२२ असोज २०८३, बिहीबार
२०औँ एसियाली खेलकुद

जापानमा एसियाली खेलकुदको महाकुम्भ : क्रुज शिपमा खेलाडीको आवास, साना खाटले सास्ती !

नेपालका १३५ खेलाडी, २१ खेलमा प्रतिस्पर्धा
असोज २, २०८३
काठमाडौं
जापानमा एसियाली खेलकुदको महाकुम्भ : क्रुज शिपमा खेलाडीको आवास, साना खाटले सास्ती !

एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को २०औँ संस्करण जापानको आइची–नागोयामा शनिबारदेखि शुरू हुँदैछ ।

१६ दिन अर्थात्, अक्टोबर ४ तारिखसम्म चल्ने यो महाकुम्भमा ४५ राष्ट्रकाका करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।

यसका अतिरिक्त, प्रतियोगितामा शरणार्थीहरूको एउटा टोलीले पनि सहभागिता जनाउने छ । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक शरणार्थीहरूको टोली सहभागी हुन लागेको हो । 

सन् २०२० को टोकियो ओलम्पिकपछि जापानमा आयोजना हुन लागेको यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो ।

एसियाली खेलकुदको ७५ वर्ष

एसियाली खेलकुद ३२ वर्षपछि जापान फर्किएको हो । यसअघि, जापानी शहर टोकियोले सन् १९५८ र हिरोसिमाले सन् १९९४ मा एसियाली खेलकुद आयोजना गरेका थिए ।

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदसँग अर्को एउटा विशेष संयोग पनि जोडिएको छ । यसपटक एसियाली खेलकुद आयोजनाको ७५ वर्ष पूरा भएको अवसर पनि जुरेको हो ।

एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो । त्यसयता, यो प्रतियोगिताको संस्कार, स्वरूप र सहभागितामा व्यापक परिवर्तन भइसकेको छ ।

पानीजहाजमा खेलाडीको आवास

यसपटक एसियाली खेलकुदको सबैभन्दा रोचक पक्ष भनेको खेलाडीहरू आवास अर्थात्, एथलिट्स भिलेजको व्यवस्थापन हो ।

एसियाली खेलकुदलाई थप भव्य र व्यवस्थित बनाउने तयारीमा जुटेको आयोजक समितिले खेलाडीको बसोबासका लागि नौलो र प्रभावकारी योजना अघि सारेको छ ।

खेलाडीको आवास व्यवस्थापनका लागि परम्परागत शैलीभन्दा फरक र नवीन विकल्पहरू छनोट गरिएको आयोजकले जनाएको छ ।

आयोजक समितिले शुरूमा नागोया रेसकोर्सको पुरानो स्थानमा एथलिट्स भिलेज निर्माण गर्ने योजना बनाएको थियो ।

तर, निर्माण सामग्रीको बढ्दो लागतका कारण उक्त योजना स्थगित गर्दै आयोजक समितिले खेलाडीलाई विभिन्न स्थानमा बेग्ला–बेग्लै राख्ने निर्णय गरेको हो ।

आयोजकले इटालीको ‘कोस्टा सेरेना’ नामक विशाल ‘क्रुज शिप’लाई खेलाडीको आवासका रूपमा प्रयोग गर्ने अनौठो र ऐतिहासिक निर्णय गरेको छ ।

नागोया बन्दरगाहमा लंगर हालिने उक्त जहाजमा करिब चार हजार खेलाडी र अफिसियललाई राखिने आयोजकले जनाएको छ ।

करिब दुई सय ९० मिटर लामो उक्त जहाजमा एक हजार पाँच सय कोठा, पौडी पोखरी, जिमखाना र रेस्टुरेन्टहरूसहित पाँचतारे होटलसरहको सुविधा उपलब्ध हुनेछ ।

यसका साथै, पोर्ट अफ नागोयामा करिब दुई हजार खेलाडीका लागि ‘सिपिङ कन्टेनर’को शैलीमा काठका अस्थायी भिल्लाहरू तयार पारिनेछन् ।

रोचक कुरा के छ भने, खेलकुद सकिएपछि ती भिल्लाहरूलाई विपद् व्यवस्थापन एकाइ र पर्यटक आवासका रूपमा पुन: प्रयोग गरिनेछ ।

यसका अतिरिक्त, खेलाडीका लागि प्रिफेक्चर र आसपासका सहरहरूका होटलहरूमा पनि बसोबासको प्रबन्ध मिलाइएको छ ।

प्राकृतिक प्रकोपबाट जोगिन विशेष तयारी

एसियाडजस्तो वृहत खेल मेलामा जापानले पहिलो पटक यस्तो अभ्यास गर्न लागेको हो । आयोजक कमिटीका मासासी हायाकावाका अनुसार, खेलाडीहरूलाई कुनै पनि प्रकारको विभेद नहोस् भनेर विभिन्न ६ प्रकारका क्याबिन निष्पक्ष रूपमा उपलब्ध गराइनेछ ।

प्रशान्त महासागरमा सम्भावित टाइफुन अर्थात, समुद्री आँधीको जोखिमलाई ध्यानमा राखी सुरक्षाको विशेष व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

आँधीबेहरी, सुनामी र अन्य प्राकृतिक विपद्को आपतकालीन अवस्थामा आवश्यक परे उक्त जहाजलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध पनि मिलाइएको छ ।

यद्यपि, अविरल वर्षाका कारण हालै केही खेलाडीलाई अस्थायी आवासबाट बाहिर सार्नुपरेको थियो । अझै केही दिन भारी वर्षा र बाढीको पूर्वानुमान गरिएकाले खेलाडीमा चिन्ता थपिएको छ ।

मौसमको प्रतिकूलता र सुविधाहरूको कमजोरीले गर्दा जापानको खेलकुद आयोजना गर्ने क्षमतामाथि नै अन्तर्राष्ट्रिय स्तरमा प्रश्न पनि उठ्न थालेको छ ।

नागोयादेखि टोकियोसम्म फैलिएका खेल स्थल

यसपटक एसियाली खेलकुदका स्पर्धाहरू केवल नागोयामा मात्र सीमित नभई आइची प्रिफेक्चरका विभिन्न सहरका साथै टोकियो, गिफु, ओसाका र सिजुओकासम्म फैलिएका छन् ।

आयोजकले सन् २०२० को टोकियो ओलम्पिकमा प्रयोग भएका कतिपय खेलस्थललाई नै यसपटक पनि प्रयोगमा ल्याइने बताएका छन् । यसपटक विभिन्न स्थानमा ५३ वटा खेलस्थल तयार पारिएको छ ।

यसअघि रेनबो पुलमा आयोजना गर्ने भनिएको पौडी प्रतियोगिताका केही स्पर्धा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेपछि टोकियो एक्वाटिक्स सेन्टरमा सारिएको छ ।

यसैगरी, इक्वेस्ट्रियन अर्थात घोडा दौड प्रतियोगिता टोकियो इक्वेस्ट्रियन पार्कमा हुनेछ भने वाटर पोलोका खेलहरू निप्पोन गाइसी हलको रेनबो पुलमा सञ्चालन गरिनेछ ।

साइक्लिङ प्रतियोगिताका लागि भने सिजुओकाको इजु वेलोड्रोमलाई चयन गरिएको छ । अन्य खेलका खेलस्थलहरू पनि विभिन्न शहरमा फैलिएका छन् ।

‘वन एसिया वर्ल्ड’को अवधारणा

२०औँ एसियाली खेलकुदका क्रममा सन् २०२४ को पेरिस ओलम्पिकको ‘च्याम्पियन्स पार्क’बाट प्रेरित भई हिसाया ओडोरी पार्कमा ‘वन एसिया वर्ल्ड’ स्थापना गरिएको आयोजकले जनाएको छ ।

एसियाली खेलकुद र त्यसपछि आयोजना हुने एसियाली पारा खेलकुद दुवै अवधिमा यो स्थान फ्यान जोन, उत्सव र सांस्कृतिक आदान–प्रदानको प्रमुख केन्द्र बनेर रहनेछ ।

यसरी, आधुनिक प्रविधि, दिगोपना र सुरक्षालाई प्राथमिकता दिँदै जापानले २०औँ एसियाली खेलकुदलाई एक अविस्मरणीय प्रतियोगिता बनाउने प्रयास गरिरहेको छ ।

एक्वाटिक्सदेखि उसुसम्म ४३ खेल

एसियाली खेलकुदको यो महाकुम्भमा एक्वाटिक्सदेखि उसुसम्म विभिन्न ४३ वटा खेलका थुप्रै स्पर्धा समावेश गरिएको छ ।

एथलेटिक्स, पौडी, ब्याडमिन्टन, क्रिकेट, फुटबल, बक्सिङ, बास्केटबल, टेबलटेनिस, टेनिसलगायत परम्परागत खेलले निरन्तरता पाएका छन् ।

यसका अतिरिक्त, युवा पुस्तालाई आकर्षित गर्न ई–स्पोटर्स, ब्रेक डान्सिङ, बीएमएक्स बाइकिङ, प्याडेल, टेकबल, मिक्स मार्सल आर्टसजस्ता खेललाई समावेश गरिएको छ ।

१२ वर्षीया यु जिदीदेखि १५ वर्षीय वैभव सूर्यवंशीसम्म

यस पटक एसियाडमा विश्वभरका चर्चित खेलाडीहरूको सहभागिता रहनेछ । पेरिस ओलम्पिककी स्वर्ण विजेता खेलाडीदेखि १५ वर्षीय प्रतिभाशाली भारतीय क्रिकेटर वैभव सूर्यवंशीसम्म सहभागी हुनेछन् ।

यसैगरी, केवल १२ वर्षको उमेरमा विश्व च्याम्पियनसिप पदक जितेकी चिनियाँ पौडीबाज यु जिदी पनि यसपटक आकर्षणको केन्द्र बन्नेछिन् ।

यसका अतिरिक्त, ब्याडमिन्टन, कराँते, तेक्वान्दोजस्ता चर्चित खेलका हस्ती खेलाडीहरूको उपस्थिति पनि एसियामै भएकाले उनीहरूको लोभलाग्दो जमघटले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ ।

सबैभन्दा सानो शरणार्थीको टोली

यसपटक एसियाडमा ४५ राष्ट्रका साथै शरणार्थीहरूको एउटा टोलीले पनि सहभागिता जनाएको छ । एसियाडमा सहभागी हुने सबैभन्दा सानो खेल टोली पनि शरणार्थीहरूकै हो । उक्त टोलीमा दुई खेलाडी सहभागी छन् ।

देशतर्फ सबैभन्दा सानो टोली ब्रुनाइटले पठाएको छ । ब्रुनाइको टोलीमा केवल ६ जना खेलाडी छन् । भुटान र टिमोर लिस्टेले १३–१३ खेलाडी सहभागी गराएका छन् भने इराकको टोलीमा १४ जना खेलाडी छन् । उत्तर कोरियाले ९५ जना खेलाडी सहभागी गराएको छ ।

सबैभन्दा बढी खेलाडी भने आयोजक जापानले सहभागी गराएको छ । जापानको टोलीमा नौ सय ३२ जना खेलाडी छन् । चीनको टोलीमा आठ सय १५ जना खेलाडी छन् । दक्षिण कोरियाले सात सय ९२ जना खेलाडी सहभागी गराएको छ । भारतका पाँच सय आठजना खेलाडीले भाग लिएका छन् ।

null

यसपटक, एसियाडमा नेपालले भने एक सय ३५ जना खेलाडीलाई सहभागी गराएको छ । नेपालको खेल टोली दुई सय ११ सदस्यीय रहेको छ । नेपालले २१ खेलमा भाग लिएको छ ।

सम्राटको उपस्थित र सुरक्षाको कडा प्रबन्ध

एसियाडको उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राखी जापानले उद्घाटन समारोहका दिन १० हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

उद्घाटन स्थलको एक किलोमिटर क्षेत्रलाई ‘नो–फ्लाई जोन’ घोषणा गरिएको छ । यो परिधिभित्र ड्रोनसमेत उडाउन प्रतिबन्ध लगाइएको छ ।

कुनै पनि प्रकारणको अवांक्षित गतिविधिलाई रोक्न जापान सरकारले विशेष सूचना केन्द्र स्थापना गरी सामाजिक सञ्जालको समेत निगरानी गरिरहेको छ ।

‘मितव्ययी मोडेल’माथि प्रश्न

२०औँ एसियाली खेलकुदको रौनक शुरू भएसँगै आयोजक जापानको व्यवस्थापनमाथि गम्भीर प्रश्नहरू पनि उठन थालेका छन् ।

खेलकुदलाई ‘मितव्ययी’ बनाउने नाममा अपनाइएका नयाँ आवास शैलीले खेलाडीहरूलाई सास्ती दिएको भन्दै आयोजकको आलोचना भएको छ ।

परम्परागत ‘एथलिट्स भिलेज’ निर्माण नगरी लागत घटाउने नीतिअनुरूप जापानले अस्थायी आवास र पानीजहाजलाई खेलाडी राख्ने मुख्य आधार बनाएपछि विरोध भएको हो ।

दक्षिण कोरियाली बास्केटबल टोलीले अस्थायी आवासमा चुहिने धारा, पानी जम्ने भुइँ र खेलाडीका लागि अत्यन्तै साना खाट रहेको भन्दै भिडियो सार्वजनिक गरेको छ ।

कतिपय खेलाडीले खुट्टा तन्काउनसमेत नमिल्ने ओछ्यान रहेको भन्दै सामाजिक सञ्जालमा ‘हामीलाई मद्दत गर्नुहोस्’ भन्दै गुनासो गरेका छन् ।

फिलिपिन्स ओलम्पिक कमिटीका अध्यक्षले पनि कोठाको अभावमा आफ्नो टोलीका सदस्यहरू बाहिर होटलमा बस्न बाध्य भएको खुलासा गरेका छन् ।

बढ्दो लागत र बाचा बिर्सिएको आरोप

सन् २०१६ मा नागोयाले २०औँ एसियाड आयोजनाको दाबी गर्दा निकै सरल, मितव्ययी र भव्य रूपमा प्रतियोगिता सम्पन्न गर्ने बाचा गरेको थियो ।

तर, हाल प्रतियोगिताको वास्तविक लागत अनुमानित बजेटभन्दा तीन गुणा बढी पुगिसकेको छ । बजेट बढे पनि सेवा–सुविधा भने गुणस्तरहीन भएको भन्दै आयोजकको आलोचना शुरू भएको हो ।

आयोजक कमिटीका आवास व्यवस्थापक युता मात्सुओले खेलाडीको असन्तुष्टिप्रति आफूहरू जानकार रहेको र सुधारका लागि काम भइरहेको बताएका छन् ।

उनले कोठाको आकारभन्दा पनि क्रुज शिपमा उपलब्ध अन्य मनोरञ्जनात्मक सुविधाहरूलाई ध्यान दिन खेलाडीसँग आग्रह गरेका छन् ।

शुरूमा १५ हजार सहभागी हुने अनुमान गरिए पनि खेलहरू थपिँदा त्यो संख्या बढेर १७ हजार पुगेकाले आवासको जोहो गर्न चुनौती थपिएको आयोजकको दाबी छ ।

आलोचनाबीच आयोजक कमिटीले खेलाडीहरूको समस्या समाधान गर्न २४सै घण्टा चल्ने ‘रेसिडेन्ट सेन्टर’ स्थापना गरेको दाबी पनि गरेको छ ।

तर, एसियाली खेलकुद केवल जापानको निजी मामिला नभई सम्पूर्ण एसियाली परिवारको सामूहिक उत्सव भएको बताउँदै विश्लेषकहरूले भनेका छन्, ‘मितव्ययिताको नाममा खेलाडीको सम्मान र मर्यादामा कुनै पनि हालतमा आँच आउनु हुँदैन ।’

त्यसैले, आयोजकका लागि अबको करिब दुई सात आफ्नो प्रतिष्ठा जोगाउने र खेलाडीसहितका पाहुनाहरूलाई सुरक्षित एवं मर्यादित वातावरण दिनु ठूलै परीक्षाको विषय हुनेछ ।

यद्यपि, एशियाका ४५ देशबीच मित्रता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो प्रतियोगिताले जापानको खेलकुद इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा भने गरिएको छ ।

कमेन्ट गर्नुहोस्