
विश्वभरका ब्लकचेन डेभलपर तथा स्टार्टअप संस्थापकहरूलाई लक्षित गर्दै आयोजना भइरहेको अनलाइन ह्याकाथन ‘कोलोसियम्स क्रिप्टो वर्ल्डस् फेयर’मा नेपालका चार सयभन्दा बढी टोलीले सहभागिताका लागि आवेदन दिएका छन् ।
ह्याकाथनमा सहभागी १२६ देशमध्ये नेपाल हालसम्मकै दोस्रो सर्वाधिक आवेदन दिने देश बनेको हो ।
उक्त ह्याकाथनमा हालसम्म ४ हजार ८१५ जनाले आवेदन दिएकोमा सबैभन्दा धेरै भारतबाट ९३४ टोली र त्यसपछि नेपालबाट ४२५ टोलीले सहभागिताका लागि नाम दर्ता गराएका छ न्।
विश्वव्यापी रूपमा वर्षमा दुईपटक आयोजना हुने यो ह्याकाथन गत सेप्टेम्बर १४ देखि शुरू भएको हो भने अक्टोबर १२ सम्म सञ्चालन हुनेछ ।
विगतमा सोलाना ब्लकचेनमा केन्द्रित रहने गरेको भए पनि यसपटक भने जुनसुकै ब्लकचेनमा आधारित भएर नयाँ परियोजना वा स्टार्टअप विकास गर्नेका लागि प्रतियोगिता खुला गरिएको बताइएको छ ।
उक्त ह्याकाथनको नेपाली च्याप्टर सुपरटिम नेपालका अनुसार यो सामान्य कोडिङ प्रतियोगिता मात्र नभई वास्तविक प्रयोगमा आउने आइडिया तथा आम्दानीको सम्भावना भएका स्टार्टअप निर्माण गर्ने प्लेटफर्म हो ।
एक महिनासम्म चल्ने ह्याकाथनमा अक्टोबर १२ सम्म टोली दर्ता गर्न र आफ्नो परियोजना बुझाउन सकिनेछ ।
प्रतियोगितामा कूल १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रूपैयाँभन्दा बढी पुरस्कार राशी रहेको छ । त्यसबाहेक उत्कृष्ट ठहरिने स्टार्टअपहरूले २ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब ३ करोड ३० लाख रूपैयाँभन्दा बढी बराबरको प्रि–सीड फन्डिङसमेत प्राप्त गर्न सक्नेछन् ।
नेपाली प्रतिस्पर्धीका लागि मात्रै ५ हजार डलरको ‘लोकल प्राइज’
विश्वव्यापी पुरस्कारबाहेक नेपाली परियोजनालाई प्रोत्साहन गर्न सुपरटिम नेपालले ५ हजार अमेरिकी डलर अर्थात् करिब ७ लाख ६५ हजार रूपैयाँको छुट्टै पुरस्कारसहित ‘नेपाली डेमो डे’ आयोजना गर्ने भएको छ ।
ग्लोबल ह्याकाथनमा आफ्ना परियोजना बुझाउने नेपाली टोलीमध्येबाट एक टोलीलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशी भने ग्लोबल ह्याकाथन सकिएपछि प्रदान गरिनेछ ।
यसका लागि अक्टोबर १६ मा प्रतिस्पर्धीलाई आफ्नो परियोजना प्रस्तुत गर्न लगाएर निर्णायक मण्डलले उत्कृष्ट टोली छनोट गर्नेछ ।
‘स्टार्टअप भिलेज’ पनि आयोजना हुँदै
ग्लोबल ह्याकाथनमा नेपाली टोलीलाई प्रतिस्पर्धाका लागि तयार पार्न तथा अन्तर्राष्ट्रिय स्तरको स्टार्टअप निर्माणमा सहयोग पुर्याउन सुपरटिम नेपालले देशव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
सुपरटिम नेपालले चितवनमा सेप्टेम्बर २४ देखि २९ सम्म निःशुल्क ‘स्टार्टअप भिलेज’ आयोजना गर्ने तयारी गरेको छ ।
त्यहाँ २० टोली छनोट गरी बुटक्याम्प शैलीमा मेन्टरशिप तथा प्राविधिक सहयोग प्रदान गरिनेछ । उक्त मेन्टरशिपका लागि आवेदन दिने समयसीमा सेप्टेम्बर २२ तोकिएको छ ।
ग्लोबल ह्याकाथनका लागि colosseum.com/worldsfair मार्फत अक्टोबर १२ सम्म तथा चितवन स्टार्टअप भिलेजका लागि luma.com/superteamnpevents मार्फत सेप्टेम्बर २२ भित्र आवेदन दिन सकिनेछ ।
के हो सुपरटिम नेपाल ?
विश्वका २६ भन्दा बढी देशमा फैलिएको सुपरटिमको नेपाली च्याप्टरका रूपमा विगत डेढ वर्षदेखि ‘सुपरटिम नेपाल’ सक्रिय छ ।
७ सयभन्दा बढी सदस्य रहेको यो समुदायले नेपाली बिल्डर तथा क्रिएटरलाई बाउन्टी, ह्याकाथन र ग्रान्ट्समार्फत हालसम्म २ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब ३ करोड ८१ लाख रूपैयाँ बराबरको आम्दानी दिलाइसकेको जनाएको छ ।