
नवलपरासी (पश्चिम) सुनवलका राजनकुमार आचार्यले लामो समय ‘लाइभहुड’को क्षेत्रमा काम गरे । आचार्यले फरेस्टी, ‘इन्टिग्रेटेड सस्पेन्सेबल’सहित गैरसरकारी संस्थाका कार्यक्रममा दुई दशकभन्दा बढी बिताए । वनजंगलसँग जोडिएको जीविकोपार्जन क्षेत्रले राजनको अनुभव र ‘ब्याकग्राउन्ड’ बन्यो । बुझेर कृषि गरे नेपालमा ठूलो सम्भावना रहेछ भन्ने उनले बुझे र व्यावसायिक रूपमा बाख्रापालन थाले । सानो लगानीबाट थालेको पशुपालनले युवा उद्यमी राजनलाई अहिले राम्रो प्रतिफल दिएको छ ।
‘विशेषगरी नश्ल सुधारका लागि बीउ बोका उत्पादन गर्ने उद्देश्यले मैले बाख्रापालन शुरू गरेको थिएँ,’ राजन भन्छन्, ‘दश वटा पाठापाठीबाट शुरू गरेको बाख्रापालन अहिले सोचेभन्दा राम्रो पनि भएको छ । साँचै बाख्रापालनमा राम्रो भविष्य छ ।’ राजनको सुनवल नगरपालिका वडा नम्बर–४ रमापुरमा सतौं चण्डी पशुपंक्षी फर्म छ । भारतको राजस्थानबाट उनले उन्नत जात मानिने सिरोही बाख्रा ल्याएर व्यावसायिक पालन शुरू गरेका थिए ।
सिरोही जातको बाख्रा वा बोका हेर्दै बलियो र खँदिलो मासु भएको हुन्छ । यो जातको बाख्राका पाठापाठी छिटो बढ्ने गर्छन् ।
राजनीतिसँगै पशुपालनमा अघि बढेका राजन नवलपरासी एमालेमा पनि सक्रिय छन् । उनी पार्टीका जिल्ला सचिव पनि हुन् । सँगै अखिल नेपाल किसान महासंघको स्थायी कमिटी सदस्य पनि छन् । ‘युवाहरू ५०–६० हजार रुपैयाँ कमाउन ५ लाख रुपैयाँसम्म खर्च गरेर विदेश गइरहेका छन्,’ राजन भन्छन्, ‘तर नेपालमै बसेर बाख्रापालन गर्दा मासिक १ लाख रुपैयाँ कमाइ गर्न सकिन्छ ।’
अहिले बीउ बोका बिक्रीबाट वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको राजन बताउँछन् । यो अंक मासिक सरदर १ लाख रुपैयाँ हो । उनको भनाइमा बाख्रापालन अन्य पशुपालनभन्दा सजिलो हुन्छ । ‘भैсі, गाईपालनभन्दा बाख्रा पाल्न एकदम सजिलो छ । गाउँघरमा अन्य बाख्रा जसरी पालिन्छ, त्यसरी नै पालिने हो । घाँस–दाना खुवाएर पाल्ने हो,’ राजन भन्छन् । सिरोही बाख्राको दैनिक तौल झन्डै औसतमा २०० ग्रामसम्म वृद्धि हुन्छ । यो बोकाको तौल ५० देखि ५५ केजीभन्दा बढी हुने गर्छ ।
उनको फर्मबाट उत्पादित बोकाहरू नश्ल सुधारका लागि देशका दर्जनभन्दा बढी जिल्लामा पुग्ने गर्छन् । बाख्राका लागि आधुनिक फर्म हेर्न र बाख्रासम्बन्धी विभिन्न जानकारी लिन राजनको फर्ममा देशका विभिन्न ठाउँबाट किसानहरू आउने गर्छन् । उनले कृषकलाई बाख्रापालनिसम्बन्धी तालीम पनि दिने गर्छन् । उनले पशुका निम्ति छुट्टाछुट्टै फर्म हाउस बनाएका छन् । उनको फर्ममा बाख्राभन्दा बोका धेरै छन् । सबै नश्ल सुधारका लागि प्रजनन्मा प्रयोग हुने बोकाहरू हुन् । उनले २८ कठ्ठा जग्गामा बाख्राका लागि उन्नत जातको घाँस र डाले घाँस पनि लगाएका छन् । जसले गर्दा बाख्रालाई घाँसको समस्या पनि छैन ।
खसीबोकाको मासुमा मुलुकलाई आत्मनिर्भर बनाउन नश्ल सुधार आवश्यक रहेको उनी बताउँछन् । स्थानीय जातका बाख्राबाट राम्रो आम्दानी नभएपछि नश्ल सुधारका लागि उन्नत जातको बोका प्रयोग गर्न उनी सुझाउँछन् ।
उनका अनुसार स्थानीय जातको बाख्रामा उन्नत बोकाको क्रसले नश्ल सुधार भई मासु उत्पादन वृद्धि हुन्छ र आम्दानी बढ्छ । बाख्रापालन नेपालको ग्रामीण तथा अर्धसहरी क्षेत्रमा लोकप्रिय र फाइदाजनक कृषि व्यवसाय हो । यसलाई कम लगानी र थोरै ठाउँमा पनि सजिलै शुरू गर्न सकिने पशुपालन व्यवसायको रूपमा पनि चिनिन्छ ।
बाख्रापालनमा विभिन्न समस्याहरू पनि रहेको राजन बताउँछन् । ‘व्यवसायका मुख्य समस्याहरू भनेको रोग हो । भित्री परजीवीहरूको व्यवस्थापन गर्न नसक्दा ३० प्रतिशतभन्दा बढी क्षति भइरहेको हुन्छ,’ राजन भन्छन्, ‘यसलाई धेरै किसानले नियन्त्रण गर्न सकेका छैनन् । यसको रोकथामका लागि स्थानीय तहसम्म पशु विकास शाखा भेटिन्छ, तर त्यहाँबाट फर्महरूमा सेवा चाहिँ दिइँदैन । बेलाबेला आएर यसो हेरे जस्तो गरिन्छ । केही सहयोग गरे जस्तो पनि देखिन्छ ।’
किसानलाई उत्पादनमा आधारित अनुदान व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । बाख्राको नश्ल सुधारका निम्ति उन्नत र विकसित जातको छनोट गरेर त्यसलाई व्यवस्थापन गर्न कृषक र फर्महरूलाई स्रोत केन्द्रको रूपमा विकास गरेर लैजानुपर्ने उनी बताउँछन् । ‘स्थानीय स्तरमा जीविकोपार्जनका निम्ति काम गर्नुपर्ने हुन्छ । उत्पादित बाख्रा एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा किसानलाई अनेक झन्झट छ । प्रहरीले अनेक सोधखोज गरेर अप्ठ्यारो गरिरहने हुन्छ,’ उनी भन्छन्, ‘मासुजन्य खसीबोकाहरू भारतबाट ल्याउने कुरा नियन्त्रण गरिनुपर्छ, तर नश्ल सुधारका लागि ल्याइने बोकालाई भने सहजीकरण गर्नुपर्छ ।’
आफूले अहिलेसम्म एक रुपैयाँ पनि अनुदान नलिएको उनी बताउँछन् । स्रोत केन्द्रको रूपमा फर्मलाई विकास गर्ने आचार्यको उद्देश्य छ । बाख्रासँगै लोकल कुखुरा पनि पालन गरेर स्थानीय स्तरमा बिक्रीवितरण गर्ने काम पनि उनले गरेका छन् ।