२२ असोज २०८३, बिहीबार
सरकारी जग्गाको संरक्षण

वर्षौंदेखि कब्जामा रहेका सरकारी जग्गा खोज्दै प्रशासन : काठमाडौंमा मात्रै करिब १ हजार १३२ रोपनी फिर्ता

असोज ७, २०८३
काठमाडौं
वर्षौंदेखि कब्जामा रहेका सरकारी जग्गा खोज्दै प्रशासन : काठमाडौंमा मात्रै करिब १ हजार १३२ रोपनी फिर्ता
तस्वीरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल

काठमाडौंमा वर्षौंसम्म सरकारी तथा सार्वजनिक जग्गा कसैको निजी जग्गाजस्तै प्रयोग भयो । कतै पक्की घर ठडिए, कतै टहरा र पसल बने । कतै सार्वजनिक जग्गामा बस्ती नै बस्यो । नदी किनार र खुला क्षेत्र समेत क्रमशः अतिक्रमणमा परे ।

अहिले त्यही जग्गा खोज्ने र राज्यको स्वामित्वमा फिर्ता ल्याउने अभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीव्र बनाएको छ । विशेषगरी प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको नेतृत्वमा अभियान अगाडि बढेको हो ।

जिल्ला प्रशासन, काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका लगायत स्थानीय तहको पहलमा उपत्यकाका विभिन्न स्थानमा रहेका अनधिकृत संरचना हटाउने, जग्गाको सीमांकन गर्ने र तारबार लगाउने काम अघि बढाइएको छ ।

पछिल्लो समयमा काठमाडौंमा मात्र १ हजार १३२ रोपनी सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणमुक्त भएको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा उपलब्ध विवरणअनुसार टोखा र तारकेश्वर नगरपालिकामा मात्रै करिब ६६१ रोपनी जग्गा अतिक्रमणमुक्त गराइएको छ । त्यसमध्ये टोखा नगरपालिकाका ११ वटै वडाका ६१ कित्तामा फैलिएको ३३९ रोपनी १३ आना २ पैसा सार्वजनिक जग्गा संरक्षणमा ल्याइएको छ । तारकेश्वरमा ३२० रोपनी १५ आना जग्गामा रहेका अनधिकृत संरचना हटाउने तथा कानूनी प्रक्रिया अघि बढाउने काम समेत भएको छ ।

त्यसबाहेक उपत्यकाका नदी किनार तथा विभिन्न सार्वजनिक जग्गामा बस्दै आएका २ हजार ५२५ घरधुरी अर्थात् टहरा हटाएर २ लाख ३९ हजार ६८९.४३ वर्गमिटर (करिब ४७१.१६ रोपनी) जग्गा अतिक्रमणमुक्त बनाइएको विवरणमा उल्लेख छ ।

यी सबै क्षेत्रफललाई जोड्दा उपत्यकामा करिब १ हजार १३२ रोपनी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाइएको देखिन्छ ।

तर, जग्गा खाली गराउनु मात्रै अभियानको अन्तिम उद्देश्य होइन । खाली गराइएको जग्गालाई फेरि कब्जा हुन नदिन सीमांकन, तारबार र संरक्षणका काम पनि अघि बढाइएको छ । कतिपय स्थानमा पार्क, खेलमैदान, हरियाली क्षेत्र तथा सामुदायिक वन निर्माण थालिएको छ ।

यसले उपत्यकामा वर्षौंदेखि हराउँदै गएको सार्वजनिक जग्गा खोज्ने अभियान अब केवल संरचना हटाउने तहमा सीमित नभई त्यसको दीर्घकालीन संरक्षणतर्फ पनि अघि बढेको देखाउँछ ।​

टोखामा ६१ कित्ता खोज्दा भेटियो ३३९ रोपनीभन्दा बढी सार्वजनिक जग्गा

टोखा नगरपालिकाको तथ्यांक हेर्दा सार्वजनिक जग्गा संरक्षणको अभियान कति ठूलो क्षेत्रफलमा फैलिएको छ भन्ने देखिन्छ ।

नगरपालिकाका ११ वटै वडामा गरी ६१ वटा कित्तामा फैलिएको ३३९ रोपनी १३ आना २ पैसा सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराइएको छ । त्यस क्रममा ३१ वटा पक्की घर तथा टहरा हटाइएको छ ।

टोखाको वडा नम्बर १ मा मात्रै ६ वटा कित्ताको जग्गा संरक्षणमा ल्याइएको छ । सिट नम्बर ६ कको कित्ता नम्बर ९७ को ४२ रोपनी जग्गामा हरियाली पार्क निर्माण गरिएको छ । त्यस्तै, सिट नम्बर ४ गका कित्ता नम्बर २ र २२ को ८ रोपनी १० आना जग्गामा बालमैत्री पार्क बनाइएको छ ।

त्यसै वडामा सिट नम्बर ६ कका कित्ता नम्बर ४ र ५ को ३० रोपनी १० आना तथा सिट नम्बर ९ कको कित्ता नम्बर ९० को २ रोपनी ३ आना जग्गामा तारबार गरेर संरक्षण गरिएको छ ।

वडा नम्बर २ मा ६ वटा कित्ताको जग्गा सीमांकन गरी तारबार गरिएको छ । कित्ता नम्बर १२२ को ५ रोपनी, कित्ता नम्बर ३१६ को ११ आना, कित्ता नम्बर ७९ को २ रोपनी ७ आना, कित्ता नम्बर ८२ को १ रोपनी, कित्ता नम्बर ६ को ३ रोपनी र कित्ता नम्बर ३१ को १२ आना जग्गा यसमा पर्छ ।

वडा नम्बर ३ मा ४ वटा कित्ताको जग्गा संरक्षण गरिएको छ । कित्ता नम्बर १७ को ३ रोपनी ५ आना २ पैसा जग्गामा हरियाली पार्क बनाइएको छ । सिट नम्बर ०९०५०५ का कित्ता नम्बर १ र ३ को ९९ रोपनी जग्गामा सामुदायिक वन तथा खेलकुद मैदान निर्माण गरिएको छ । त्यस्तै, कित्ता नम्बर ३५८ को ३ रोपनी जग्गामा पनि हरियाली पार्क निर्माण गरिएको छ ।

वडा नम्बर ४ मा सिट नम्बर ०९०५१६ को कित्ता नम्बर ४ को २० रोपनी र सिट नम्बर ०९४६०१ को कित्ता नम्बर ९ को २५ रोपनी जग्गामा तारबार गरिएको छ । सिट नम्बर ०९४६१४ को कित्ता नम्बर ४ को २ रोपनी जग्गामा हरियाली पार्क बनाइएको छ ।

वडा नम्बर ५ मा पनि सार्वजनिक जग्गाको प्रयोगको स्वरूप परिवर्तन गरिएको छ । सिट नम्बर ०९४५२२ अन्तर्गतका कित्ता नम्बर ४ र ५ को १० रोपनी ५ आना जग्गामा कल्की नारायण पार्क निर्माण गरिएको छ । सोही सिटको कित्ता नम्बर १६३ को ३ रोपनी ८ आना जग्गामा तारबार गरिएको छ ।

कित्ता नम्बर ४ को ३ रोपनी, कित्ता नम्बर ३ को २ रोपनी १० आना र कित्ता नम्बर १६ को ५ रोपनी जग्गामा रहेका अनधिकृत टहरा हटाएर खेलमैदान तथा पार्क निर्माण गरिएको छ ।

कतै टहरा हटाइए, कतै पक्की घर नै भत्काइए

टोखाको वडा नम्बर ६ मा १४ वटा कित्ताको जग्गा संरक्षणको विवरण छ । सिट नम्बर ०९४५१५ को कित्ता नम्बर ७ को १२ रोपनी तथा सिट नम्बर ०९६०६०७ का कित्ता नम्बर ११५, ५ र ७ को ३ रोपनी २ आना २ पैसा जग्गामा तारबार गरिएको छ ।

सिट नम्बर ०९०६०२२ को कित्ता नम्बर ६ को १५ रोपनी जग्गामा भगवती मन्दिर, बालमैत्री पार्क तथा व्यायामशाला निर्माण गरिएको छ ।

यही वडाका सिट नम्बर ०९४५१९ अन्तर्गतका कित्ता नम्बर १, ४, २, ५ र १९७ मा फैलिएको ४ रोपनी १३ आना जग्गामा बनेका पक्की घर तथा टहरा हटाइएको छ ।

वडा नम्बर ७ मा दाहलगौँडा स्मारिका पार्क निर्माण गरिएको छ । सिट नम्बर ०९४५२० को कित्ता नम्बर ९ को ५ रोपनी जग्गामा उक्त पार्क बनाइएको छ ।

त्यही वडामा सिट नम्बर ०९४६१६ का कित्ता नम्बर २, ३, ७, ५ र ६ मा रहेका २३ वटा टहरा हटाइएको छ । यसबाट ४ रोपनी १ आना १ पैसा जग्गा खाली भएको छ । त्यस्तै, ८ वटा पसल कबल हटाएर थप २ रोपनी जग्गा खाली गराइएको छ ।

वडा नम्बर ८ मा सिट नम्बर ०९४५०३ को कित्ता नम्बर ११९ को १५ रोपनी जग्गामा पार्क तथा खेलकुद मैदान निर्माण गरिएको छ ।

वडा नम्बर ९ मा ७ वटा कित्ताको जग्गा संरक्षणको विवरण छ । सिट नम्बर ०९८४०४ का कित्ता नम्बर २ र ३ को १ रोपनी जग्गा सीमांकन गरिएको छ । त्यस्तै, कित्ता नम्बर ७२, ८७, १३, ८४ र ८१ को १ रोपनी ७ आना जग्गाबाट पक्की घर तथा टहरा हटाइएको छ ।

वडा नम्बर १० मा सिट नम्बर ०९८५०१ का कित्ता नम्बर १२ को १ रोपनी २ आना र कित्ता नम्बर ६ को १४ आना ३ पैसा जग्गा सीमांकन गरी तारबार गरिएको छ ।

वडा नम्बर ११ मा सिट नम्बर ०९८४०४ का कित्ता नम्बर ३४१, ४३, ३९९, ३९२ र ३८० को १ रोपनी ३ आना २ पैसा जग्गामा रहेका पक्की घर तथा टहरा हटाइएको छ ।

यसरी हेर्दा टोखामा सार्वजनिक जग्गा संरक्षणको काम एउटा वा दुई स्थानमा केन्द्रित छैन । नगरपालिकाका सबैजसो वडामा सार्वजनिक जग्गा पहिचान, सीमांकन, अतिक्रमण हटाउने र त्यसको उपयोग परिवर्तन गर्ने काम भएको देखिन्छ ।

null

null

तारकेश्वरमा पनि ३२० रोपनीभन्दा बढी जग्गा अतिक्रमणको दायरामा

टोखासँगै तारकेश्वर नगरपालिकामा पनि ठूलो क्षेत्रफल सार्वजनिक जग्गा अतिक्रमणमा परेको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा प्राप्त विवरणअनुसार तारकेश्वर क्षेत्रमा ३२० रोपनी १५ आना जग्गामा रहेका अनधिकृत संरचना हटाइएको, हटाउने क्रममा रहेको वा त्यसका लागि कानूनी प्रक्रिया अघि बढाइएको छ ।

वडा नम्बर १ मा १ रोपनी ६ आना ३ पैसा १.२८ दाम, १३ आना १ पैसा, १८८ रोपनी २ आना १ पैसा तथा १० रोपनी १३ आना जग्गामा बनेका अनधिकृत संरचना सम्बन्धित व्यक्तिले आफैं हटाएका छन् वा हटाउने क्रममा छन् ।

वडा नम्बर २ मा १ रोपनी ४ आना २ पैसा र २ रोपनी २ आना जग्गामा बनेका टहरा हटाउन सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले उच्च अदालतबाट अन्तरिम आदेश  लिएका कारण अतिक्रमित संरचना हटाउन नसकिएको लोकान्तरलाई प्राप्त विवरणमा उल्लेख छ ।

वडा नम्बर ३ मा पनि २६ रोपनी २ पैसा, ३ रोपनी ४ आना र ३६ रोपनी ८ आना जग्गामा रहेका ७ वटा घर–टहरा हटाउने क्रममा ७ वटा टहरा हटेपनि कतिपयमा उच्च अदालतबाट अन्तरिम आदेश भएकाले हटेको छैन ।

अर्थात् सार्वजनिक जग्गा पहिचान भइसके पनि त्यसलाई तत्काल खाली गराउन सकिने अवस्था सबै ठाउँमा छैन । कतिपय विषय अदालत पुगेका छन् र कानूनी प्रक्रियाको टुंगो लाग्न बाँकी छ ।

वडा नम्बर ७ मा भने २ रोपनी ८ आना ३ पैसा जग्गामा रहेका ५ वटा टहरा पूर्ण रूपमा हटाइएको छ । तारकेश्वर क्षेत्रमा यस क्रममा कुल २५ वटा पक्की घर तथा टहरा हटाइएको विवरणमा उल्लेख छ ।

नदी किनारदेखि खुला क्षेत्रमा २,५२५ घरधुरी हटाइए

उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणको अर्को ठूलो हिस्सा अव्यवस्थित बस्ती तथा सुकुम्बासीका नाममा बसेका बस्तीहरू हुन् ।

उपलब्ध विवरणअनुसार उपत्यकाका विभिन्न २९ स्थानबाट २ हजार ५२५ घरधुरी अर्थात् टहरा खाली गराइएको छ । यसबाट २ लाख ३९ हजार ६८९.४३ वर्गमिटर जग्गा अतिक्रमणमुक्त भएको छ । यो क्षेत्रफल करिब ४७१.१६ रोपनी बराबर हुन्छ ।

सबैभन्दा ठूलो क्षेत्र मनोहरामा खाली गराइएको विवरणमा देखिन्छ । त्यहाँ मात्रै ६१२ घरधुरी हटाएर ८९ हजार १७३ वर्गमिटर जग्गा खाली गराइएको छ ।

त्यसपछि बल्खुमा ३२७ घरधुरीबाट १५ हजार ३७७ वर्गमिटर, थापाथलीमा २४२ घरधुरीबाट २७ हजार ६१३ वर्गमिटर, गैरीगाउँमा २३३ घरधुरीबाट १९ हजार ९३६ वर्गमिटर र वंशीघाटमा २१२ घरधुरीबाट १३ हजार १५२ वर्गमिटर जग्गा खाली गराइएको छ ।

बालाजुमा १८१ घरधुरीबाट १५ हजार १५८ वर्गमिटर, कपनमा १०० घरधुरीबाट ५ हजार ५२७.८३ वर्गमिटर, शंखमूलमा ७७ घरधुरीबाट १४ हजार ७५५ वर्गमिटर तथा सिनामंगलमा ७१ घरधुरीबाट १ हजार ३३५ वर्गमिटर जग्गा खाली गराइएको छ ।

त्यस्तै शान्तिनगरमा २५८ घरधुरीबाट १ हजार ४१६ वर्गमिटर, देवीनगरमा २२ घरधुरीबाट १ हजार ८४७ वर्गमिटर, माछापोखरीमा १९ घरधुरीबाट ९ हजार ६१७ वर्गमिटर टेकुमा १६ घरधुरीबाट २ हजार ५५३ वर्गमिटर , तिलगंगामा ११ घरधुरीबाट ५०८.३१ वर्गमिटर, गोठाटारमा ९ घरधुरीसहित ९९३ वर्गमिटर जग्गा अतिक्रमण मुक्त गराइएको छ ।

त्यसैगरी, बालुवाटारमा ८ घरधुरी, अनामनगरमा ७, खाडीपाखामा ७, शान्ति विनायकमा ६, रानीवारीमा ५, बालकुमारीमा ४, सामाखुशीमा ३, काँडाघारीमा २, विशालनगरमा २ र महाराजगञ्जमा १ घरधुरी हटाइएको छ ।

स्वयम्भूबाट ३८ घरधुरी हटाएर ३ हजार ६४४ वर्गमिटर, कालिमाटीबाट ३० घरधुरी हटाएर २ हजार ५५३ वर्गमिटर तथा कालोपुलबाट ५ घरधुरी हटाएर २०२ वर्गमिटर जग्गा खाली गराइएको विवरणमा उल्लेख छ ।

nullnull

खाली गराइएको जग्गा फेरि कब्जा नहोस् भन्ने चुनौती

अतिक्रमण हटाउनु एउटा चरण हो । तर, सार्वजनिक जग्गा पुनः अतिक्रमणमा नपरोस् भनेर त्यसको संरक्षण गर्नु अर्को ठूलो चुनौती हो ।

त्यसैले केही स्थानमा जग्गा खाली गराएपछि तत्कालै तारबार गरिएको छ । कतिपय स्थानमा सीमांकन गरिएको छ । केही ठाउँमा पार्क, खेलमैदान, हरियाली क्षेत्र तथा सामुदायिक वन निर्माण गरिएको छ ।

टोखाको ९९ रोपनी सार्वजनिक जग्गामा सामुदायिक वन तथा खेलकुद मैदान निर्माण गरिएको उदाहरण यसैको एउटा नमूना हो ।

त्यस्तै विभिन्न वडामा बालमैत्री पार्क, हरियाली पार्क, स्मारिका पार्क तथा खेलकुद मैदान निर्माण भएका छन् ।यसले सार्वजनिक जग्गालाई खाली राखेर मात्रै संरक्षण गर्न खोजिएको होइन, सर्वसाधारणले प्रत्यक्ष प्रयोग गर्ने संरचना निर्माण गरेर त्यसलाई सार्वजनिक प्रयोजनमै कायम राख्ने प्रयाससमेत भइरहेको देखाउँछ ।
 

कमेन्ट गर्नुहोस्