२२ असोज २०८३, बिहीबार
सेवा र समर्पणको उदाहरण

६८ जनाकी एक्ली आमा मीना

‘सन्तान’को भविष्यका लागि घरजग्गासमेत सुम्पिइन्
असोज ३, २०८३
विराटनगर
६८ जनाकी एक्ली आमा मीना

मोरङ उर्लाबारीको चोकमा घर र १७ धुर जग्गा भएकी एक सामान्य महिला, जसको जीवन सहज ढङ्गले बग्न सक्थ्यो ।  तर उनले आफ्नो सुख सुविधा र व्यक्तिगत सम्पत्तिभन्दा माथि उठेर अनाथ र अभिभावकविहीन बालबालिकाको भविष्य निर्माणलाई आफ्नो जीवनको एकमात्र ध्येय बनाइन् । 

उनी हुन्, मोरङको उर्लाबारी नगरपालिका-७, आश्रम टोलस्थित ‘नमूना बाल गृह’की संस्थापक मीना बराल । जसलाई त्यहाँका मात्र होइन, देश–विदेशका हजारौं मनहरूले श्रद्धापूर्वक ममी भन्छन् ।

२०५७ सालमा उर्लाबारीको ७ नम्बर वडास्थित चिउरा मिल भन्दा तलतिर, एक कट्ठा माटोबाट शुरू भएको थियो यो मानवीय धर्मको यात्रा । त्यतिबेला ११ जना दिदीबहिनीहरू मिलेर नारी सिर्जना कृषि सहकारी संस्थाको नाममा ३२ जोडी महिलालाई समेटेर शुरू गरिएको यो अभियान आज झाँगिदै एक विशाल वृक्ष बनिसकेको छ । 

मीनाका अनुसार, यो संस्था उनको कान्छी छोरीजस्तै हो । शुरूका दिनमा केही महिलाहरूको मात्र सहभागिता रहेको यो संस्थामा अहिले २४०० भन्दा बढी महिला आबद्ध छन् । केही वर्ष चलाएपछि उक्त संस्था अरूलाई हस्तान्तरण गरेर उनी हाल नमूना बालगृहको सम्पूर्ण जिम्मेवारी सम्हालेर बसेकी छिन् ।  

वर्तमानमा यो बालगृह एक बिघा जमिनमा फैलिएको छ, जहाँ देशैभरिका विभिन्न ठाउँबाट आएका ६८ जना असहाय नानीबाबुहरू आश्रित छन् । स्टाफ र बालबालिका गरी ७५ जनाको यो एउटा विशाल र मायालु परिवार बनेको छ । बालगृहमा आश्रित बालबालिकाको यथार्थ पनि उत्तिकै कहालीलाग्दो र मार्मिक छ । त्यहाँ चार वर्षका बालकदेखि तीन वर्षकी बालिकासम्म छन् । सबैभन्दा साना बालबालिकालाई कान्छा छोरा र कान्छी छोरी भनेर भन्ने गरेका छन् ।

null

ती सबै नानीहरू नियमित रूपमा विद्यालय जान्छन् । उनीहरूमध्ये कृति चेपाङ र सपना चेपाङजस्ता नानीहरूले कृषि विषयमा बीएससीएजी पढ्दै छन् भने अन्य केहीले स्नातक तहकै अध्ययन गर्दै छन् । 

बरालले आफ्नो कोखबाट जन्मिएका र बालगृहका यी अनाथ बालबालिकालाई कहिल्यै भिन्न महसुस गराइनन् । परिवारको आर्थिक अभाव चरम सीमामा छ । ७५ जनाको परिवार पाल्न ३० किलो चामल दुई छाकलाई पुग्दैन । नानीहरूको विद्यालयको शुल्क, स्वास्थ्य उपचार र पोसाकको जोहो गर्न हरेक दिन आमा मीनाको छातीमा ठूलै ढुङ्गा खस्छ । यस्तो दयनीय आर्थिक अवस्थाका बाबजुद पनि उनले बालबालिकाको शिक्षा र प्रतिभामा कहिल्यै आँच आउन दिइनन् ।

जब देशमा लकडाउनको कठिन समय चलिरहेको थियो, कोही बाहिर निस्कन पाइएको थिएन, तब मीनाले आफ्ना नानीहरूलाई घरभित्रै योगा अभ्यास गराउन थालिन् । त्यहीँबाट शुरू भएको थियो इतिहास रच्ने सिलसिला । प्रशिक्षण र अथक मेहनतले उनले गरेको प्रयास अहिले सफल भएको छ । बालगृहका ६–७ जना नानीबाबुहरू योगा प्रतियोगितामा कोशी प्रदेशबाट उत्कृष्ट भएर टपमा पर्न सफल भए । त्यसपछि राष्ट्रिय योगासना प्रतियोगितामा फर्स्ट, सेकेन्ड र थर्ड हुँदै उनीहरूले दिल्लीमा आयोजित एसियाली प्रतियोगितासम्म यात्रा तय गरे । 

एसियाली प्रतियोगितामा ती नानीहरूले ९ वटा मेडल जितेर देशको शिर उँचो बनाए ।   त्यति मात्र कहाँ हो र ? मलेसियामा आयोजित योगासनाको ‘वर्ल्ड च्याम्पियनसिप’मा पनि बालगृहका ६ जनै बच्चा सहभागी भए । त्यहाँ दुईजना सेकेन्ड हुन सफल भए भने बाँकी टप फाइभभित्र परे । भर्खरै अहमदाबादमा सम्पन्न ७९ राष्ट्रको सहभागिता रहेको विश्वकप प्रतियोगितामा पनि ६ जना नै सहभागी भए । विभिन्न उमेर समूहका क्याटेगोरीमा प्रतिस्पर्धा गर्दै उनीहरूले ११ वटा विधामा दोस्रो स्थान हासिल गरे ।  

अहमदाबाद, मलेसिया र एसियाली प्रतियोगितामा भाग लिन जाँदा लागेको ऋण अझै पनि मीनाको काँधमा भारी बनेर झुण्डिरहेको छ । अब यी प्रतिभावान नानीहरूलाई आगामी मे महिनामा इटालीमा हुन गइरहेको विश्वस्तरीय योगासना प्रतियोगितामा पठाउनुपर्नेछ । तर एउटा बच्चालाई इटाली पठाउने खर्च मात्र साढे तीन लाख रूपैयाँ लाग्छ । 

मीना  भन्छिन्, ‘एउटा सम्पन्न परिवारमा जन्मेको भए जन्मदिन वा अन्य बहानामा यति खर्च सामान्य हुन्थ्यो होला । तर हाम्रा लागि साढे तीन लाख भनेको आकाशको फल जस्तै हो ।’ 

उनको मनमा एउटा गहिरो पीडा छ- आज ती नानीहरूका साथी इटाली जान पाउँदा खुसीले गद्गद् छन्, तर उनका नानीहरू ‘आमाबाबु नभएको, अनाथ भएकै कारण’ क्षमता हुँदाहुँदै पनि संसार जित्नबाट वञ्चित हुनुपर्ने हो कि ? उनीहरूको बालमनमा पर्न सक्ने नैराश्यताले यो आमाको मुटु च्यातिएको छ । उनीहरू त आफ्ना हुनेखाने साथीहरूसँग दाँजेर ‘हामी त अनाथ भयौं र पो पछाडि पर्‍यौं नभनून् भनेर मीना अहिले सहयोगका लागि कुदिरहेकी छन् । 

‘बिहान आश्रममा चना खाएर हिँडेको’, कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा भेटिएकी उनले भनिन्, ‘अहिले पनि गाडीमा चना बोकेर आएकी छु । सुगरको बिरामी हुँ ।’ 

null

तिनै ६ जना बालबालिकालाई खेलमा सहभागी गराउन उनी प्रदेशका विभिन्न मन्त्रालयमा धाइरहेकी छन् । मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री गीता तिम्सिना, आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप लगायतका मन्त्रीलाई भेटेर उनले रूँदै आफ्नो समस्या राखेकी छन् । उनको क्षेत्रका सांसद उमाकान्त गौतम कोशी प्रदेशकै स्वास्थ्य राज्यमन्त्री छन् । उनलाई पनि बरालसहितको टिमले भटेको छ ।

१६–१७ वर्ष पुगिसकेका यी नानीहरूले आज राज्य र समाजलाई प्रश्न गरिरहेका छन् । ‘यदि राज्यले वा कुनै सहयोगी मनले जिम्मा लिइदियो भने यी होनहार प्रतिभाहरूले देशको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा अझै फहराउने थिए’, उनी भन्छिन् । 

सुन्दर सार्की (दमक), चाँदनी शिवा दर्जी (पाँचथर), अनिता बिक (तेह्रथुम), जय चौधरी (झापा) र सोइचा थापा (मोरङ) जस्ता होनहार बालप्रतिभाहरू आज पनि अवसरको प्रतीक्षामा छन् । उनीहरूलाई जन्मदिने आमाबाबु फरक होलान्, तर आज उनीहरूको सिंगो संसार यही ‘नमूना बाल गृह’ र मीनाभित्रै सीमित छ ।  

मीनाले आफ्नो उर्लाबारी चोकको घर र जग्गासमेत यही बालगृहका नानीहरूको खुसीका लागि समर्पित गरिन् ।  उनी भन्छिन्, ‘म एक्लैले कति नै गर्न सक्छु र ? आफ्नो भएको सर्वस्व त समर्पण गरेँ नै, अब त अन्त हिँडेर, मागेर, हात जोडेर भए पनि यिनीहरूको भविष्य बनाउन चाहन्छु ।’ 

बैंक खातामा सीमित रकम र दैनिक छाक टार्न धौधौ भए पनि उनको आत्मबल भने धर्मराएको छैन । जसले आमाको न्यानो काख पाएनन्, जसको जीवन अँध्यारो थियो, मीना बरालले तिनै अनाथ नानीहरूको जीवनमा योगाको आसनसँगै जीवनको सही अर्थ सिकाएकी छिन् । इटालीको मैदानमा नेपालको झण्डा फहराउन तिनै बालबालिका आतुर छन् ।
 

कमेन्ट गर्नुहोस्