
आदि दार्शनिक सुकरातका शिष्य र राज्यकौशल, राजनीति र लोकतन्त्रका पहिलो व्याख्याता महान दार्शनिक प्लेटो (अरिष्टेक्लेज)का पच्चीस सय वर्ष अघिका विचारले अहिले पनि शासनलाई मार्गनिर्देश गरिरहेको छ ।
दार्शनिकहरू छोटो समयका लागि बाँच्दैनन्, उनीहरूको दृष्टिदूरी र चिन्तनले उनीहरूलाई युगौंयुग बचाइराख्छ, उनीहरूका विचार दृष्टिकोणबाट समाज युगौंयुग लाभान्वित भइरहन्छ ।
आफ्ना गुरु सुकरातले न्याय र सत्यको शिक्षा दिँदा अन्यायी सत्ताले विष पिएर मर्नुपर्ने सजाय सुनाएपछि उनी त मरे तर प्लेटोमा एक विचारको जन्म भयो– मानिस जसलाई सत्य र स्वतन्त्रता भनिरहेका छन् असलमा त्यो सत्य नभई अँध्यारो भ्रम हो, छायाँलाई आकार मानेको भ्रम, वास्तविक स्वतन्त्रता यो संसारमा छँदैछैन । त्यसपछि उनको पूरै जीवन भ्रमविरुद्ध सत्य र शक्तिविरुद्ध न्याय खोज्न लागिरह्यो ।
अरिष्टोक्लेज (जसलाई उनका कुस्ती शिक्षकले चौडा शरीर भएकोले प्लेटो भन्ने गरे र त्यही नाम प्रचलित बन्यो)को जन्म सन् ४२७ ईसापूर्व माता पेरिक्टन र पिता एरिटोनबाट ग्रीसको एथेन्स नगरमा भएको थियो । उनको परिवार राजनीति र सरकारसँग नजिक र हुनेखाने सामाजिक हैसियतमा थियो । मातापिता आफ्नो सन्तान वयस्क भएपछि राजनीतिमा महत्त्वपूर्ण स्थान लेओस् भन्ने चाहनामा थिए । त्यतिखेर ठूला परिवारका सन्तान राजनीतिमा जानु गौरव मानिन्थ्यो । प्लेटोलाई बाल्यावस्था सबै सुविधा उपलब्ध थियो । उनले कुस्ती सिके, सङ्गीतमा पारङ्गत भए, गणितको ज्ञान लिए र साहित्यको अध्ययन गरे । त्यतिबेला यी विषय नै ठूलाका सन्तान दीक्षित हुने तरिका थिए ।
प्लेटोले युवा अवस्थामा राजनीतिमा जाने तयारी गरेका थिए, केही कविता र नाटक पनि लेखेका थिए । आफ्ना साहित्यिक रचनालाई नागरिकसामू लैजाने योजना पनि बनाएका थिए । तर, मानिसको जीवनलाई नियतिले कता मोड्छ भन्ने अनुमान बाहिरको विषय रहेछ । २० वर्षको हुँदा उनको परिचय एकजना बुज्रुक गुरु सुकरातसँग भयो । सुकरात महान शिक्षक थिए, अरु जस्तो पैसा लिएर पढाउने गर्दैनथे ।
सिकाउँदा लम्वेतान भाषणको शैली नलिई भन्नुपर्ने कुरा ट्वाक्कै भन्ने गर्दथे । पवित्र जीवनको पक्षपाती सुकरात परीक्षित नभई बाँचेको जीवन व्यर्थ सम्झन्थे । उनी भन्ने गर्थे– सच्चा ज्ञान त्यसैले प्राप्त गर्छ जब उसले आफ्नो अज्ञानतालाई स्वीकार्छ । सुकरातका अनुसार कोही पनि व्यक्ति जानेर नराम्रो काम गर्दैन । ज्ञान नै सबैभन्दा ठूलो गुण हो र अज्ञानता चाहिँ कमजोरी । सुकरातको सुकरातलाई भेटेपछि प्लेटोको जीवनले अर्कै मोड लियो । त्यसपछि आफूले लेखेका कविता र नाटकका पाण्डुलिपि सबै जलाइदिए र आफू अब साहित्य र राजनीतिबाट विल्कुल अलग रहने घोषणा गरे, पूरै जीवन दर्शनबाट जीवनको सत्य र न्यायको खोजीमा लगाउने निधो गरे ।
प्रत्येक दिन गुरु सुकरातकोमा जाने र उनका कुरा सुनेर तिनलाई स्मृतिमा सुरक्षित गर्ने काम प्लेटोको दैनिकी बन्यो । सुकरात चित्तशुद्धीलाई निकै महत्त्व दिन्थे । उनी शिष्यलाई न्याय, इमान्दारिता, पवित्रता, सुन्दरता, साहसजस्ता विषयमा प्रश्न गर्थे र शिष्यले दिएका जवाफमा कमी पहिल्याइदिएर नयाँ सवालको चेतनामा पुर्याउँथे । यी प्रश्नहरूबाट सुकरात पुराना विचार गलत थिए भनी प्रमाणित गरी नयाँ विचार राख्ने सामर्थ्यको निर्माण गर्न चाहन्थे । सुकरातका यस्ता विचारमा शासन र सत्तामा रहेकाहरू भने आफू र ग्रीस शहरका देवाताका विरुद्ध युवा भड्काउने अभियानका रूपमा लिन्थे । यसैकारण उनलाई राजद्रोहको आरोपमा मुद्दा लगाइयो । अदालतले उनलाई आफैंले विष पिएर मर्नुपर्ने वा अब यसो नगर्न माफी माग्नुपर्ने सजाय सुनाएको थियो । सुकरातले हाँसीहाँसी विष पिएर सत्य र न्यायका लागि जीवनको बलिदानी दिएका थिए, माफी मागेर अन्यायमा घुँडा टेकेनन् । आत्माले सम्मति नदिएको काम गर्नुहुन्न भन्ने उदाहरण देखाए ।
सुकरातको सजायको घटनापछि जब कोही व्यक्ति सत्तालाई सिधै प्रश्न गर्छ सत्ताले त्यो कहिल्यै मन पराउँदैन, ज्ञान र सत्यमा रहने व्यक्तिलाई सधैं खेद्ने सत्ताको चरित्र हुन्छ भन्ने निष्कर्षमा प्लेटो पुगे । सुकरातजस्ता होनोहार व्यक्ति प्रश्न गरेको आधारमा कसरी सरकार र सम्भ्रान्तहरूको सिकार हुँदा रहेछन् भन्ने कुराबाट प्लेटोको दिमागमा ठूलो झट्का पर्न गयो । सुकरातलाई कारबाही गर्ने विषयमा एथेन्सका पाँचसय विज्ञ जुरीले मतदान गरेका थिए । शक्ति र स्वार्थका लागि न्याय प्रणाली कसरी आफ्नो आदर्शबाट विचलित हुन्छ भन्ने पनि प्लेटोले जुरीको निर्णयबाट बुझे । सबैभन्दा चेतना भएको, सबैभन्दा इमान्दार र सबैभन्दा समझदार व्यक्ति कानून र समाजको आँखामा कसरी दोषी घोषित हुँदोरहेछ, कानूनले न्याय दिनुपर्नेमा कानूनबाट नै कसरी मारिँदोरहेछ भन्ने पृष्ठभूमिमा प्लेटो चिन्तनमा लागे ।
सुकरातको मृत्युपछि समाज र लोकतान्त्रिक सरकार असल व्यक्तिलाई मार्न सक्छ भने त्यही राजनीति र सरकारको हिस्सा बन्नु व्यर्थ छ भनेर प्लेटोले राजनीतिमा नलागी सच्चाइ र न्याय खोज्ने कामका लागि आफूलाई समर्पित गरे । सुकरातलाई मार्नेबाट आफू पनि असुरक्षित ठाने र केही साथी (सुकरातका शिष्य)साथ मुलुक बाहिर विभिन्न देशमा १२ वर्ष बिताए । यो यात्रा सुरक्षाको खोजी मात्र थिएन, नयाँ ज्ञान आर्जनको यात्रा पनि थियो । उनले मोगरा, मिश्र, इटालीलगायतका मुलुकमा बिताए । मिश्रमा त्यहाँका पादरीसँग गणित र खगोल विज्ञान सिके । त्यहाँको कानून अध्ययन गरे । इटालीमा पाइथोगोरसका अनुयायीहरूसँग ज्ञान लिए र विश्वलाई गणित र संख्याको आधारमा मात्र बुझ्न सकिन्छ भन्ने निष्कर्ष निकाले । जसरी गणित र संख्या जहाँ पनि जसका लागि पनि उही हुन्छ, न्याय र शासन पनि यस्तै भए हुन्थ्यो भन्ने उनलाई लागिरह्यो ।
१२ वर्षमा एथेन्स फर्केपछि विचारग्रन्थहरू लेख्न थाले । उनको लेखाइ संवादको ढाँचामा हुन्थ्यो, आजको जस्तो वर्णन, कथा, निबन्धमा होइन, त्यतिखेर संवाद छुट्टै विधा थियो । हरेक संवादको केन्द्रीय चरित्र सुकरात हुन्थे । पहिलो संवाद एपोलोजी (सुकरातले अदालतमा दिएको भाषण, बयान र क्रिटो लगायतका व्यक्तिसँग गरेका कुराकानीमा आधारित) थियो । एपोलोजीको निष्कर्ष थियो–‘मृत्यु वरण गर्नु परे पनि सच्चाइ छाड्नु हुन्न’ । उनको अर्को संवाद ‘क्रेटो’को निष्कर्ष थियो– ‘असल नागरिकले राज्यको कानून कहिल्यै तोड्दैन’। कतिपय साथीले कारागारबाट भाग्ने सल्लाह दिँदा सुकरातले नभागी कानून मानेर विषप्याला पिएका थिए । अन्यायी भए पनि अदालतको निर्णय मानेर उनले राज्यको कानूनप्रति आदर गरे ।
एपोलोजी र क्रेटो संवादमा सुकरातका सिद्धान्तहरू दिएका प्लेटोले त्यसपछि भने आफ्नै सिद्धान्त लेख्न शुरू गरे । उनको पहिलो सिद्धान्तको नाम ‘आकार’ थियो । जसमा उनले भनेका थिए– आँखा अगाडि जसरी दुनियाँ देखिएको छ त्यो पूरै र असली सच्चाइ होइन । जे देखिन्छ त्यो असली सत्यको एक नक्काल मात्र हो । कुकुरको विषयमा जब मानिस सोच्न थाल्छ, कुकुरको आकारका विषयमा एउटा अवधारणा बनाउँछ । त्यस्तै, जब एउटा वृत्ताकार बनाउन शुरू गर्छ त्यो पूरै वृत्त हुँदैन, केही न केही बाँकी हुन्छ । तर मानिसको दिमागमा रहेको वृत्त पूरै सच्चाइमा रहन्छ । प्लेटोको बुझाइमा त्यो विचार वा दिमागमा रहेको दुनियाँ साँचो दुनियँ हो ।
त्यो कुकुर वा वृत्तको आकार (विचार)लाई उनले न्याय, सुरक्षाजस्ता विषयमा लागू गरे । समाजले जे न्याय दिन्छ त्यो पूरै न्याय होइन, त्यसमा केही न केही कमी हुन्छ । न्यायको असली रूप हुन्छ तर मानिसहरू त्यो जान्न चाहिरहेका छैनन् । समाजले बनाएको औपचारिक न्यायलाई सही न्याय मानिरहेका छन् । उनको १२ वर्षे यात्रा र आकारको सिद्धान्तले भविष्यमा कसैले पनि न्यायको नाममा सुकरातको जस्तो हविगत भोग्नु नपरोस् भन्ने मान्यता राखेको थियो ।
त्यसपछि प्लेटोले एथेन्स शहरभन्दा केही बाहिर ठूलो आयतनको जग्गा खरिद गरेर एकेडेमी बनाए र ज्ञान निर्माणको अभियान थाले । यो नै आधुनिक शिक्षाको जग थियो । आजसम्म पनि प्लेटोको शैक्षिक अवधारणा मानकीयतामा रहेको छ । उनको एकेडेमीमा; (क) समय सारिणीविनाको पढाइ हुन्थ्यो, (ख) शिक्षा नि:शुल्क थियो, (ग) पढाइका मुख्य विषय राजनीति, गणित र दर्शन थिए, जुन जीवनोपयोगी थिए, (घ) पढाइको विधि संवाद र अन्तरक्रिया थियो, अन्तरक्रियाको निष्कर्ष नै ज्ञान हुन्थ्यो (प्लेटेको विचार थियो गहन छलफलबाट ज्ञान बाहिर आउँछ), (ङ) एकेडेमीमा सबै विद्यार्थी सँगै रहने र सँगै खाने गर्दथे, (च) एकेडेमीको प्रवेशद्वारमा जो व्यक्ति ज्यामिति जान्दैन, प्रवेश निषेध छ भन्ने लेखिएको थियो (यसको अर्थ आँखाले नदेखेका कुराहरू ज्यामितिका रेखाले तार्किक रूपमा बताउँछ भन्ने थियो) । प्लेटोको मान्यतामा गणित वा ज्यामिति विषयको गहिराइमा पुग्ने बाटो हो ।
एकेडेमीमा रहेको अवधिमा प्लेटोले उनको सर्वाधिक चर्चित कृति ‘रिपब्लिक’ लेखे । सामान्य अनुमानमा यो राजनीतिक दर्शन लागे पनि यसले त्यो भन्दा धेरै विस्तृत मानिसको मष्तिष्क, समाजको बनावट, असल जीवनका आदर्शका विषयमा समेतको गहनतम चिन्तन थियो । रिपब्लिकको शुरूआत सुकरातको संवादबाट हुन्छ । न्याय के हो ? भन्ने सन्दर्भमा एकजना शिष्यको तर्कमा समाजका शक्तिशाली मानिसको स्वार्थरक्षाका लागि नै न्याय नामको विधि बनाइएको हो भन्ने थियो । कसैको तर्क थियो– मानिस स्वाभाविक रूपमा असल काम गर्दैनन्, नियम मान्छन् । त्यो नियम मान्नु पछिको कारण सजाय हुने भय हो । नियममा भयशक्ति छ । यस्तो जादूगी औंठी कसैलाई दिइयो र उसले जे जस्तो काम गरे पनि कसैले देख्दैनथियो भने कोही पनि राम्रो काम गर्ने थिएनन्, नियम मानेर काम गर्दैनन् थिए । व्यक्ति जहिले पनि आफ्नो फाइदाका लागि मात्र काम गर्छ । कसैले देख्दैन र दण्डित हुने सम्भावना छैन भने चोरी गर्न पछि पर्दैन । धेरैजसो अपराध नदेख्नेगरी नै गरिएका हुन्छन् । यस्ता तर्कका आधारमा उसो भए एउटा ‘आदर्श राज्य’ (आइडल सिटी) कसरी बनाउन सकिन्छ भनी कल्पना गर्न लागे ।
प्लेटोले कल्पना गरेको आदर्श राज्यमा उत्पादक, सैनिक र शासक तीन वर्ग थिए । कुनै पनि व्यक्ति आफूलाई चाहिएको जति वस्तु आफैं बनाउन सक्दैन । समाज कृषक/उत्पादक र उपभोगको सम्बन्धमा जेलिएको हुन्छ । उत्पादनको सुरक्षा र राष्ट्रको सीमा रक्षाका लागि सैनिक चाहिन्छ । सैनिक बिल्कुल अलग अनुशासनमा रहनु पर्दछ । उससँग सम्मान पाउने चाहना, साहस र कठोर अनुशसान हुनुपर्दछ । उत्पादक र सैनिक भएर मात्र समाज व्यवस्था चल्दैन, समाजलाई न्याय, नेतृत्व र अभिभावकत्व दिन शासक चाहिन्छ । त्यो व्यक्ति शासक होइन, जो शक्तिवान छ र चुनाव पनि जित्न सक्छ । सबैभन्दा बढी ज्ञान र अनुभव एवम् सच्चाइको समझजस्ता गुण भएको व्यक्ति मात्र सच्चा शासक बन्न सक्दछ ।
आदर्श राज्यमा प्लेटोले शासकका लागि स्पष्ट योग्यता र गुण तोकेका थिए । शासकको केही कुनै पनि सम्पत्ति हुनुहुन्न । साधारण जीवन बिताउने आदत हुनुपर्दछ र उसका लागि चाहिने खर्च आमजनताबाट व्यहोरिनु पर्दछ । निजी सम्पत्ति वा फाइदा लिने छुट भएमा ऊ आफ्नै लागि मात्र काम गर्दछ र जगतलाई नोक्सानमा पुर्याउँछ । शासक जब सम्पत्तिको लोभ लाग्छ, भ्रष्टाचार हुन्छ । भ्रष्टार माथिबाट तलतिर गुडेको गोलो वस्तु (भकुण्डो) जस्तै हो, गुड्न शुरू भएपछि त्यसले गति बढाउँदै लैजान्छ । उनी शासकको निजी परिवारका सख्त विरोधी थिए । निजी परिवार भएमा शासकले उनीहरूकै हितमा काम गर्छ । शासकको काम राज्य/शहरलाई राम्रो बनाउनु हो । पूरै समाज नै उसको परिवार हो । आदर्श राज्यमा शासन गर्ने अधिकार लिङ्गको आधारमा होइन, सामर्थ्यका आधारमा हुन्छ । प्लेटो शरीर वा लिङ्गलाई शासनको लागि महत्त्वपूर्ण हुँदैन, चेतना र क्षमता चाँहि महत्त्वपूर्ण हुन्छ भन्ने मान्यतामा थिए । यो विचार त्यतिखेर निकै क्रान्तिकारी थियो ।
प्लेटोको अनुसार चेतनाको पहिलो भाग इच्छा हो । खानु, पिउनु, आराम, सुख गर्नु समाजको पहिलो वर्ग (उत्पादक) को काम (इच्छा) हो । दोस्रो इच्छा मानिसको जोस र साहस हो, यसले सम्मानका लागि प्रेरणा पनि दिन्छ । यो इच्छा सैनिकहरूले गर्दछन् । तेस्रो इच्छा सबैभन्दा उच्च छ, जुन तर्क वा सोच्ने, न्याय र सम्मानको असली क्षमता हो । यो सही र असलबीच फरक पत्ता लगाउने इच्छा हो । यो इच्छा शासकमा हुन्छ । अथवा उत्पादकीय इच्छा (गुण), साहसी गुण र न्याय सच्चाइको गुणको समष्टि आदर्श राज्य हो ।
प्लेटोले न्यायको सिधा परिभाषा दिएका थिए । कुनै राज्य जब उत्पादक उत्पादनमा मात्र काम गर्दछन्, सैनिकले रक्षा/सुरक्षाको काम र शासकले राज्यलाई दिशा दिएमा त्यो समाज न्यायपूर्ण हुन्छ । आधुनिक लोकतन्त्रमा कार्य विभाजन र शक्ति पृथकीकरण र सन्तुलनका अर्थमा लिन सकिन्छ ।
यसैगरी, मानिसको तर्क र समझ भएमा शारीरिक इच्छाहरू समझदारीले नियन्त्रण गर्दछ र त्यो मानिस पूर्ण न्यायपूर्ण मानिस बन्दछ । जब मानिसको इच्छा उसमाथि नियन्त्रण जमाउन पुग्छ, तर्क काम गर्न छा्डछ र बाहिरको खुसीमा रहन सक्दैन । यस्ता मानिस आफ्ना गलत इच्छाका कारण जहिले पनि दु:खी हुन्छन् । यसर्थ एक न्यायपूर्ण मानिस बन्नु सुखी मानिस बन्नु हो, त्यसैलाई समाजले सम्मान देखाउँछ ।
यिनै आधारमा प्लेटोले आफ्नो राजनीतिक सोच संसारसामू राखे । यो सोच पूरा गर्न दार्शनिक राजा (फिलोसोफर किङ)को कल्पना गरेका थिए । जबसम्म समाजले दार्शनिक राजा पाउँदैन समाजमा सुख र न्याय हुँदैन । जो व्यक्ति पहिलेदेखि राजा रहेको छ, त्यो कहिल्यै दार्शनिक राजा बन्न सक्दैन । प्लेटो लोकतन्त्र भन्दा पनि भोगेको लोकतन्त्र जान्दथे, जहाँ न्यायका नाममा सच्चाइको वकालत गर्ने सुकरातलाई राजाले मारेका थिए । लोकतन्त्रमा त्यो खतरा सँधै रहिरहने उनको मान्यता थियो । त्यसैले उनी आदर्श राज्य र दार्शनिक राजा (शासक)को पक्षमा थिए । उनले भनेको राजा वंशाणु थिएन, योग्यता र क्षमताको शासक थियो ।
दार्शनिक राजा (शासक) तयार पार्न प्लेटोले शिक्षाको खाका पनि तयार पारेका थिए । उनका अनुसार सानै उमेरमा बालकहरूको छनोट गर्नुपर्दछ । उनीहरूलाई २० वर्षको उमेरसम्म व्यायाम, साहित्य र सङ्गीतको शिक्षा दिनु पर्दछ । त्यसपछिका अर्को दश वर्ष बहुतै गहिरोसँग गणित, ज्यामिति र खगोल विज्ञान सिकाउनु पर्दछ । ३० वर्षको उमेरमा जो तेज देखिए उसलाई दर्शन र तर्कशास्त्र पढाउनु पर्दछ । यो शिक्षा पाँच वर्षसम्म जारी राख्नु पर्दछ । ३५ वर्षको उमेरमा उसलाई १५ वर्षसम्म समाजमा रहेर सुखदु:ख, जीवनशैली, संस्कृति बुझाई व्यावहारिक बनाउन समुदायमा पठाउनु पर्दछ । यसपछि जब ऊ ५० वर्षको हुन्छ र हर तरहको कठिन परिस्थिति सामना गर्न सक्षम हुन्छ । ऊ शासक बन्ने, नीति बनाउने अधिकारमा पुग्छ । यति त्याग, संघर्ष र ज्ञानका मानिस स्वार्थमा साँघुरिदैन । प्लेटोका अनुसार शासन भनेको समाजको लागि बृहत जिम्मेवारी हो न कि फाइदाका लागि अवसर ।
उनले चरित्रका आधारमा चार प्रकारका शासन पद्धति हुने अवधारणा राखेका थिए । टिमोक्रेसी, ओलिगार्की, डेमोक्रेसी र टिर्यानी । लोकतन्त्रमा सबै स्वतन्त्रताको उपयोग गर्दछन् । जब अविवेकी उन्मत्त भइ स्वतन्त्रताको उपभोग गर्ने बानी नागरिकमा विकास हुन्छ, कोही नियममा बस्न चाहदैनन्, व्यक्तिहरू आफ्ना इच्छामा काम गर्न थाल्दछन्, केही पनि कानूनमा रहन चाहदैनन् । त्यसपछि कानूनविहीनताको भारीले समाजमा अराजकतामा फैलिएपछि चलाख र लोभी व्यक्ति अघि सरी सुरक्षा दिने (थिति बसाउने, विकास गर्ने) झुठो आशा बाँडेर जनतालाई भ्रममा पार्छ । डरको फाइदा उठाएर सबै तागत आफूमा खिच्छ । सत्ता हातमा आएपछि खतरानक तानाशाह बन्छ । त्यतिबेला समाजमा बचेखुचेको केही स्वतन्त्रता पनि अपहृत हुन्छ । एक्लो तानाशाह सबैभन्दा खतरानक शासक हो ।
अर्को पुस्तक ‘स्टेटम्यान’मा केही शासकको प्रसंग उल्लेख गर्दै एउटा शासक जति नै विद्वान भए पनि असीमित अधिकार दिएमा ऊ भ्रष्ट बन्छ भन्ने देखाएका छन् । साहस र विवेक सन्तुलन गरेर राज्य कौशल देखाउनु शासकको क्षमता हो । कठोर कानूनी शक्ति र सर्वसाधारणको हित निर्माणको विवेकबीचको सन्तुलन कौशल देखाउन सक्ने नै राजनेता (स्टेट्स्म्यान) हो । यस प्रसंगको व्याख्याका लागि सेफर्ड र वुभर मेटाफरलाई उल्लेख गरेका थिए । उनले पाँच प्रकारका शासक शैली उल्लेख गरेका थिए, राजशाही (कानूनलाई सम्मान गर्दै प्रभुत्व राख्ने), कुलीनतन्त्र (धनी, सम्भ्रान्तले ऐसआराममा शासन गर्ने) गुटतन्त्र (सानो समूहको स्वार्थ रक्षामा शासन गर्ने), तानाशाही (आफ्नै इच्छामा शासन गर्ने) र लोकतन्त्र (आम मानसिको इच्छामा शासन गर्ने) । उनका अनुसार कुनै पनि शैलीको शासक सम्पूर्ण गुणमा हुँदैनन्, त्यसैले कानूनको अधिनमा रहेर शासन गर्नुपर्छ ।
जब प्लेटो ७० वर्ष उमेर पूरा गरेपछि अन्तिम कृति ‘कानून’को रचना गरे । यो कृतिको पात्र र पृष्ठभूमिमा सुकरात छैनन् । यसमा एउटा सानो कथा, सुन्दर शहर बनाउने कथालाई प्रसंगमा राखेर कानूनको व्याख्या गरिएको छ । कथा अनुसार तीनजना विद्वान एउटा सुन्दर शहर बनाउने योजना अनुसार यात्रा गरिरहेका छन् । त्यो शहरको नाम म्याग्नेसिया राखिएको थियो । एउटा व्यवस्थापनयोग्य शहर जहाँ सबैका स्वार्थलाई कानूनका अधिनमा राख्न सकियोस् भन्ने उनीहरूको योजना थियो ।
जनसंख्याका आधारमा ५४० जति परिवार भएको शहर व्यवस्थापनयोग्य हुन्छ, जहाँ कानून कार्यान्वयन र सुरक्षा व्यवस्था गर्न सजिलै सकिन्छ । त्यो शहरलाई व्यवस्थापन गर्न एउटा नगर परिषद् बनाउने भनिएको छ । त्यो परिषद्मा सबैभन्दा बुद्धिजीवीलाई शासक (प्रमुख) बनाइन्छ, जसले प्रत्येक बिहान शहरको व्यवस्था र प्रशासनका विषयमा समीक्षा र विचार विमर्श गर्छ । शासनको शैली लोकतन्त्र र राजशाहीलाई मिलाएर आदर्श बनाइएको थियो । केही पदाधिकारी निर्वाचित र महत्त्वपूर्ण निर्णय गर्ने पदाधिकारी ज्ञानी र अनुभवी राख्ने निर्धारण गरिको थियो (आधुनिक योग्यता प्रणाली र राजनीति र प्रशासनको सीमा कोर्ने सन्दर्भ पनि थियो यो) । उनले यस प्रकारको शासन व्यवस्थालाई व्यावहारिक शासन व्यवस्था मानेका थिए । किनकि त्यहाँ कठोर कानूनी अनुशासन कायम हुने कल्पना गरिएको थियो ।
ज्ञान र सत्यलाई व्यक्तिगत अहङ्कारभन्दा माथि राख्ने प्लेटोको भावना थियो । जसका कारण २० वर्ष उनको एकेडेमीमा शिक्षा लिएका शिष्य अरस्तु उनको विरोध गर्दथे, त्यसलाई उनले स्वीकार गरे । (शिक्षाले आलोचनात्मक चेत दिनुपर्छ भन्ने मान्यता उनमा, उनको गुरु सुकरातमा र चेला अरस्तुमा थियो) । प्लेटो देखिएको कुरा होइन, विचार सत्य हो भन्थे तर उनका शिष्य देखिएको कुरा मात्र सत्य हो भन्थे । अरस्तुमा आएको आलोचनात्मक चेत उनकै शिक्षाको कारण थियो, उनीभित्रको विचार चाहिँ एथेन्स, रोम, मिश्र आदि देशको यात्रा र सुकरातको निष्ठामाथि गरिएको घातको व्यावहारिक निष्कर्ष थियो । उनी सुकरात र आरस्तुका दार्शनिक सेतु जस्ता देखिए । उनका प्राज्ञिक मान्यतामा रहेर गुप्त वंशले नालन्द र गान्धाराले तक्षशिला ज्ञानकेन्द्र सञ्चालन गरको थिए । (प्लेटोको शिक्षा दर्शन भने वशिष्ठ र अरुन्धतीको गुरुकूलबाट प्रभावित थियो भन्न सकिन्छ, किनकि प्राचीन हिन्दू अभिलेख अनुसार प्लेटोभन्दा झण्डै एक हजार वर्षअघि वशिष्ठ दम्पति, विश्वामित्रहरूले गुरुकुल स्थापना गरेका थिए) ।
प्लेटोले जीवनभर विवाह गरेनन्, सारा जीवन समाज र आफ्नो एकेडेमीमा लगाए । उनको मान्यता थियो सच्चा दार्शनिक पूरै समाजको हुन्छ, गुट वा शासकको हुँदैन । त्यो सर्वकालिक हुन्छ, फराकिलो विश्लेषण र व्यावहारिक निष्कर्षमा हुन्छ । ८० वर्षको उमेरमा उनको निधन भयो । तर उनको एकेडेमी ९०० वर्षसम्म उनका शिष्य, शिष्यका शिष्य अनुयायीहरूले सञ्चालन गरी ज्ञान निर्माणको अनुष्ठानलाई निरन्तरता दिए । उनको दर्शन २५ सय वर्षपछि पनि विख्यात छ । उनले मानिसलाई आँखाले धोका दिन सक्छ, विचारको अन्तदृष्टिबाट हेर भनेर सिकाए । शिक्षा केवल ज्ञान दिने काम होइन, मानिसको अँध्यारोलाई उज्यालोमा पुर्याउने, सीप र निष्ठा सिकाउने विधि हो भन्ने सिकाए । समाज तबसम्म ठीक विचारले सञ्चालन हुँदैन तब त्यहाँको शासक नि:स्वार्थ हुँदैन ।