
कसैको सल्लाह, इसारा, उक्साहट या स्वविवेकले होस्; ५ दशक लामो राजनीतिक यात्राको उत्तरार्द्धमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अर्को एउटा महाभूल गर्दैछन्- कांग्रेसलाई जबर्जस्ती विभाजनको डिलमा धकेलेर ।
आजीवन प्रजातन्त्रका लागि लडेको बताउने देउवा २३ वर्षपछि फेरि कांग्रेस विभाजनको कारक बनेर निधारमा अर्को बदनामीको टीका लगाउन अग्रसर भएजस्तो देखिन्छ । कांग्रेसमा कलहको कारक बनेर देउवाले लोकतान्त्रिक व्यवस्थाका लागि लडेको त्यो विरासतलाई फिका बनाउने काम गर्दैछन् ।
नेपाली कांग्रेस (आधिकारिक)को १५ औं महाधिवेशन आउन २ हप्ता बाँकी रहेको समयमा देउवाले सहभागी नहुन अपिल गरेका छन् र मंसिरका लागि समानान्तर महाधिवेशनको मिति तोकेका छन् ।
विगतमा आफ्नै वरिपरि रहेका नेताले साथ छाड्दा समेत देउवाले पदमा बसिराख्ने आशक्ति र लालच छाडेका छैनन् । चुनदेवीको गुट कार्यालयमा ठेकेदार पृष्ठभूमिका कान्छारामले (पूर्णबहादुर तामाङ) झुण्ड्याइदिएको ‘सभापति’को नेमप्लेट हेरेर देउवा मुस्कुराइरहेका छन् । त्यो फर्जी नेमप्लेट अगाडि बसेर देउवाले कांग्रेस सभापति आफू नै रहेको भ्रम पालिरहेका छन् ।
राजनीतिक र उमेर दुवै हिसाबले थकित र एकप्रकारले औचित्य र सान्दर्भिकता गुमाइसकेका देउवाले अझै पनि नेतृत्व हस्तान्तरणमा मोलमोलाइ गरिरहेका छन् । के आजको समाज, चेतनशील मतदाता र नवयुवाले देउवालाई मन पराउँछन् ?
५ पटक प्रधानमन्त्री भइसकेका देउवाबारे नयाँ पुस्ताको धारणा के छ ? छोरा जयवीरका साथीहरूलाई सोधून् । राजनीतिक वैधता गुमाइसकेका उनलाई आफ्नै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने घिटकिसो किन बाँकी छ ?
आजको दिनमा देउवासँग को छन् ?, गगनलाई (कांग्रेस सभापति गगन थापा) गाली गर्ने मोहन बस्नेत, कान्छाराम र राजु श्रेष्ठहरू । के आजको दिनमा देउवाले उनीहरूको साथ लागेर देशको संकट पार लगाउँछन्, कांग्रेसको विरासत थाम्न सक्छन् ?
यस्तो बेला मध्यमार्गी भूमिका खेलेका शेखर कोइराला किंकर्तव्यविमूढ बनेका छन्, बीपी पुत्र शशांक कांग्रेस विभाजनका लागि शिखण्डी बन्न तयार भइरहेका छन् । ०४८ सालतिरकै ह्याङओभरमा रहेका शशांक भन्दैछन्- गगनहरू चोइटिएर जान्छन् भने हामी के गर्न सक्छौं ?
वडा अधिवेशन शुरू हुनै लाग्दा शेखरले फेरि महाधिवेशन सार्ने प्रस्ताव गरेका छन्, महाधिवेशनको मिति सारेर मात्र समस्या समाधान हुन्छ ?
पूर्णबहादुर खड्काले समेत साथ छाडिसकेको अवस्थामा पटकपटक सत्ताको चास्नी चाखेका विमलेन्द्र निधि, प्रकाशमान सिंह या कृष्ण सिटौला र प्रकाशशरण महतले अब के कांग्रेसको त्यो विरासत धानिदिन्छन् ?
गगन थापाको हस्ताक्षरको टिकट लिएर चुनाव लडेका निधि–महतहरू चुनाव सकिएलगत्तै गगनलाई सभापति मान्दैनौं भन्ने एउटा न्यूनतम् नैतिकता पनि राख्न सकेनन् । के उनीहरूले २१ औं शताब्दीको युवाको भावना सम्बोधन गर्ने कांग्रेस बनाउन सक्छन् ?
नमेटिएको बदनामीको खाटा
नेपालको संसदीय राजनीतिलाई बदनाम गराउने एउटा पात्रको रूपमा देउवाको नाम अझै मेटिएको छैन । सत्ता टिकाउनका लागि प्राडो–पजेरो काण्डदेखि जम्बो मन्त्रिपरिषद् बनाउने कीर्तिमान देउवाले नै राखेका छन् ।
सरकार टिकाउनका लागि प्रजातन्त्र दरबारमा लगेर बुझाएको आरोप उनीमाथि अझै लागिरहन्छ । ०५९ सालमा देउवाले प्रतिनिधिसभा विघटन गरेपछि असोज १८ र माघ २१ हुँदै तत्कालीन राजाको प्रत्यक्ष शासनको शुरूआत आएको थियो ।

प्रतिनिधिसभा विघटन तत्कालीन राजाको महत्त्वाकांक्षामा देउवा शिखण्डी बनेका थिए, तर त्यसको अपजस देउवाले पाइरहे । सत्ता टिकाउनकै लागि कांग्रेस विभाजन गरेको आरोपले उनलाई पछिसम्म पच्छ्याइरह्यो ।
तर पनि, त्यसपछिका दिनमा उनले लिएका कतिपय सही निर्णयका कारण विगतको धब्बा पखालिएको थियो । जस्तो कि; पार्टी हार्ने जोखिमकाबीच उनले ०७४ सालको मंसिरमा प्रतिनिधिसभा र पहिलो पटक प्रदेशसभाको निर्वाचन गराए । यो नयाँ संविधान कार्यान्वयनको पहिलो र महत्त्वपूर्ण खुडकिलो थियो ।
०७८ सालमा ढिलै भए पनि केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध उभिए, भलै प्रधानमन्त्री बन्ने स्वार्थ प्रेरित थियो त्यो कुरा । प्रतिनिधिसभा पुन:स्थापनापछि सरकारको नेतृत्वमा पुगेका देउवाले ०७९ सालमा पनि चुनाव गराए ।
राजनीतिक जीवनको उत्तरार्द्धमा देउवा ‘टावरिङ पर्सनालिटी’ बन्ने बाटो छाडेर गुटको राजनीति चलाउने फुच्चे नेताको बाटो रोज्दैछन् । बेला न कुबेला ‘म हिन्दू हुँ हिन्दू’ भनेर उनले सस्तो कार्ड फालेका छन्, जुन डुंगामा चढेर नदी पार गर्ने सम्भावना कम छ ।
गुमाएको अविभावक बन्ने अवसर
गत असोज २८ गते केन्द्रीय समिति बैठकमा सम्बोधन गरेर कार्यवाहकको जिम्मा दिएसँगै देउवाले ‘ग्रेसफुल एक्जिट’को बाटो लिएको धेरैले अनुमान गरेका थिए । आजीवन नेतृत्वमा रहने नेताको परम्परा तोडेर देउवा नेतृत्व हस्तान्तरणका लागि तयार भएको भन्ने सकारात्मक सन्देश फैलिएको थियो ।
पूर्णबहादुरलाई कार्यवाहक दिएर हङकङ–सिंगापुर गएका देउवाले सानेपालाई उतैबाट रिमोट कन्ट्रोलले चलाउन खोजे । त्यसले कांग्रेसमा एउटा विग्रहको स्थिति सृजना गर्यो, नेतृत्वमा रहेको तत्कालीन संस्थापन पक्ष समयमै महाधिवेशन गर्न राजी भएन ।
गगन थापा–विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरे, बालेन–रविको क्रेजलाई टक्कर दिन गगन–विश्वले त्यो आँट गर्नैपर्ने थियो । कांग्रेसका बहुसंख्यक कार्यकर्ता नेतृत्व फेर्ने पक्षमा उभिँदा देउवाले त्यसलाई ललकारे पनि हस्तक्षेप भइछाड्यो ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो, सर्वोच्च अदालतले वैधानिक भनिदियो । तर पनि, देउवाले त्यसलाई सहर्ष स्वीकार गरेनन् । भदौ २४ मा आफ्नै निवासमा निर्घात पिटाइ खाएका देउवाले त्यो भुलेर फेरि राजनीतिमा सक्रिय हुन खोजे ।
देउवालाई यो उमेरमा पनि उक्साउने उनका केही लोभिपापी निकटवर्ती छन्, जसले उनलाई अहिले पनि ‘अदालतले न्याय दिलाइदिन्छ’ भनेर फुकिरहेका छन् ।
सिंगापुरबाट काठमाडौं फर्केपछि, इतर समूहको भेलामा र गगन थापालाई गाली गर्न भक्तपुरमा राखिएको अर्को कार्यक्रममा देउवाले एउटै कुरा दोहोर्याए- पञ्चायतको पालादेखि मलाई न्याय मिलेको छ, यसपटक पनि चारतारे झण्डा र रूख पाउने आशा गरेको छु ।

विगतमा देउवाले न्याय पाउनुका पछाडि कारण थिए, उनी साँच्चिकै अन्यायमा परेका थिए, तर अहिले उनले पार्टीलाई न्याय गरिरहेका छैनन् । आमकांग्रेसी कार्यकर्ता र शुभेच्छुकको भावनामा कुठाराघात गरिरहेका छन् ।
‘देउवा एन्ड ग्याङ’ले रोक्न खोजे पनि कांग्रेस नयाँ पुस्तामा जानबाट अब कसैले रोक्ने देखिँदैन, न त बीपी कोइरालाले खोलेको पार्टी भनेर उनको वंशमा नेतृत्व हस्तान्तरण हुने सम्भावना छ ।
राजनीतिक दल सार्वजनिक निकाय भएकोले ती दलभित्रको नेतृत्व चयन लगायत विषय आमचासोका विषय हुन् । त्यो दलको सदस्यता नलिएको व्यक्तिले पनि कांग्रेस विधिमा चल्नु पर्दछ भनेर बोल्ने लेख्ने हक राख्दछ ।
नेपाली उखान छ- ‘भाले बासेन भनेर उज्यालो हुन रोकिँदैन’। देउवा–शशांकले रोक्न खोजे पनि परिवर्तनको वेग रोकिने छाँट देखिँदैन । बरु उनीहरूले बहुसंख्यक कार्यकर्ताको भावना बुझेर महाधिवेशनमा सहभागी भए भने सम्मानित स्थान पाउन सक्छन् र विभाजनको कलंकको टीका लगाउनु पर्दैन ।
महाधिवेशन नजिकिँदै जाँदा कांग्रेस पार्टी कार्यालय सानेपा गुल्जार बन्दै गएजस्तो देखिन्छ, देउवाको भाडाको निवास र सँगैको सम्पर्क कार्यालय चुनदेवी बेहुली अन्माएपछिको घरजस्तो बनिरहेको छ ।
अझै पनि देउवाले सुबझुपूर्ण निर्णय लिऊन्, कांग्रेस पूर्वसभापतिको लाइनमा आफ्नो तस्वीर सजाउने काम गरून् । २१ औं शताब्दीका युवा र चेतनशील नागरिकले चाहेको परिवर्तन र सुधारको आकांक्षालाई ऐहसास गरून् ।
देउवाले बुझून् कथंकदाचित उनीहरूले मंसिरमा महाधिवेशन गरेर नयाँ पार्टी बनाए भने त्यसको सामर्थ्य विगतको प्रजातान्त्रिक कांग्रेसको जति पनि हुनेछैन । ‘म हिन्दु हुँ हिन्दु’ भनेर सन्देश दिए पनि त्यो नारा दिएको पार्टी राप्रपा छ, कांग्रेसबाट फुटेर बन्ने पार्टीको राजनीतिक धरातल राप्रपाको जत्तिको पनि हुने छैन ।
र, देउवालाई फकाउन गगन–विश्वहरूले हदैसम्म प्रयास गरून् । देउवालाई दिनुपर्ने मान सम्मानमा कुनै कसर बाँकी नराखून् । आवश्यक पर्छ भने उनलाई भविष्यमा राष्ट्रपति बनाउनेछौं भनेर प्रतिबद्धता पनि गरून् । पार्टी कार्यालयको कुनै कोठा या हललाई देउवाको नाममा नामाकरण गरून्, देउवाको नाममा विपन्न उपचार कोष या छात्रवृत्ति कोष खडा गरून् ।
किनकि कांग्रेस विभाजन हुँदा राजनीतिक अस्थिरता झनै लम्बिने छ । सत्तामा रहँदा या नरहँदा पनि कांग्रेस देशको भरोसायोग्य र अन्तर्राष्ट्रिय समुदायले पनि नेपालमा भरपर्दो शक्ति मानेको पार्टी हो ।
पढ्नुहोस् यो पनि :
देउवाको ‘फोर्स एक्जिट’ले खोल्नेछ सम्भावनाको नयाँ ढोका
कांग्रेसभित्र सामन्तवादको छटपटी र गगन पुस्ताको अग्निपरीक्षा
अग्रगमन र पश्चगमनको दोसाँधमा कांग्रेस
भृकुटीमण्डपमा चलेको ‘गगन वेग’ र देउवाले गुमाएको राजनीतिक वैधता
देउवाको हठले कांग्रेसमा निम्तिएको दोस्रो विग्रह र गगनको आगामी यात्रा