
२०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागी हुन विभिन्न खेलका खेलाडी जापान प्रस्थान गर्नेक्रम शुरु भएसँगै नेपाली खेलमा यससँग सम्बन्धित विभिन्न कमी–कमजोरी सार्वजनिक हुन थालेका छन् ।
विगतको परम्परालाई निरन्तरता दिँदै खेलाडी, प्रशिक्षक र प्राविधिकसँगै ठूलो संख्यामा कर्मचारीहरू पनि जापान जान लागेको प्रसंग सेलाउन नपाउँदै हवाई टिकट खरिदमा समेत सम्बन्धित निकायबाट कमजोरी भएको देखिएको छ ।
एसियाली खेलकुदको २०औँ संस्करण जापानको आइची–नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा सहभागी हुन सरकारले नेपालबाट दुई सय ११ सदस्यीय टोली जापान पठाउँदै छ ।
यो संख्यामा नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेलसँग सम्बन्धित अन्य संघ–संस्थाबाट जाने पदाधिकारी र व्यक्तिहरूको नाम भने समावेश गरिएको छैन । एनओसी र अन्य खेल संघहरूबाट जापान जानेको सूची पनि लामै छ ।
सरकारले उपलब्ध गराएको सूचीमा समावेश गरिएकामध्ये एक सय ३५ जना विभिन्न खेलका खेलाडी छन् भने २९ जना प्रशिक्षक र सहायक प्रशिक्षक । यसपटक एसियाडमा नेपालले विभिन्न २१ खेलमा सहभागिता जनाउँदैछ ।
प्रतियोगिता जापानको आइची–नागोयामा आयोजना हुने भए पनि अधिकांशको हवाई टिकट जापानकै अर्को शहर ओशाकाको खरिद गरिएको छ । सोही कारणले अब खेलाडीसहित नेपाली टोलीका सदस्यहरूले ओशाकाबाट प्रतियोगितास्थलसम्म पुग्न पुन: ट्रेन वा बसको यात्रा गर्नुपर्नेछ ।
‘हामी आइची–नागोयाकै टिकट खरिद गरिएको होला भन्नेमा ढुक्क थियौँ, तर टिकट त ओशाकाको काटिएको रहेछ । लामो यात्रापछि थकित भएका खेलाडीले फेरि ओशाकाबाट खेल स्थलसम्मको यात्रा गर्नुपर्ने बाध्यता आइलाग्यो,’ एक खेलका प्रशिक्षकले लोकान्तरसँग दु:खेसो पोखे ।
नेपाल कराँते महासंघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव युवराज लामाले पनि खेलाडीको टिकट खरिद गर्दा कमजोरी देखिएको बताए । यस विषयमा आफूले राखेपसँग कुरा राखेपको जानकारी पनि उनले दिए ।
यसपटक ऐतिहासिक पदकको आश गरिएको कराँते टोली जापान पुगिसकेको छ । कराँते टोलीले एसियाली खेलकुदको अन्तिम तयारी जापानमै गरिरहेको छ । कराँते टोलीको टिकट खरिदमा समेत कमजोरी भएको उनले बताए ।
‘हामीले एसियाडका लागि अन्तिम चरणको प्रशिक्षण टोकियोमा गर्नुपर्ने थियो । यसको जानकारी हामीले पहिले नै राखेपलाई गराएका थियौँ । तर, राखेपले हाम्रा खेलाडीको टिकट नागोयाको काटिदियो । नागोयाबाट फेरि अर्को टिकट काटेर खेलाडी टोकियो पुग्नुपर्यो,’ उनले भने ।
कराँते टोली १६ तारिखसम्म टोकियोमा प्रशिक्षण गरेर एसियाडमा सहभागी हुन १७ तारिखमा फेरि नागोया पुग्नेछ । एसियाड सकिएलगत्तै कराँते खेलाडीले जापानकै योकोहामामा आयोजना हुने अर्को महत्त्वपूर्ण प्रतियोगितामा भाग लिनेछन् ।
सेप्टेम्बर २५ देखि २७ तारिखसम्म विश्व सितोरियो कराँते महासंघको आयोजनामा हुने ११औँ सितोरियो कराँते अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन योकोहामा पुग्नुपर्ने कराँते टोलीको टिकट भने ओशाकाका लागि काटिएको छ ।
‘जानुपर्ने एकातिर, टिकट काटिएकोछ अर्कोतिरको । खेलाडीले अनावश्यक दु:ख पाउने भएकाले मैले सम्बन्धित निकायममा गुनासो गरेको हुँ । प्रतियोगिताअघि राम्ररी आराम गर्न पाए पो खेलाडीले सोचेजस्तो नतिजा ल्याउँछन् । टिकट काट्ने ट्राभल एजेन्टसँग पनि हाम्रो सम्पर्क छैन । अनि के गर्ने,’ लामाले दु:खेसो पोखे ।
राखेपका एक अधिकारीका अनुसार, एसियाडमा सहभागी हुने खेल टोलीको टिकटका लागि बोलपत्र आव्हान गर्दा नै त्रुटि भएको थियो । ‘टिकटका लागि अनलाइनमार्फत बोलपत्र आव्हान गरिएको थियो । त्यसमा आइची–नागोया उल्लेख गरिएको थिएन । त्रुटि त्यहीँबाट शुरू भएको हो,’ ती अधिकारीले भने ।

उनका अनुसार, हवाइ टिकटको जिम्मा काठमाडौँको जमलस्थित ‘सुरुची ट्राभल एन्ड टुर्स प्रालि’ले पाएको थियो । ‘बोलपत्र आव्हान गर्दा जानेरै त्रुटि गरियो कि अञ्जानमा, त्यो मलाई थाहा भएन । तर, ट्राभल एजेन्सीले नागोयाको टिकट काट्न असमर्थता जनायो । त्यसपछि दुबै पक्षबीच ओशाकाका लागि सहमति जुटेको हो,’ उनले भने ।

स्रोतका अनुसार, केही खेलाडी र खेल पदाधिकारीको टिकट भने नागोयासम्मकै छ । ओसाकादेखि नागोयासम्मको दूरी करिब एक सय ५५ किलोमिटर छ । ओशाकाबाट नागोयासम्मको बुलेट ट्रेनको औसत भाडा ४५ अमेरिकी डलर अर्थात, करिब ६ हजार ८ सय ७४ रुपैयाँ पर्छ ।
अझ, बुलेट ट्रेनको प्रथम श्रेणीमा यात्रा गर्दाको औसत भाडा त ६५ डलर अर्थात, ९ हजार ९ सय रुपैयाँसम्म पर्छ । ‘एसियाली खेलकुदका क्रममा यात्रुको चाप पनि निकै हुन्छ । अर्कोतिर, केही खेलका खेलाडीसँग भारी खेल सामाग्री पनि हुन्छ । यस्तो अवस्थामा अनावश्यक दु:ख व्यहोर्नुपर्ने भयो,’ ती प्रशिक्षक भन्छन् ।
राखेप स्रोतका अनुसार, बोलपत्र आव्हानमा भएको त्रुटिका कारण एकातिर खेलाडीले अनावश्यक दु:ख पाएका छन् भने अर्कोतिर, स्थानीय यातायातमा राज्याको लाखौँ रुपैयाँ अनावश्यक रूपमा खर्च हुनेछ । एसियाड आयोजकले समेत ओशाकाबाट आइची–नागोयासम्म पुग्न आफूहरूले कुनै सहयोग गर्न नसक्ने जवाफ फर्काएको जानकारी पनि उनले दिए ।
राखेपका ती अधिकारीका अनुसार, यसपटक अन्य केही त्रुटि पनि भएका छन् । ‘एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिइएको छ । भण्डार शाखाका प्रमुखले नै सार्वजनिक खरिदको जिम्मेवारी पनि पाएका छन् । हवाई टिकट खरिद प्रक्रिया पनि यसैभित्र पर्छ । खरिद गर्ने र वितरण गर्ने दुवै जिम्मेवारी एउटै व्यक्तिलाई । अनि, यस्तै समस्या निम्तिने हो,’ उनी भन्छन् ।
सुरुची ट्राभल एन्ड टुर्स प्रालिका कमलप्रसाद भट्टराई भने आफूहरूले एसियाडमा सहभागी हुने टोलीलाई सस्तो मूल्यमा टिकट उपलब्ध गराएको बताउँछन् । उनले एसियाडजस्तो बृहत खेल उत्सवको समयमा सबैलाई नागोयासम्मको टिकट उपलब्ध गराउन सम्भव नभएको बताए ।
‘राखेपले टेन्डर आव्हान गर्दा प्रतिटिकट एक लाख ६० रुपैयाँको सीमा तोकेको रहेछ । कुनै पनि ट्राभल एजेन्सीले नागोयाका लागि टेन्डर हालेन । हाम्रो ट्राभल एजेन्सीबाट मात्र टेन्डर पर्यो । हामीले पनि प्रति टिकट एक लाख ७१ हजारको मूल्य राखेका थियौँ । खरिद ऐन संशोधन नभएको भए टेन्डर नै रद्द हुने अवस्था थियो । तर, संशोधित खरिद ऐनका कारण राखेपलाई पनि प्रक्रिया अगाडि बढाउन सहज भयो,’ उनी भन्छन् ।
आफूहरूले यात्रुको चापका कारण खेल टोलीका सबै सदस्यलाई नागोयाको टिकट उपलब्ध गराउन नसक्ने जानकारी समयमै राखेपलाई गराएको पनि उनले बताए ।
‘त्यसपछि राखेप र हामीबीच नागोयानजिकैको अन्तर्राष्ट्रिय विमानस्थलमा खेल टोलीलाई ओराल्ने सहमति भएको हो । अहिले हामीले एक लाख ६३ हजारसम्ममै टिकट दिएका छौँ । एक सयभन्दा बढी खेलाडी र पदाधिकारीलाई त नागोयाकै टिकट उपलब्ध गराएका छौँ,’ उनले लोकान्तरसँग भने ।
स्रोतका अनुसार, यसपटकको एसियाडमा अन्य केही प्रक्रियागत त्रुटि पनि भएका छन् । यसअघिका एसियाली खेलकुदमा राखेपका सदस्यसचिवकै संयोजकत्वमा एसियाडको सचिवालय गठन हुन्थ्यो । तर, यसपटक राखेपका उपाध्यक्ष विशाल श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।
अर्कोतिर, तालिम तथा प्रशिक्षण विभागका प्रमुखलाई सचिवालयको सचिवको जिम्मेवारी दिने परम्परा रहँदै आएकोमा यसपटक विभागीय प्रमुखसमेत नरहेका कर्मचारी सानुराजा केसीलाई सचिव बनाइएको छ ।
‘यसपटक सदस्यसचिवको ठाउँमा उपाध्यक्षलाई एसियाड सचिवालयको संयोजक बनाइएको छ, जबकि राखेपमा उपाध्यक्ष कार्यकारी पद नै होइन । यसपटक उल्टो अभ्यास शुरू गरियो । सचिवको जिम्मेवारी पनि विभागीय प्रमुख नै नभएको व्यक्तिलाई दिइएको छ । यसरी विषयगत ज्ञान नभएका व्यक्तिलाई गहन जिम्मेवारी दिइँदा पनि समस्याहरू देखिएको हो,’ ती अधिकारी भन्छन् ।
यसैगरी, एसियाडमा सहभागी हुन छनोट गरिएका कर्मचारीहरूको विषयलाई लिएर पनि राखेपभित्र व्यापक असन्तुष्टि रहेको उनी बताउँछन् ।
उनका अनुसार, एउटै व्यक्तिले पटक–पटक विदेश जाने अवसर पाउने गरेका छन् भने केही कर्मचारीले कहिल्यै विदेश भ्रमणको अवसर पाएका छैनन् । कर्मचारीभित्र यसले ठूलै असन्तुष्टि जन्माएको छ ।
‘करिब नौ महिनाअघि फरक क्षमता भएका खेलाडीहरूको ओलम्पिकमा सहभागी हुन जापान गएका कर्मचारी अहिले पनि जापान जाँदैछन् । अघिल्लो एसियाडमा सहभागी भएका कर्मचारीहरूले पनि यसपटक अवसर पाएका छन् । तर, केही निरीह कर्मचारी सधैं अन्यायमा पर्दै आएका छन् । यसले असन्तुष्टि जन्माउनु स्वभाविक हो,’ उनी भन्छन् ।