२२ असोज २०८३, बिहीबार
उद्योग मन्त्रालयका नयाँ नेतृत्व

ग्यास संकट टार्न लागिपरेका मन्त्री छोरालाई केनेडीको उदाहरण दिँदै बुवाले पत्र लेखेपछि...

‘दैनिक १२ देखि १५ घण्टा काम, दिनभर खाना नखाई मिटिङ’
असोज ४, २०८३
काठमाडौं
ग्यास संकट टार्न लागिपरेका मन्त्री छोरालाई केनेडीको उदाहरण दिँदै बुवाले पत्र लेखेपछि...

खाना पकाउने ग्यास संकट समाधान गर्न नसकेर गौरी कुमारीले राजीनामा दिएपछि सुनसरीबाट निर्वाचित रास्वपा सांसद दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाए ।

भदौ २५ गते शीतल निवासमा मन्त्रीको शपथ लिएर कार्यभार सम्हाल्न आएका साहले कार्यकक्षमा राष्ट्रिय झण्डा र मन्त्रालयको ढोकालाई ढोगे, अनि मन्त्रालयका सचिवलाई खादा लगाइदिए ।

null

मन्त्रीको कार्यभार सम्हाल्ने क्रममा पत्रकारले सोधेको एक प्रश्नको जवाफमा मन्त्री साहले ग्यास संकट समाधानका लागि निवर्तमान मन्त्री गौरी कुमारीसँग सिक्ने बताएका थिए ।

ग्यास संकट समाधान गर्न ‘असफल’ भएर बाहिरिएकी गौरी कुमारीसँग पाठ सिक्ने भन्ने नयाँ मन्त्रीको कुराले मान्छेमा द्विविधा पैदा गरिदियो– ‘असफलबाट के सिक्ने ?’ आदर्श व्यक्तिहरू भन्ने गर्छन्– ‘असफलताको पाठले मानिसलाई सफल बनाउँछ ।’

null

त्यसै दिन साँझ मन्त्री दीपकका बुवा मदनलाल साहले एउटा हस्तलिखित मार्मिक चिठी पठाए– केही प्रेरणादायी व्यक्तिहरूको भनाइ समावेश गरेर ।

‘तिम्रो कथन मन्त्रालय र मातहतका निकायमार्फत भइरहेको कार्य प्रगतिबारे निवर्तमान मन्त्री गौरी कुमारीसँग आवश्यक छलफल गरेर थप कार्य अगाडि बढाउने प्रतिक्रिया निम्न लिखित महापुरुषको कथनअनुसार स्वीकारयोग्य छ,’ मदनलालले लेखेको पत्रको भूमिकामा भनिएको छ ।

छोरालाई प्रेरणा दिँदै मदनलाल लेख्छन्– ‘अमेरिकी पूर्वराष्ट्र‌पति केनेडीसँग एक पत्रकारले प्रश्न गर्नुभयो–जीवनमा सफलताको श्रेय कसलाई दिनुहुन्छ ? जवाफमा उनले भनेका थिए– ‘असफल व्यक्ति’ । म हरेक असफल व्यक्तिसँग कुरा गरेर उसको कमजोरी पत्ता लगाउँथेँ, सो अनुभवबाट लाभ लिएर सफलता पाउँथेँ ।’

मदनलालले सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र भारतको स्वतन्त्रता संग्रामका महापुरुष महात्मा गान्धीको प्रसंग पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘आइन्स्टाइन से किसी ने पूछा– सफलता का सर्वोत्तम गुर क्या है? सफलताका सर्वोत्तम गुर है– अ, ब, स । अका अर्थ काम, ब का अर्थ खेल और स का अर्थ क्या हुआ ? स का अर्थ है अका अ मुँह बंद रखना !’

(‘आइन्स्टाइनलाई कसैले सोधे– सफलताको सर्वोत्तम सूत्र के हो ? उनले भने– सफलताको सर्वोत्तम सूत्र अ, ब, स हो । अको अर्थ काम, बको अर्थ खेल र सको अर्थ के हो ? सको अर्थ अको ‘अ’ अर्थात् आफ्नो मुख बन्द राख्नु हो ।’)​

त्यही प्रेरणालाई आधार मानेर मन्त्री साह अहिले ग्यासको आपूर्ति सहज गर्न दिनरात लागिपरेका छन् ।

नतिजा नआउञ्जेल मन्त्रालयमा भेट्न आउनेको बधाई उनले ग्रहण गरेका छैनन् । ‘मलाई बधाई होइन, शुभकामना मात्र भन्नुस्,’ उनले भन्ने गर्छन् ।

ग्यास संकट समाधान गर्न कसरी गर्दैछन् काम ?

दीपक साहले मन्त्रालय सम्हाल्दा देशमा ग्यासको संकट भयावह अवस्थामा पुगेको थियो । भोटेकोशी बाढीपछि कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग ठप्प भएपछि राजधानी काठमाडौंमा ग्यास अभाव झन चर्किँदै थियो ।

अप्ठ्यारो समयमा मन्त्रालयको जिम्मा सम्हालेपछि मन्त्री साह आपूर्ति सहज गर्न दिनरात नभनी खटिए ।

मन्त्री साहले पृथ्वी राजमार्गको विकल्पमा हेटौंडा हुँदै त्रिभुवन राजपथको बाटो ग्यासका ट्रक ल्याउन विभिन्न मन्त्रालयसँग समन्वय गरे । उद्योग र पूर्वाधार विकास मन्त्रालयका कर्मचारीले हेटौंडामा बसेर इन्धन र ग्यासका गाडीलाई प्राथमिकतासाथ काठमाडौं पठाउन सहजीकरण गरे ।

परराष्ट्र मन्त्रालयमार्फत ग्यासको आपूर्ति बढाउन भारतसँग पहल गरे भने भन्सारमा ग्यासका बुलेट छुटाउन रातिको समयमा समेत काम गर्ने व्यवस्था गराए । त्यसको नतिजा बजारमा देखिन थालेको छ ।

‘निवर्तमान मन्त्रीले उद्योगी व्यापारीको पाता कस्ने कुरा गरेर समस्या बल्झाउने काम गर्नुभएको थियो, नयाँ मन्त्री आएपछि अहिले क्रमश: समस्या समाधान हुँदै गएको छ’, एक ग्यास उद्योगीले भने, ‘ग्यासका लाइन देखिन छाडेका छन् । हप्ता–दश दिनमा ग्यासको आपूर्ति सहज हुनेछ ।’

ग्यास आपूर्ति सहज गर्न मन्त्री साह मन्त्रालयमा दैनिक १२ देखि १५ घण्टासम्म काम गरेर बसिरहेका छन् ।

बिहान ९ बजे मन्त्रालय पुग्ने साह राति ९ बजेमात्र फर्किन्छन् । ‘मन्त्रीज्यू एकदिन त खाना खान पनि जान पाउनुभएन । सामान्य नास्ता खाएर दिनभर मिटिङ गर्नुभयो’, मन्त्रालयका एक कर्मचारीले भने ।

null

‘फिसबोन डायग्राम’ बनाएर काम

अपर्झट मन्त्रीको जिम्मेवारी काँधमा आए पनि इञ्जिनीयर साह योजना बनाएर ग्यास संकट समाधान गर्नतर्फ लागेका छन् । कुनै पनि समस्याको मूल कारण पत्ता लगाउने विधिलाई ‘फिसबोन डायग्राम’ भनिन्छ ।

ग्यास संकटको आन्तरिक र दीर्घकालीन योजना बनाउन मन्त्रालयले आन्तरिक समिति बनाएर काम शुरू गरेको छ । दीर्घकालीन समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगलाई समेत मन्त्रालयले लेखेर पठाएको छ ।

यसबीचमा मन्त्री साहले भारतबाट दैनिक १६० ग्यासका बुलेट ल्याउने प्रतिबद्धता जनाएको कुरा बाहिर आयो ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रीको आश्वासनभन्दा पनि नयाँ मन्त्री आएपछि आयल निगमले भारतीय आयल कर्पोरेसनलाई त्यस्तो आग्रह गरेर पत्र पठाएको थियो ।

निगमले सेप्टेम्बर १५ मा भारतीय आयल कर्पोरेसनलाई पत्र लेख्दै नेपालमा भइरहेको चर्को अभाव कम गर्न केही दिनका लागि दैनिक १६० बुलेट पठाइदिन भनेर पत्र लेखेको थियो ।

नेपालको आग्रहबमोजिम भारतले आपूर्ति बढाएर ग्यासको अभाव कम गर्न सहज भएको मन्त्रालय स्रोत बताउँछ ।

‘इरान–अमेरिका युद्धका कारण हर्मुज नाका बन्द हुँदा भारतमा समेत ग्यासको सप्लाइ सिस्टम प्रभावित भएको थियो । यस्तो संकटको समयमा पनि भारतबाट आपूर्तिमा कुनै कमी भएन,’ मन्त्रालय स्रोतले भन्यो ।

ग्यास आयात कम नहोस् भनेर मन्त्रालयले नियोगका प्रतिनिधिलाई भारतको बरौनी पठाएको थियो ।

बजारमा चिनीको मूल्यवृद्धि भएको गुनासो आइरहेका बेला चिनी आयात गरेर बेच्ने सम्बन्धित निकायलाई नै उनले बोल्न लगाए ।

‘खल्बलिएको ग्यासको आपूर्ति शृङ्खला अब सहज हुँदैछ, एक हप्तामा पर्याप्त आपूर्ति र अर्को हप्तादेखि फालाफाल हुने गरी काम भइरहेको छ,’ मन्त्री साहले लोकान्तरसँग भने, ‘दशैं, तिहार र छठको समयमा ग्यास, चिनी लगायत अत्यावश्यकीय सामग्रीको कुनै अभाव हुँदैन ।’

‘मन्त्रबाट मन्त्रालय’ चलाउँदै मन्त्री साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता अमरेशकुमार सिंहले आपूर्ति मन्त्रालय जिम्मा लगाएर मधेशी नेताको राजनीतिक करिअर सिध्याउने काम हुने गरेको टिप्पणी गरेका थिए ।

हुन पनि २०६३ सालको जनआन्दोलनपछि लामो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तत्कालीन सद्भावना पार्टीको कोटामा पर्ने गरेको थियो ।

२०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन भएर स्थिर सरकार बन्नुअघि आपूर्ति मन्त्रालय अधिकांश समय मधेशकेन्द्रित दलका नेताको भागमा पर्ने गरेको थियो ।

अमरेशकुमार सिंहको त्यो चर्चित अभिव्यक्तिलाई पाठको रूपमा लिएर दीपकले मन्त्रालयलाई फरक ढंगले चलाउने नीति लिएका छन् ।

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले रोजगारी सिर्जना गर्ने उद्योग मन्त्रालयलाई अब्बल बनाउने भन्दै आएका छन् ।

असोज १ गते मन्त्रालयमा आफ्नो प्रस्तुति पेश गर्ने क्रममा मन्त्री साहले ‘मन्त्रबाट मन्त्रालय’ भन्ने अवधारणा सार्वजनिक गरेका थिए ।

विगतमा नयाँ मन्त्री आएपछि कर्मचारीले प्रस्तुतीकरण दिने गरेकोमा यसपटक मन्त्रीले ‘पावर पोइन्ट’मार्फत मन्त्रालयले गर्ने कामलाई कसरी प्रभावकारी बनाउने भन्ने अवधारणा ल्याएका थिए ।

null

कर्मकाण्डी सोचबाट नतिजा दिन नसकिने भन्दै उनले चुस्त टीम बनाएर काम गर्नुपर्ने बताएका थिए । मन्त्री साहले उद्योग मन्त्रालय सुधार्न १० मन्त्र अगाडि सारेका छन् ।

१. नीति पहिलो– व्यक्तिगत निर्णय होइन; स्पष्ट नीति, कानून र प्रणालीमा आधारित निर्णय ।

२. जनता पहिलो– हरेक निर्णयको अन्तिम प्रश्न: यसबाट जनतालाई के फाइदा भयो ?

३. उ‌द्योग नै उत्पादन–आयात निर्भरता घटाउँदै स्वदेशी उत्पादन र निर्यात बढाउने ।

४. समय नै सेवा–अनावश्यक ढिलाइ अन्त्य गर्दै समयबद्ध सेवा मापदण्ड लागू गर्ने ।

५. तथ्यांक नै निर्णय– अनुमान र दबाब होइन; तथ्य, प्रमाण र विश्लेषणमा आधारित नीति ।

६. गुणस्तर नै पहिचान– आईएसओ ९००१, मानक कार्यविधि र नियमित आन्तरिक लेखापरीक्षण ।

७. पारदर्शिता नै विश्वास– निर्णय, खरिद, अनुगमन र प्रगतिको पारदर्शी अभिलेख ।

८. संकटमा तत्काल आपूर्ति– ग्यास, इन्धन र खाद्यान्नको वास्तविक समयमा अनुगमन र प्रतिकार्य ।

९. पुरानोबाट नयाँ निर्माण– बन्द तथा रुग्ण उ‌द्योगलाई पुनरुत्थानको अवसरमा बदल्ने ।

१०. निरन्तर सुधार–योजना, कार्य, जाँच र सुधारको नियमित चक्र

कमेन्ट गर्नुहोस्