
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको क्रममा सातवटै प्रदेशमा स्थलगत अध्ययन तथा सरोकारवालासँगको अन्तरक्रिया भइरहेको छ । यही क्रममा शिक्षा तथा खेलकुद मन्त्रीज्यूसहितको टोलीसँग मधेश प्रदेशका धनुषा, महोत्तरी, सिराहा र सप्तरी जिल्लाको स्थलगत भ्रमणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलको सदस्यका रूपमा प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त भयो ।
हामी त्यहाँ करिब १५ जति विद्यालयमा पुगेर शिक्षक, विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय जनप्रतिनिधि, शिक्षा विकास तथा समन्वय एकाइ, राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पदाधिकारी तथा विज्ञसँग छलफल गर्ने र स्थानीय समुदायका अनुभव तथा अपेक्षा सुन्ने अवसर मेरा लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको प्रक्रियालाई नजिकबाट बुझ्ने महत्त्वपूर्ण अनुभव बन्यो ।
यहाँ प्रस्तुत विचार सम्पूर्ण सात प्रदेशको निष्कर्ष नभई उक्त भ्रमणमा प्रत्यक्ष सहभागी भएर मैले देखेको, सुनेको र अनुभव गरेको मधेश प्रदेशका चार जिल्लाको मेरो व्यक्तिगत अनुभव हो ।
मेरो अनुभवमा यस भ्रमणको सबैभन्दा महत्त्वपूर्ण पक्ष केवल विद्यालयको अवस्था अवलोकन गर्नु थिएन । यसको महत्त्व राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि नीति निर्माण गर्ने तह स्वयं विद्यालय र समुदायसम्म पुगेर उनीहरूको आवाज सुन्न खोजिरहेको थियो । विगतमा काठमाडौं वा केन्द्रमा बसेर नीति निर्माण गर्ने र त्यसलाई देशभर कार्यान्वयनका लागि पठाउने अभ्यास बढी देखिन्थ्यो । तर, विद्यालय शिक्षा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको दैनिक जीवनसँग जोडिएको विषय भएकाले यसको सुधार पनि उनीहरूको वास्तविक अनुभवबाट शुरू हुनुपर्छ । मधेश प्रदेशमा भएको यो प्रत्यक्ष संवादलाई मैले केन्द्रमुखी नीति निर्माणबाट सहभागितामूलक र अनुभवमा आधारित नीति निर्माणतर्फको एउटा सकारात्मक प्रयासका रूपमा अनुभव गरेँ ।
धनुषा, महोत्तरी, सिराहा र सप्तरीका विद्यालयमा पुग्दा मैले एउटै पाठ्यक्रम विभिन्न सामाजिक, सांस्कृतिक र भौगोलिक परिवेशमा कसरी फरक ढंगले अनुभव भइरहेको छ भन्ने कुरा नजिकबाट बुझ्ने अवसर पाएँ । शिक्षकका आफ्नै चुनौती छन्, विद्यार्थीका आफ्नै अपेक्षा छन्, अभिभावकको आफ्नै सोंच छ र स्थानीय तहका आफ्नै आवश्यकता छन् । संरचित प्रश्नावलीमार्फत् शिक्षक, विद्यार्थी, अभिभावक तथा विज्ञबाट लिखित सुझाव संकलन गरियो भने प्रत्यक्ष अन्तरक्रियामा आएका व्यावहारिक र अनुभवजन्य धारणालाई पनि सुन्ने अवसर मिल्यो । स्थानीय संस्कृति, रहनसहन, रैथाने ज्ञान, सीप, प्रविधि तथा विद्यालयमा भइरहेका असल अभ्यासको अवलोकनले मलाई एउटा कुरा स्पष्ट बनायो कि राष्ट्रिय पाठ्यक्रम एउटै हुन सक्छ, तर त्यसको सिकाइ सन्दर्भ विविध हुन्छ ।
स्थलगत छलफलमा मैले सबैभन्दा बढी अनुभव गरेको विषय ज्ञान र व्यवहारबीचको दूरी हो । विद्यार्थीले धेरै विषयवस्तु पढिरहेका छन्, तर सिकेको ज्ञानलाई दैनिक जीवनमा प्रयोग गर्ने अवसर पर्याप्त छैन । शिक्षकहरूले पाठ्यवस्तुको चाप, उपलब्ध समय, मूल्याङ्कन प्रणाली र स्रोतसाधनका कारण व्यवहारिक तथा प्रयोगात्मक शिक्षणमा देखिएका कठिनाइ पनि सुनाउनुभयो । त्यसैले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्दा विषयवस्तु थप्नेभन्दा पहिले के आवश्यक छ, कति आवश्यक छ, किन पढाउने र विद्यार्थीले त्यसलाई कहाँ प्रयोग गर्ने भन्ने प्रश्नमा गम्भीर हुनुपर्ने मेरो अनुभव रह्यो ।
विशेषगरी गणित र विज्ञानलाई सूत्र, परिभाषा र सिद्धान्त सम्झाउने विषयमा सीमित नराखी दैनिक जीवन, कृषि, स्वास्थ्य, बजार, बैंकिङ, निर्माण, वातावरण, प्रविधि र स्थानीय समस्यासँग जोडेर प्रयोगमुखी बनाउने विषयमा प्राप्त सुझाव निकै महत्त्वपूर्ण लाग्यो ।
विद्यार्थीमा नैतिकता, अनुशासन, सदाचार, इमान्दारिता र जिम्मेवारीबोध विकास गर्नुपर्ने विषय पनि धेरै छलफलमा उठ्यो । शिक्षाले केवल परीक्षा उत्तीर्ण गराउने वा रोजगारीका लागि ज्ञान दिने मात्र होइन, असल नागरिक निर्माण गर्ने उद्देश्य पनि राख्नुपर्छ । त्यसैले नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र जीवनमूल्यलाई राष्ट्रिय पाठ्यक्रम प्रारूपमा अझ प्रभावकारी रूपमा समेट्नुपर्ने आवश्यकता मैले महसुस गरेँ । यसलाई छुट्टै विषयका रूपमा राख्ने वा विभिन्न विषय र विद्यालयका गतिविधिमा एकीकृत गर्ने भन्ने विषयमा थप छलफल आवश्यक होला, तर मूल्यविहीन ज्ञानले मात्र शिक्षाको उद्देश्य पूरा गर्दैन भन्ने कुरा स्पष्ट छ ।
भ्रमणका क्रममा पुस्तकरहित शुक्रबारीय कार्यक्रमलाई पनि पाठ्यक्रम परिमार्जनसँग जोड्नुपर्ने धारणा महत्त्वपूर्ण रूपमा आयो । खेलकुद, कला, संगीत, नृत्य, कृषि, उद्यमशीलता, हस्तकला, खाना पकाउने, नेतृत्व, सञ्चार, स्थानीय सीप तथा अन्य जीवनोपयोगी क्रियाकलापलाई केवल अतिरिक्त क्रियाकलापका रूपमा राखिरहनुभन्दा औपचारिक सिकाइका रूपमा विकास गर्न सकिन्छ । विद्यार्थीले कुनै सीप सिक्यो, प्रयोग गर्यो, परियोजना पूरा गर्यो र त्यसबाट प्रमाणयोग्य उपलब्धि हासिल गर्यो भने त्यसलाई श्रेय दिने व्यवस्था गर्न सकिन्छ । सहभागीहरूको सुझावअनुसार यस्ता व्यावहारिक तथा व्यवसायिक प्रकृतिका सिकाइमा आन्तरिक मूल्याङ्कनको हिस्सा ७५ प्रतिशतसम्म राखी परियोजना, प्रदर्शन, प्रयोग, कार्यसञ्चिका र वास्तविक कार्यसम्पादनलाई मूल्याङ्कनको आधार बनाउन सकिन्छ । यसले परीक्षा केन्द्रित शिक्षाबाट अनुभव र कार्यसम्पादन केन्द्रित शिक्षातर्फ लैजान सक्छ ।
त्यसैगरी, शिक्षक तयारीको प्रश्न पनि अत्यन्त महत्त्वपूर्ण देखियो । पाठ्यक्रम परिमार्जन भयो तर शिक्षकको तयारी भएन भने कक्षाकोठामा अपेक्षित परिवर्तन आउँदैन । शिक्षकलाई समयानुकूल तालिम, अभिमुखीकरण, निरन्तर पेशागत विकास र आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुपर्छ । आजका विद्यार्थी सूचना प्रविधि र डिजिटल माध्यमसँग हुर्किएका छन् । त्यसैले सूचना तथा सञ्चार प्रविधि र कृत्रिम बुद्धिमत्तालाई कुनै एउटा विषयमा सीमित नगरी सबै विषयको शिक्षण–सिकाइलाई प्रभावकारी बनाउने माध्यमका रूपमा प्रयोग गर्न सकिने गरी पाठ्यक्रममा समेटिनुपर्छ । तर प्रविधि विद्यार्थीको आफ्नै सोंच, सिर्जनशीलता र आलोचनात्मक चिन्तनलाई विस्थापित गर्ने होइन, अझ सशक्त बनाउने साधन हुनुपर्छ ।
भ्रमणबाट मैले अर्को कुरा पनि स्पष्ट रूपमा अनुभव गरेँ कि पाठ्यक्रम सुधार र स्रोतसाधन सुधार सँगसँगै जानुपर्छ । प्रयोगात्मक विज्ञानका लागि प्रयोगशाला, सूचना प्रविधिका लागि उपकरण, विद्युत् र इन्टरनेट, सीपमूलक शिक्षाका लागि औजार र सामग्री तथा नयाँ शिक्षण पद्धतिका लागि दक्ष शिक्षक चाहिन्छ । त्यसैले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्दा पाठ्यवस्तु परिवर्तनसँगै सामग्री व्यवस्थापन, भौतिक संरचना, प्रयोगशाला, पुस्तकालय, डिजिटल पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्थापनलाई पनि कार्यान्वयन योजनासँग जोड्नुपर्छ ।
मधेश प्रदेशका विद्यालय र समुदायसँगको प्रत्यक्ष सम्पर्कले स्थानीय रैथाने ज्ञान, सीप, संस्कृति र अभ्यासलाई नियमित शिक्षासँग जोड्नुपर्ने आवश्यकता पनि प्रस्ट बनायो । स्थानीय कृषि, हस्तकला, कला, भाषा, संस्कृति, परम्परागत प्रविधि र समुदायमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका सीप विद्यार्थीका लागि वास्तविक सिकाइ स्रोत बन्न सक्छन् । आधुनिक विज्ञान र प्रविधिसँग स्थानीय ज्ञानको संवाद गराउन सकियो भने विद्यार्थीले आफ्नो समुदायलाई पनि ज्ञानको स्रोतका रूपमा बुझ्न सक्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूपले राष्ट्रिय मापदण्ड कायम राख्दै स्थानीय तह र विद्यालयलाई आवश्यक लचकता दिनु यस दृष्टिले महत्त्वपूर्ण हुन्छ ।
साधारण शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाबीचको दूरी घटाउने विषयमा पनि सहभागीहरूको धारणा स्पष्ट थियो । विद्यालय तहदेखि नै विद्यार्थीलाई सीप, प्रविधि, पेशा, उद्यम र कामको संसारसँग परिचित गराउन आवश्यक छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लगायतका निकायसँग समन्वय गरी साधारण र प्राविधिक शिक्षाबीचको दोहोरोपन हटाउन सकिन्छ । यसको उद्देश्य सबै विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउनु होइन; प्रत्येक विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र सम्भावनाअनुसार भविष्यको बाटो पहिचान गर्ने अवसर दिनु हो ।
यस सम्पूर्ण अनुभवको केन्द्रमा मैले विद्यार्थीलाई देखेँ । विद्यार्थीको रुचि, क्षमता, भावना, जिज्ञासा, प्रतिभा र सम्भावनालाई आधार बनाएर सिकाइका अवसर सिर्जना गर्नुपर्छ । शिक्षक पाठ पढाउने व्यक्ति मात्र होइन, सहजकर्ता, मार्गदर्शक र प्रतिभा पहिचानकर्ता बन्नुपर्छ । अभिभावक केवल परीक्षाको अंक खोज्ने होइन, सिकाइका साझेदार बन्नुपर्छ । स्थानीय तह केवल भौतिक संरचना निर्माण गर्ने निकाय होइन, स्थानीय आवश्यकता पहिचान गर्ने र विद्यालयको शैक्षिक विकासमा साझेदारी गर्ने निकाय बन्नुपर्छ ।
शिक्षा तथा खेलकुद मन्त्रीज्यूसहितको टोलीसँग प्रत्यक्ष सहभागी भएर मैले अनुभव गरेको मुख्य कुरा यही हो कि राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन केवल विषयवस्तु परिवर्तन गर्ने काम होइन; नेपालको विद्यालय शिक्षाको दिशा परिवर्तन गर्ने अवसर हो । सातवटै प्रदेशमा भइरहेका स्थलगत अध्ययन र अन्तरक्रियाबाट प्राप्त सुझावलाई व्यवस्थित रूपमा विश्लेषण गरी राष्ट्रिय पाठ्यक्रम प्रारूपमा समेट्न सकियो भने यो प्रक्रिया विगतको केन्द्रमुखी नीति निर्माणभन्दा फरक र अर्थपूर्ण बन्न सक्छ ।
अन्ततः राष्ट्रिय पाठ्यक्रम प्रारूप यस्तो बनोस्, जसमा राष्ट्रिय दृष्टि होस्, स्थानीय जरा होस्; ज्ञानसँगै सीप होस्; प्रविधिसँगै मानवीयता होस्; सिद्धान्तसँगै प्रयोग होस्; परीक्षा होस् तर परीक्षा मात्र शिक्षा नहोस् । केन्द्रमा बसेर बनाइएको पाठ्यक्रमभन्दा विद्यालयमा पुगेर सुनिएको आवाजबाट परिमार्जित पाठ्यक्रम बढी जीवन्त हुन सक्छ । मैले मधेश प्रदेशका चार जिल्लाको भ्रमणमा प्रत्यक्ष रूपमा अनुभव गरेको कुरा यही हो कि राम्रो पाठ्यक्रम कागजमा तयार मात्र हुँदैन, त्यसले विद्यार्थी, शिक्षक, विद्यालय र समुदायको वास्तविक जीवन सुनेर आफूलाई परिमार्जित गर्छ ।
[खनाल राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका सदस्य हुन् ।]