिजा शतप्रतिशत मिल्यो। यसको अर्थ हामी एउटै आमा-बुबाका सन्तान रहेछौँ,” मिनाले भनिन्, “मिनल मेरो जीवनको हराएको त्यो टुक्रा थिइन्, जसको मैले वर्षौँदेखि प्रतीक्षा गरेकी थिएँ।”

अगस्टमा उनीहरूबीच पुनर्मिलन भयो। उनीहरूले यो भेटलाई ‘घर फर्किएको’ अनुभूतिका रूपमा लिएका छन्। दुवैको विवाह भइसकेको छ र सन्तान पनि छन्। अहिले उनीहरू एकअर्काको परिवारसँग घुलमिल भइरहेका छन्।

उनीहरूको चालढाल, बोल्ने शैली र एकअर्काले भन्न लागेको कुरा पूरा गर्ने बानीले समेत उनीहरूबीचको समानता झनै देखाएको छ।

“हामीले सँगै हुर्कन पाएनौँ, सुख-दुःख बाँड्न पाएनौँ, यसको पछुतो छ। तर अब हामी फेरि एक भएका छौँ,” मिनाले भनिन्।

अब यी दुई दिदी-बहिनीको एउटै इच्छा छ—सँगै भारतको मुम्बई जाने र आफ्नो जन्मभूमि तथा परिवारको जरा खोज्ने।

दशकौँसम्म साथीका रूपमा रहेका उनीहरूले अन्ततः आफूहरू दिदी-बहिनी नै भएको सत्य पत्ता लगाएका छन्।

कमेन्ट गर्नुहोस्