
चीनमा युवा कर्मचारीहरूको ठूलो तप्काले पदोन्नति (प्रोमोसन)लाई नै करिअर सफलताको प्रमुख सूचक मान्ने परम्परागत सोचलाई चुनौती दिँदै पदोन्नति अस्वीकार गर्न थालेको छ ।
पदोन्नतिसँगै थपिने जिम्मेवारी, बढ्दो कार्यदबाब र त्यसको तुलनामा पर्याप्त आर्थिक लाभ नहुने भन्दै उनीहरूले व्यवस्थापन तहमा जानुभन्दा हालकै भूमिकामा राम्रो पारिश्रमिक र आफ्नो योगदानको उचित मूल्यांकनलाई प्राथमिकता दिन थालेका हुन् ।
यो प्रवृत्ति मुख्यभूमि चीनका सामाजिक सञ्जालमा समेत तीव्र रूपमा फैलिएको छ । यस विषयसँग सम्बन्धित पोस्टहरूले ४ करोडभन्दा बढी भ्युज पाइसकेका छन् ।
सामाजिक सञ्जालमा कर्मचारीहरूले पदोन्नति अस्वीकार गर्दा प्रयोग गर्न सकिने स्क्रिप्टसमेत शेयर गरिरहेका छन् ।
त्यस्ता स्क्रिप्टमा पदोन्नतिको प्रस्तावका लागि कृतज्ञता व्यक्त गर्ने, आफू नयाँ जिम्मेवारीका लागि पर्याप्त तयार नभएको बताउने तथा हालकै भूमिकामा राम्रो पारिश्रमिक वा आफ्नो योगदानको उचित मूल्यांकन खोज्ने कुरा उल्लेख गरिएका छन् ।
‘जुन’ नामले चिनिने एक अनलाइन प्रयोगकर्ताले आफ्नो करिब एक दशक लामो करिअरमा तीनपटक पदोन्नति अस्वीकार गरिसकेकी छन् ।
उनले पहिलोपटक एउटा इन्टरनेट कम्पनीमा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा काम गर्दा पदोन्नतिको प्रस्ताव अस्वीकार गरेकी थिइन् । नयाँ जिम्मेवारी स्वीकार गर्नुको सट्टा उनले यात्रा रोजिन् ।
पछि एउटा शैक्षिक कम्पनीमा प्रशिक्षण केन्द्रको नेतृत्व गर्ने गरी पदोन्नति पाएपछि बढ्दो दबाब थेग्न नसकेर उनी दुई सातामै आफ्नो पुरानै पदमा फर्किइन् ।
गत अप्रिलमा उनले तेस्रोपटक पदोन्नति अस्वीकार गरिन् । पदोन्नतिसँगै पारिश्रमिकमा उल्लेखनीय वृद्धि नहुने महसुस भएपछि उनले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन् ।
अनलाइन सञ्चारमाध्यम ३६ केआरसँगको अन्तर्वार्तामा जुनले व्यवस्थापन तहका पदमा आर्थिक लाभको तुलनामा धेरै जिम्मेवारी हुने बताइन् ।
अर्को इन्टरनेट कम्पनीकी उत्पादन व्यवस्थापक झेङका लागि पनि ‘सिनियर’ पदको उपाधि पुरस्कारभन्दा बढी बोझजस्तो बन्यो ।
पदोन्नतिपछि उनले एक्लैले विभिन्न जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएको बताइन् । उनका मालिकले भने त्यसबाट उत्पन्न दबाबलाई ‘स्वतन्त्र रूपमा काम गर्ने क्षमता विकास गर्ने अवसर’ का रूपमा व्याख्या गरेका थिए ।
‘जब तपाईं वरिपरि हेर्नुहुन्छ र यो कम्पनीमा आफूले अनुकरण गर्न चाहने कोही पनि देख्नुहुन्न भने, त्यसले यो वातावरण अब तपाईंको विकासका लागि अनुकूल छैन भन्ने संकेत गर्छ,’ झेङले भनिन् ।
महत्त्वाकांक्षा त्यागेको अर्थ होइन
युवा चिनियाँ कर्मचारीहरूले पदोन्नति अस्वीकार गर्नु महत्त्वाकांक्षा त्याग्नु वा ‘ले फ्ल्याट’ अर्थात् जीवनमा कुनै महत्वाकांक्षा नराखी यथास्थितिमा बस्नु नभएको बताएका छन् ।
बरु, उनीहरू वरिष्ठ व्यवस्थापन र अग्रपंक्तिका कर्मचारीबीच रहेर काम गर्नुपर्ने मध्य व्यवस्थापन तहसँग जोडिएको तीव्र दबाबबाट टाढा रहन चाहन्छन् ।
एक अनलाइन प्रयोगकर्ताले अस्थायी टिम लिडर बनेपछि आफूले महिनामा थप १०० युआन (१५ अमेरिकी डलर) मात्र पाएको, तर काममा समस्या आउनेबित्तिकै त्यसको जिम्मेवारी आफूले लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
‘अस्थायी टिम लिडर बनेपछि मैले महिनामा थप १०० युआन पाएँ, तर जब केही गलत हुन्थ्यो, जिम्मेवार भने मलाई नै ठहर्याइन्थ्यो,’ उनले लेखेका छन् ।
चीनबाहिर पनि बढ्दो प्रवृत्ति
पदोन्नति अस्वीकार गर्ने यो प्रवृत्ति चीनमा मात्र सीमित छैन । बेलायती भर्ती कम्पनी रोबर्ट वाल्टर्सले विश्वव्यापी रूपमा देखिएको यस्तो प्रवृत्तिलाई ‘कन्सस अनबोसिङ’ नाम दिएको छ ।
कम्पनीले सन् २०२४ मा गरेको सर्वेक्षणमा जेनेरेसन जेडका आधाभन्दा बढी उत्तरदाताले मध्य व्यवस्थापन तहमा पुग्ने आकांक्षा नरहेको बताएका थिए ।
त्यस्तै, सर्वेक्षणमा सहभागी ७२ प्रतिशतले अरूलाई व्यवस्थापन गर्नुभन्दा व्यक्तिगत विकासलाई प्राथमिकता दिएको बताएका थिए ।
यसले युवा पुस्तामा करिअरको सफलतालाई केवल पदोन्नति वा व्यवस्थापन तहमा पुग्नुका आधारमा नभई काम–जीवन सन्तुलन, पारिश्रमिक र व्यक्तिगत विकाससँग जोडेर हेर्ने प्रवृत्ति बढिरहेको संकेत गर्छ ।