
व्यक्तिगत पहलमा सडकको खाल्डाखुल्डी मर्मत गरेपछि भिजेको कंक्रिटबाट सवारी तथा पैदलयात्रीलाई जोगाउन चेतावनीस्वरूप तार बाँधेका एक चिनियाँ चालक हत्या आरोपमा पक्राउ परेका छन् ।
घटना चीनको मध्यभागमा पर्ने हेनान प्रान्तको हो । उपनाम सिए भएका कंक्रिट मिक्सर ट्रक चालकलाई सेप्टेम्बर ११ मा प्रहरीले पक्राउ गरेको हो ।
सिए गाउँको कच्ची सडक हुँदै ट्रक चलाएर जाँदै थिए । सडकमा खाल्डाखुल्डी भएकाले सवारी चलाउँदा निकै उबडखाबड भइरहेको उनले देखे ।
उनको ट्रकमा केही कंक्रिट मिश्रण बाँकी थियो । त्यसपछि उनले आफैं सडक मर्मत गर्ने निर्णय गरे । उनले सडकको एक भागमा बाँकी कंक्रिट खन्याएर मर्मत गरे ।
मर्मत गरिएको भागको कंक्रिटमा मानिस वा सवारी नपरोस् भनेर उनले सडक वारपार हुने गरी दुईवटा रुखबीच गाढा रंगको तार बाँधे । आउने सवारी तथा पैदलयात्रीलाई चेतावनी दिने उनको उद्देश्य थियो ।
तर, यही तारले अन्ततः एक महिलाको ज्यान लियो ।
अगस्ट १० को बिहान ४५ वर्षीया स्थानीय महिला विद्युतीय साइकलमा उक्त सडक हुँदै गइरहेकी थिइन् । सो क्रममा उनको घाँटीमा तार बेरिएपछि उनी सडकमा लडिन् ।
घटनाको करिब १० मिनेटपछि माध्यमिक तहमा अध्ययनरत उनका छोरा त्यही बाटो हुँदै आएका थिए । उनले आमालाई सडकमा लडिरहेको र सास फेर्न नसक्ने अवस्थामा फेला पारेका थिए ।
महिलालाई तत्काल अस्पताल लगेर आकस्मिक उपचार गरिए पनि उनको ज्यान बचाउन सकिएन ।
मृतक वु सियाले ज्यालादारी काम र खेतीपातीबाट मासिक ४ हजार युआन (करिब ६०० अमेरिकी डलर) कमाएर तीन सन्तानको पालनपोषण गर्दै आएकी थिइन् ।
घटनाको बिहान उनी बजारका लागि सहरतर्फ गएकी थिइन् । घरबाट करिब एक किलोमिटर टाढा पुग्दा उनी तारमा परेकी थिइन् ।
मृतकका एक आफन्तका अनुसार सडक ओरालो झर्ने भागको अन्त्यतिर करिब एक मिटरको उचाइमा तार बाँधिएको थियो । तार करिब एक औँला मोटाइको थियो ।
सडकमा बाँधिएको तार दिनको उज्यालोमा समेत लगभग देखिँदैनथ्यो ।
महिलाको परिवारले खोजी गर्दै चालक सिएसम्म पुगेको थियो । सिएले अन्त्येष्टि खर्चबापत दशौँ हजार युआनसमेत दिएका थिए ।
गाउँका एक सरकारी कर्मचारीले चिनियाँ सञ्चारमाध्यम हङ्सिङ न्युजसँग घटनाबारे आफूहरूले निरन्तर अनुगमन गरिरहेको बताएका छन् ।
उनका अनुसार सिएलाई हत्या आरोपमा पक्राउ गरिएको हो ।
चीनमा लापरवाहीका कारण मृत्यु भएको घटनालाई 'लापरवाहीबाट मृत्यु गराएको' अपराधका रूपमा लिइन्छ । यस्तो अपराधमा सामान्यतया तीनदेखि सात वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
सामाजिक सञ्जालमा तीव्र बहस
घटनापछि चीनमा सामाजिक सञ्जालमा यस विषयलाई लिएर तीव्र बहस भइरहेको छ । धेरैले राम्रो नियतबाट गरिएको कामले दुःखद परिणाम निम्त्याएको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
एक अनलाइन प्रयोगकर्ताले टिप्पणी गरेका छन्, 'राम्रो नियतले नरक जाने बाटो बनायो ।'
अर्का प्रयोगकर्ताले भनेका छन्, 'त्यस्तो तारले कसैलाई कसरी चेतावनी दिन सक्छ र? राति त देखिँदैन नै, दिनमा पनि तीव्र गतिमा विद्युतीय साइकल चलाउने व्यक्तिले सजिलै बेवास्ता गर्न सक्छ ।'
अर्का एक प्रयोगकर्ताले सडकमा सबैले देख्न सक्ने गरी चेतावनी संकेत राख्नुपर्ने बताएका छन् । उनले कम्तीमा तारमा चम्किलो रंगको कपडा बाँध्न सकिने सुझाव दिएका छन् ।
अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन्, 'अज्ञानता दुष्टताभन्दा पनि खतरनाक हुन्छ ।'
डोरी र तारका कारण दुर्घटना भएको अर्को घटना
सडकमा डोरी वा तार झुन्ड्याउँदा दुर्घटना भएको चीनमा यो पहिलो घटना भने होइन ।
यसै वर्ष अप्रिलमा हेनानमै १३ वर्षीय एक बालक विद्युतीय साइकलमा ग्रामीण सडक हुँदै गइरहेका बेला सडक काटेर बाँधिएको डोरी उनको घाँटीमा बेरिएको थियो ।
दुर्घटनामा उनको श्वासनलीमा गम्भीर क्षति पुगेको थियो भने फोक्सोमा समेत आन्तरिक रक्तस्राव भएको थियो ।
उनलाई बेइजिङस्थित अस्पतालमा लगेर सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उपचारपछि उनको ज्यान जोगिए पनि पूर्ण रूपमा निको हुन लामो र चुनौतीपूर्ण समय लाग्ने अवस्था रहेको थियो ।