२९ असोज २०८३, बिहीबार
देउवा पक्ष विभाजित

देउवाको 'चुनदेवी कांग्रेस' दुई कित्ता; शेखर न यता, न उता !

भदौ २९, २०८३
काठमाडौं
देउवाको 'चुनदेवी कांग्रेस' दुई कित्ता; शेखर न यता, न उता !

आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य र पदाधिकारीमा निर्वाचित भएकाहरूलाई विशेष अवसर दिने निर्णय गर्‍यो ।

बैठकले कोही पनि महाधिवेशन प्रक्रियामा नछुटुन् र पार्टीमा रहन चाहने प्रत्येक सदस्यले भाग लिने वातावरण बनोस् भन्ने चाहनासहित महत्वपूर्ण निर्णय गरेको हो ।

‘१५औँ महाधिवेशनको प्रक्रियामा असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन उत्साही पार्टीका सबै साथीहरूप्रति यो बैठक सम्मान व्यक्त गर्दछ‚’ निर्णयमा लेखिएको छ‚ ‘यस सन्दर्भमा १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ।’

यो निर्णयले गएको पुसको अन्तिममा भएको विशेष महाधिवेशनमा सहभागी नभएका र न्यायका लागि अदालतको ढोका ढकढक्याइरहेका असन्तुष्ट समूहलाई पार्टी मूलधारमा फर्कने बाटो खुलेको छ । विशेष गरेर निवर्तमान सभापति शेरबहादुर देउवा र उनको समूह‚ नेता शेखर कोइराला र उनको समूह‚ नेता शशांक कोइराला र उनीनिकट केही नेताहरू मात्र होइन, पूर्णबहादुर खड्का‚ विमलेन्द्र निधि‚ प्रकाशमान सिंहलगायतका पाका उमेर समूहका नेताहरूलाई सानेपा छिर्ने बाटो खुलेको छ ।

null

तर‚ के सबै असन्तुष्ट नेताहरू सानेपामा फर्कन तयार छन् त ? लोकान्तरसँग संवादमा आएका चुनदेवीमा बसेका असन्तुष्ट नेताहरू भने दुई भागमा विभाजित भएका छन् ।

३० भन्दा बढी केन्द्रीय सदस्यहरू सानेपा फर्कन तयार भएका छन् । तर‚ अझै केही सिनियर नेताहरू भने पार्टीमा नफर्कने बताइरहेका छन् ।

पूर्णबहादुर खड्का निकट रहेका नेताहरू भने आफूहरू कांग्रेसको संस्थापन धारमा फर्कन तयार भएको बताउँछन् । केही दिनअघि उनीहरूले सभापति गगनकुमार थापासमक्ष नै छलफल गर्दै पार्टीमा फर्कने वातावरण बनाइदिन अनुरोध गरेका थिए । २५ जना केन्द्रीय नेताले हस्ताक्षर गर्दै पार्टीलाई एक बनाउन अनुरोध गरेका थिए ।

हस्ताक्षरकर्तामध्येका एक नेता रामहरि खतिवडा आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सकारात्मक निर्णय गरेको भन्दै पार्टी एकताको बाटोमा गएको बताउँछन् । उनले विना सर्त ३० गतेको केन्द्रीय समिति बैठकमा फर्कने जानकारी दिए ।

'निर्णय ठीक छ। पार्टी मिलाउनुपर्छ। सबैलाई धन्यवाद। अब एकताको अधिवेशन गर्न सक्नुपर्छ,' उनले भने, 'रूख र चार तारामा एकताबद्ध भएर सबै लागौँ।'

असन्तुष्ट समूहका नेता श्याम घिमिरे डिजिटल अध्यावधिक नगरे पनि पुससम्म क्रियाशील नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने तथा केन्द्रीय नेताहरूलाई केन्द्रीय नेतृत्वको हैसियत र महाधिवेशन आयोजक बन्न पाउने अवसरले चुनदेवी कांग्रेस (देउवा पक्ष)को माग र मुद्दा सम्बोधन भइसकेको बताउँछन् । त्यसैले आफू मात्र होइन, सिङ्गो चुनदेवी समूह नैतिक रूपमा मूलधारमा फर्कन बाध्य भएको भनाइ उनको छ ।

तर‚ उनी सबै नेताहरू नफर्के पनि आफूहरूको ठूलो जमात भने मूलधारको राजनीतिमा फर्कने बताउँछन् । पूर्णबहादुर खड्काले पनि मूलधारमा फर्कन निर्देशन दिइसकेको भनाइ उनको छ । खड्का भने आफू मुद्दा मामिलामा अदालतमा रहेकाले फर्कने नैतिक आधार नभएको भन्दै आएका छन् ।

'हामीले उठाएका र राखेका माग सम्बोधन भयो। अब हामी मूलधारमा अर्थात् सानेपा फर्कन्छौँ,' घिमिरेले लोकान्तरसँग भने, 'चुनदेवी कांग्रेस नैतिक रूपमा सानेपा जान बाध्य भयो। अब एकताको महाधिवेशनमा लाग्नै पर्छ।'

नाटक मञ्चन गरियो भन्दै असन्तुष्टि

विगतमा आफूहरूले नै उठाएको मुद्दा सम्बोधन हुने भए पनि असन्तुष्ट समूहका केही नेताहरू अझै पनि एकताको महाधिवेशन गर्न सकिने पक्षमा छैनन् ।

३ असोजमा वडा अधिवेशन तोकिएको र त्यसको तीन दिनअघि मात्र कुन हालतमा केन्द्रीय सदस्य बन्न जाने भन्ने प्रश्न उनीहरूको छ ।

त्यसमाथि सिनियर नेताहरू शेरबहादुर देउवा‚ शेखर कोइराला‚ शशांक कोइराला‚ विमलेन्द्र निधि‚ कृष्ण सिटौला तथा प्रकाशमान सिंहलगायतको सम्मानजनक राजनीतिक व्यवस्थापन नभएका कारण पनि संस्थापन समूहले बोलाउँदैमा जान नसकिने बताउँछन्, असन्तुष्ट समूहका नेता गुरु बराल ।

‘शीर्ष नेताहरूलाई बाहिर राखेर गराउन खोजिएको सहमति स्वीकार्य हुँदैन‚’ उनी भन्छन्‚ ‘आइतबारको निर्णय साउनमै गरिदिएको भए के बिग्रने थियो ? यो सबै नाटक हो । यो स्वीकार्य हुन सक्दैन ।’

अझै असन्तुष्ट नेताहरूले राजनीतिक सहमति खोजेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाको सम्मानजनक बहिर्गमन खोजेका छन् ।

देउवाकै नेतृत्वमा एकताको १५औँ महाधिवेशन खोजेका छन् । राजनीतिक सहमति र देउवापछिका सिनियर नेताहरूको राजनीतिक भूमिकाको पनि ग्यारेन्टी चाहेका छन् ।

‘कि त अधिवेशन पोस्टपोन्ड गर्नुपर्थ्यो र राजनीतिक सहमति खोज्नु पर्दथ्यो,’ नेता प्रकाशशरण महत भन्छन्, ‘अब यी विषयको केही अर्थ छैन । विगतको मागको सान्दर्भिकता सकियो । अधिवेशन सारेर सिरियस नेगोसेसन भयो भने मात्र सहमति हुन्छ।’

null

कृष्णप्रसाद सिटौला निकट मानिएका नेता कुन्दनराज काफ्ले पनि गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा आफू फर्कन तयार नरहेको बताउँछन् । एकपक्षीय र सिनियर नेताहरूलाई समाप्त गर्ने गरी भएको आह्वानको अर्थ नै नरहेको दाबी उनको छ ।

‘सैनिक भर्ती खुलेर सिपाही बन्नका लागि फर्म भर्नका लागि जस्तो उनीहरूले बोलाउँदैमा जान सकिँदैन‚’ काफ्ले भन्छन्‚ ‘तीन दिनका लागि केन्द्रीय सदस्य हुन किन जाने ? म त १६ गतेदेखि वडा अधिवेशन गराउन दोलखा जिल्ला हिँड्न लागेको।’

असन्तुष्ट समूहले पनि पार्टीको १५औँ महाधिवेशन गर्ने भन्दै कार्यतालिका सार्वजनिक नै गरेको छ । असोज १५ मा वडा अधिवेशन गरेर अधिवेशन शुरूआत गर्ने तथा २०८३ मंसिर २१, २२ र २३ गते केन्द्रीय अधिवेशन गर्ने कार्यतालिका नै बनाएको छ ।

त्यसअनुसार आइतबार मात्र यो समूहले निर्वाचन गराउनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । शशांक कोइरालालाई संयोजक तोकेर महाधिवेशन आयोजन समिति गठन र देशभरका विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको अवस्था छ ।

दुवै महाधिवेशनमा भाग नलिने शेखर समूहको तयारी

असन्तुष्ट समूहमा रहेका नेता डा. शेखर कोइराला समूहले पनि आइतबारको आह्वानलाई चित्त बुझाएको छैन । उनीहरूले पनि पुराना र शीर्ष नेतृत्वको व्यवस्थापनमा प्रश्न उठाएका छन् ।

समूहले ३ गतेदेखिको वडा अधिवेशनमा पनि सहभागिता नजाउने र केन्द्रीय नेतृत्वमा पनि नजाने निर्णय गरेको छ ।

null

समूहका नेता सञ्जय गौतमले सभापति गगनकुमार थापाको आह्वानको तुक नै नभएको जिकिर गरे । उनले साउनमै १४औँ महाधिवेशनबाट आएका १११ जना केन्द्रीय सदस्यलाई समेट्न सकेको भए आजको स्थिति नआउने टिप्पणी गरे । साथै, उनले एकताको महाधिवेशन नहुने भएकाले कुनै पनि महाधिवेशनमा आफूहरू सहभागी नहुने धारणा राखे ।

‘नयाँ वातावरण बनाउने तथा अधिवेशनको मिति सारेर नयाँ घोषणा गर्ने, अनि आवश्यक तयारीमा एकसाथ जुट्न सके मात्र हो‚’ उनले लोकान्तरसँग भने, ‘तीन दिनअघि बोलाउने कुरा बेतुकको, बेमौसमको बाजा हो । यसरी एकता अधिवेशन हुन सक्दैन ।’

उनले चुनदेवी समूहले तोकेको मितिमा हुने भनिएको महाधिवेशनमा पनि कोइराला समूह सहभागी हुने सम्भावना नरहेको स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्